अपिहिमालमा विद्युत उत्पादन हुँदै

समाधान संवाददाता २०७८ जेठ २४ गते ११:३७

रासस, दार्चुला

अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो ।

विद्युत्को इन्टेक, विद्युत्गृह, क्यानललगायतका काम सकिएको छ । मुख्य पाइप लाइन जडानको काम मजदुर अभावले रोकिँदा निर्माण कार्य केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।

Advertisement

पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युत्को ६८० मिटर लम्बाइको पाइप लाइन छ । विद्युत् निर्माणअन्तर्गत विद्युत्का पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ ।

अहिले पनि मजदुरको खोजी भइरहेको छ । मजदुर अभावमा रोकिएको काम पुनः शुरु गराउन गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले समेत आग्रह गरेका छन् । “निर्माणको काम निकै ढिलो भयो, मजदुर नपाएर काममा ढिलाइ गर्न मिल्दैन” उनले भने। पालिकाभित्र मजदुर नपाए बाहिरबाट ल्याएर भए पनि समयमै विद्युत् बाल्न उनले समितिलाई आग्रह गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया