क्यान्सर जितेका प्राडा पराजुली कोरोनासँग हारे, श्रीमती पनि रहिनन्

समाधान संवाददाता २०७८ जेठ २६ गते १७:५८

समाधान संवाददाता, पोखरा


नेपाली भाषा साहित्यका साधक प्रा डा मोतीलाल पराजुलीको निधन भएको छ । पोखरा २३ चापाकोट अमलाचौरका स्थायी बासिन्दा उनको मंगलबार काठमाडौंको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही वर्षअघि नै क्यान्सर रोगको सफल उपचार गरेका उनमा १ महिनाअघि कोरोना पुष्टि भएको थियो ।


जेठ ४ गतेमात्रै उनले श्रीमती तारा पराजुली गुमाएका थिए । श्रीमती तारा पनि कोभिड १९ बाट संक्रमित भएकी थिइन् । उनको पनि उपचारका क्रममा निधन भएको थियो ।
त्रिभुवन विश्वविद्यालयमा नेपाली विभागबाट निवृत्त पराजुलीले पोखराको पृथ्वीनारायण क्याम्पसमा लामो समय अध्यापन गरेका थिए । केही वर्षयता काठमाडौं बसेर नेपाली भाषासाहित्य तथा लोकसाहित्यको अध्यन–अनुसन्धान तथा प्राध्यापन गर्दै आएका थिए ।

Advertisement


पृथ्वीनारायण क्याम्पसका प्राडा विष्णु पौडेलले पराजुली लोकसाहित्यका भरोसा लाग्दा व्यक्तित्व भएको स्मरण गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पृथ्वीनारायण क्याम्पसमा मेरो प्रवेश कालदेखि नै उहाँ सहयोगी सहकर्मी हुनुहुन्थ्यो भने पछि नेपाली केन्द्रीय विभागमा रहँदा पनि उहाँ सदैव दम्भ रहित सरल आत्मीयपन देखाउनुभयो ।’
निवृत्त जीवनमा प्राडा पराजुलीले लोक साहित्यका बारे गर्न खोजेको गहन कार्य योजना र उहाँको उत्साह देखेसुनेर धेरै आशावादी बनेको पनि प्राडा पौडेलले उल्लेख गरेका छन् ।


वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकले पनि प्राडा पराजुली भाषा र लोकसाहित्यको खोज अनुसन्धानका ठूला साधक रहेको फेसबुकमा लेखेका छन् । ‘म पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हँुदा मोती गुरूले पोयुसापका कार्यक्रमहरूमा समसामयिक नेपाली साहित्यका विषयमा विचार प्रकट गरिरहनु हुन्थ्यो,’ प्रतीकले भनेका छन्, ‘पछिल्लो समय उहाँ त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरमा रहनुहुन्थ्यो । उहाँ काठमाडौं गएपछि हाम्रो भेट हुन छोड्यो तर पनि उहाँका कृतिहरूसँग भेटको आभास मिलिरहन्थ्यो ।’

Advertisement


पराजुलीका नेपाली लोकगाथा (२०४९), नेपाली रचना कला (२०५३), धर्मात्मा राजा (२०५८), नेपाली लोकनाटक सिद्धान्त र विवेचना (२०६१), सोरठी नृत्यनाटिका सैद्धान्तिक अध्ययन (२०६३), नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू (२०६३) लगायत पुस्तकहरु प्रकाशन भएका छन् भने केही पुस्तक प्रकासनका लागि तयारीमा थिए । उनले शिक्षा पुरस्कार (२०६१), महेन्द्र विद्याभूषण ‘क’, सैनध्वज–नन्दकुमारी विद्वात् वृत्ति (२०६१), अलिमिया लोक बाङमय पुरस्कार लगाएतका सम्मानित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया