पूर्वमुख्यमन्त्रीले मनाङेलाई भने आपत्तिजनक बोली नबोल्नू

समाधान संवाददाता २०७८ असार २ गते ११:४५

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई आपत्तिजनक अभिव्यक्ति नदिन आग्रह गरेका छन् । पूर्वमुख्यमन्त्री गुरुङका तर्फबाट उनका प्रेस संयोजक विक्रम न्यौपानेले मनाङेका अभिव्यक्ति अशोभनीयमात्रै नभई आपत्तिजनक रहेको जनाएका छन् ।

मनाङेले पछिल्लो समय विभिन्न अनलाइन तथा युटुब च्यानलमा पूर्वमुख्यमन्त्रीलाई अशोभनीय आरोप लगाउँदै अभिव्यक्ति दिएका छन् । मनाङेका सहयोगीले पूर्वमुख्यमन्त्रीसँग हालै छलफल गरेको भनेर झुठो प्रचार गरी पूर्वमुख्यमन्त्रीको राजनीतिक छवि धुमिल बनाउने प्रयास गरेको पनि न्यौपानेको भनाइ छ ।

Advertisement

न्यौपानेद्वारा जारी ध्यानाकर्षण पत्र निम्नानुसार छ

कृपया झुठको खेती नगरौं । हल्ला नपत्याऔं ।

Advertisement

राजीवका सहयोगीसँग छलफल भएको होइन । गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) सँग पूर्वमुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङज्यूलाई जोडेर बुधबार एउटा अनलाइन समाचार माध्यममा आएको समाचार झुठो हो । माननीज्यूले राजीव वा उनका सहयोगी या प्रतिनिधिसँग कुनै छलफल गर्नुभएको छैन ।

प्रदेश सभाका सांसद राजीवसँग मन्त्रिपरिषदको अन्तिम बैठकभन्दा अघिल्लो दिनपछि आजसम्म न भेटघाट भएको छ, न कुराकानी । र, सांसद राजीव गुरुङसँग त्यति बेला पनि समाचारमा भनिएको जस्तो विषयमा कुराकानी भएको थिएन ।

माननीय पूर्वमुख्यमन्त्रीज्यू विधि, पद्धति र लोकतान्त्रिक अभ्यासको पुजारीमात्रै हुनुहुन्न, त्यसको असली अभ्यासकर्ता पनि हुनुहुन्छ भन्ने पटकपटक उहाँका व्यवहारबाट पुष्टि भइसकेको छ । यसमा कुनै भ्रम राख्न जरुरी छैन । राजनीतिमा नैतिक सिद्धान्तका आधारमा मात्रै अघि बढ्ने पूर्वमुख्यमन्त्रीज्यूको छविलाई धुमिल पार्ने दुरासय राखेर फिजाइएका हल्लाको पछि नलाग्न र त्यस्ता झुठा समाचार नपत्याउन विशेष अनुरोध छ ।

पूर्वमुख्यमन्त्रीज्यूलाई लिएर सांसद राजीवबाट पछिल्लो समय आएका अभिव्यक्तिसमेत अशोभनीयमात्रै होइन आपत्तिजनक छन् । उहाँको राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यसहित त्यस्ता अभिव्यक्ति दिएर राजनीतिक र संसदीय मर्यादाको खिल्ली नउडाउन पनि विशेष आग्रह छ । विक्रम न्यौपाने प्रेस संयोजक पूर्वमुख्यमन्त्री, पृथ्वीसुब्बा गुरुङ

तपाईको प्रतिक्रिया