रवीन्द्रका पाइला जहाँसम्म अगाडी बढेका छन् । त्यहाँबाट पाइला अगाडि बढाऔं : ज्ञवाली

समाधान संवाददाता २०७५ फागुन १९ गते ८:२५

समाधान संवाददाता

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारको कामलाई प्रभावकारी बनाउने बारेमा रवीन्द्र अधिकारीले नियमित रुपमा चासो र चिन्ता जाहेर गरेको स्मरण गराएका छन् । मन्त्री ज्ञवालीले सरकारले जनतामा प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउनमा चासो र चिन्ता जाहेर गरेको स्मरण गराए ।

रवीन्द्रको परिवारले उनको स्मरण र सम्मानमा शनिबार पोखरामा गरेको परिचर्चा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समितिका सदस्य समेत मन्त्री ज्ञवालीले मन्त्री परिषदको हरेक बैठकमा उहाँले रचनात्मक प्रस्ताव राखेको उल्लेख गरे । ‘मन्त्री रवीन्द्रको जनतामा छिटो छरितो सेवा प्रवाह दिनेमा चासो र चिन्ता थियो,’ मन्त्री ज्ञवालीले भने, ‘अब बन्ने कानुनको बारेमा मन्त्री अधिकारी अपडेट भएको कारण प्रधानमन्त्री केपी ओलीलाई समेत सहज हुन्थ्यो ।’

Advertisement

आफूले ११ वर्ष पहिले सम्हालेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अहिले रवीन्द्रको पालामा धेरै स्वार्थ समूहको जालोलाई तोड्न धेरै जोखिम मोलेर रिजल्ट देखिने काम गरेको दाबी गर्दै नेता ज्ञवालीले धनगढी भद्रपुर विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको बताए । उनले भैरहवा, निजगढ, पोखरा लगायतका राष्ट्रिय गौरव आयोजनालाई समयमा पूरा गराउन सक्रियतापूर्वक लागेको उल्लेख गरे । मन्त्री ज्ञवालीले २०२०मा २५ लाख पर्यटक भिœयाउने योजनालाई सफल बनाउने बताए ।
२०६४ सालमा संसदमा रवीन्द्र अधिकारीसँग प्रत्यक्ष सहकार्य सुरुवात गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले पहिलो पटक प्रतिनिधित्व गरेका अधिकारी संसदीय अभ्यासमा नयाँ जस्तो नलागेको बताए । अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका अधिकारीले असल सांसदको छवी बनाएको मन्त्री ज्ञवालीको भनाइ थियो । राम्रा मान्छेहरु संसदमा गए पछि हराउने गरेको उल्लेख गर्दै उनले रवीन्द्र बोल्दा सबैले ध्यानपूर्वक सुन्ने अवस्था आउने बताए । संसदको विकास समितिका सभापति रहँदा रवीन्द्रले रोकिएका विकासका कामलाई गति प्रदान गरेको स्मरण गराउदै मन्त्री ज्ञवालीले राष्ट्रिय गौरवका आयोजनालाई अलपत्र हुन नदिएको दाबी गरे । ‘रवीन्द्रले आफूलाई अब्बल मन्त्री, अब्बल सांसद प्रमाणित गर्नुभयो,’ मन्त्री ज्ञवालीले भने, ‘रवीन्द्रका पाइला जहाँसम्म अगाडि बढेका छन् । त्यहाँबाट पाइला अगाडि बढाऔं । इट्टामा इट्टा थपेर पूर्णता दिऔं ।’

मन्त्री ज्ञवालीले स्थिरता र समृद्धिको लागि सेवा दिन ठुलो चुनौती रहेको उल्लेख गरे । उनले कानुनको अभाव र ब्युरोक्रेसीले सहयोग गरेन भन्दैमा छुट पाउने अवस्था नभएको बताए ।

Advertisement

कार्यक्रममा नेकपाका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले रवीन्द्रको मृत्य भएको अझै पनि विश्वास नलागेको बताए । ‘हँसिलो मुहार देख्दा सँगै छौ जस्तो लाग्छ,’ मन्त्री गुरुङले भने, ‘अहिले पनि कुराकानी भइरहे जस्तो लाग्छ ।’ मन्त्री गुरुङले मिलनसार भद्र स्वभावका रवीन्द्रले नेतालाई दबाब दिन भन्दा आफै काम गर्ने प्रवृतिको भएको स्मरण गराए ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवराज चालिसेले पोखराको विकास निर्माणको सवालमा रवीन्द्रसँग आफ्नो ९५ प्रतिशत दृष्टिकोण मिल्ने तर्क गरे । ‘पार्टीभन्दा माथि उठेको व्यक्तिले मात्र मुलुकको संकट समाधानको बाटो पहिल्याउन सक्छ,’ नेता चालिसेले भने, ‘मुडभेडको राजनीतिलाई अन्त्य गर्न सम्वाद गर्ने क्षमता रवीन्द्रमा थियो ।’ नाताले आफन्त पर्ने रवीन्द्रसँग एकैचोटी चुनाव नलड्न सुझाव आएको उल्लेख गर्दै नेता चालिसेले पार्टी चुनाव लडेको भए पनि आफूहरु सँगै चुनाव नलडेको भान भएको बताए ।

कार्यक्रममा रवीन्द्रका बालसखा धनराज आचार्यले आइतबार र सोमबार समेत रवीन्द्रको बारेमा सकारात्मक परिचर्चा गरिने जानकारी दिए । रवीन्द्रको सम्मान र योगदानलाई चिरस्थायी बनाउने रवीन्द्र स्मृति प्रतिष्ठान घोषणा गर्ने उल्लेख गर्दै उनले ४५औं दिनमा स्मृतिग्रन्थ प्रकाशन गर्ने बताए ।

तपाईको प्रतिक्रिया