प्रदेश २ मा पनि कांग्रेस सरकारमा जाँदै

समाधान संवाददाता २०७८ जेठ २४ गते १५:५०

प्रदेश नम्बर २ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराउने गरी मुख्यमन्त्री लालबाबु राउतले छलफल थालेका छन्।

आजै कांग्रेस र माओवादीका कम्तिमा एकएक राज्यमन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री राउत छन्। यसअघ कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भइसकेको छ । २०७४ को चुनाव यता कांग्रेस संघ र प्रदेश कतै पनि सरकारमा थिएन ।

मुख्यमन्त्री राउतले आइतबार बेलुकी चार जनालाई मन्त्रीबाट बर्खास्त गरेका थिए। जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका मन्त्रीलाई बर्खास्त गरेका मुख्यमन्त्री राउतले कांग्रेस र माओवादीलाई साथ लिएर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन्।

Advertisement

मन्त्री बनाउन मुख्यमन्त्री राउतले कांग्रेसलगायत दलसँग छलफल गर्न कार्यदल नै बनाएका छन्।राउतसहित उक्त कार्यदलमा आर्थिक मामिला मन्त्री विजय यादव, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साह छन्।

यस्तै कांग्रेसबाट संसदीय दलका नेता रामसरोज यादव, सचेतक उपेन्द्र कुसवाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र सिंह छन्। स्रोतका अनुसार कांग्रेसबाट आज एक जनालाई मन्त्री बनाइँदैछ। प्रदेशसभा बैठक सकिएलगत्तै मन्त्रिमण्डल पुनर्गठन र सपथ ग्रहण गराउने तयारी छ।

Advertisement

माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले सरकारमा जानेबारे छलफल भए पनि कुन मन्त्रालय लिने भन्नेबारे कुराकानी भइनसकेको बताए।

मुख्यमन्त्री राउतलाई जसपाका ५५ जना सांसदमध्ये ३६ जनाले समर्थन गरेका छन्। प्रदेश सभामा कांग्रेसका १९, नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रको ८ र जसपाका महन्थ ठाकुर पक्षका १९ सदस्य छन्। बहुमत पु¥याउन राउतलाई १७ सांसद चाहिन्छ।

प्रदेश नम्बर २ मा कांग्रेसले मुख्यमन्त्री दाबी गरेको थियो।

उपसभापति विमलेन्द्र निधिसँग जसपा अध्यक्ष उपेन्द्र यादवले भेट गरेर सरकारमा आउन भनेका थिए। तर उपसभापति निधिले मुख्यमन्त्री कांग्रेसको हुनुपर्ने बताएका थिए। तर पछिल्लो समय कांग्रेस मुख्यमन्त्रीबाट पछि हट्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया