स्वास्थ्य मन्त्रालय सम्हाले मुख्यमन्त्रीले, ७३ पालिकालाई ५/५ लाख

समाधान संवाददाता २०७८ जेठ ७ गते १८:०६

समाधान संवाददाता, पोखरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उक्त मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । त्यस क्रममा उनले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

पदभारसँगै मुख्यमन्त्री गुरुङले मागको आधारमा स्वास्थ्य पूर्वाधार विकासका लागि ७३ वटा पालिकाहरुमा ५/५ लाख रुपैयाँका दर रकम उपलब्ध गराउने निर्णय गरेका छन् । बाँकीमा माग हुनासाथ पठाउने उनको निर्णय छ । उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्चन सक्ने छन् ।

‘सरकारले स्वास्थ्य मन्त्रालय स्मार्ट बनाउने हो, अब स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने हो,’ उनले भने, ‘जिल्ला अस्पतालहरुको सुदृढीकरण गर्ने हो ।’ उनले दोस्रो र तेस्रो लहरको कोभिड १९ रोकथामका लागि खोप र अक्सिजन प्लान्टमा जोड दिनुपर्ने बताए । ‘कोभिडका बिरामीको उपचार हुनुप¥यो, मनोवैज्ञानिक उपचार पनि गर्नुपर्‍यो,’ उनले भने ।

Advertisement

खोप खरिद गर्ने, भण्डारण गर्ने र गाउँगाउँसम्म खोप पुर्‍याउन लाग्नुपर्नेमा उनको जोड थियो । वैज्ञानिक ढंगले जनस्वास्थ्यको पुनसंरचना गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । अक्सिजन प्लान्टहरु स्थापना गर्ने, पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने, होम आइसोलेसनमा बसेकाहरुलाई परामर्श सेवा दिने, मेडिकल किटहरु उपलब्ध गराउने पनि उनले बताए ।

कोभिड १९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरुसँग समन्वय गर्ने, पालिकाहरुसँग समन्वयन गर्ने मुख्यमन्त्री गुरुङले बताए । प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्ने पनि उनले बताएका छन् । ‘यो संकटको बेला हो, युद्धको बेला हो, सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया