हुटिङ नगर्दा हत्या, १२ जना पक्राउ

समाधान संवाददाता २०७५ फागुन १९ गते ८:१८

सुरेशराज अधिकारी

माछापुच्छे« गाउँपालिका २ च्याङ्लुङमा शुक्रबार बेलुका भएको झडपमा पोखरा लामाचौरका मनोज गर्बुजाको मृत्यु भएको छ । सोही घटनामा लालबहादुर गुरुङ र शिव बानिया घाइते भएका छन् ।

गर्बुजाको हत्यामा संलग्न भएको आरोपमा माछापुच्छे« गाउँपालिका २ च्याङ्लुङका १२ जना युवालाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय मेख गुरुङ, २९ वर्षीय नारायण गुरुङ, २३ वर्षीय चेतमान गुरुङ, २० वर्षीय कृष्ण गुरुङ, १६ वर्षीय सुजल गुरुङ, १७ वर्षीय चहन तामाङ, १८ वर्षीय मोहनचन्द्र पौडेल, २२ वर्षीय प्रदीप गुरुङ, २० वर्षीय अमृत गुरुङ, २२ वर्षीय मनीष गुरुङ, १७ वर्षीय प्रताप गुरुङ र १८ वर्षीय सन्देश गुरुङ छन् ।

Advertisement

उक्त घटनामा तीनैजना माछापुच्छ«े २ च्याङ्लुङका युवाको कुटाइबाट गम्भीर घाइते भएका थिए । घटनामा गम्भीर घाइते भएका १९ वर्षीय मनोजको फिस्टेल अस्पतालमा मृत्यु भएको हो । २६ वर्षीय लालबहादुर गुरुङ र १९ वर्षीय शिव बानिया घाइते गम्भीर घाइते छन् । घाइतेको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको शरीरमा विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ । गर्बुजाको शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यसरी भयो घटना
माछापुच्छे« गाउँपालिका २ च्याङ्लुङको स्थानीय क्लबले शिवरात्रिको अवसरका भलिबल प्रतियोगिता आयोजना गरेको थियो । उक्त भलिबल खेल हेर्न पोखरा लामाचौरबाट ७ जना गएका थिए । पोखराबाट खेल हेर्न पुगेको समूहले च्याङ्लुङको नै खेल हेरेको थियो । उक्त प्रतियोगिता सकिएपछि खेलमैदानको केही टाढा पोखराको टोली गयो । पोखराबाट गएको ७ जनाको समूह र च्याङ्लुङको समूहबीच झडप हुनुको कारण भने सामान्य थियो । कारण थियो त भलिबल खेल्ने बेलामा पोखराबाट च्याङ्लुङ भलिबल हेर्न गएको टोलीले च्याङ्लुङका विपक्षीको सपोर्ट गर्नु । खेलमा आफूहरुलाई हुटिङ नदिएको भन्दै च्याङ्लुङका युवाले झगडाको बिउ रोपे ।

Advertisement

पोखराबाट गएका ७ जनामध्ये ४ जना माछापुच्छ«े २ च्याङ्लुङमा आफन्तको घरमा बस्न गएका थिए भने ३ जनासँग सामान्य भनाभन भएको थियो । सामान्य भनाभनपछि गाउँका युवाले भाटा, दाउरा लगायत वस्तुले हानेको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार उक्त घटनामा अन्य केही फरार छन् ।

तपाईको प्रतिक्रिया