प्याराग्लाइडिङ नियमनमा चासो खै ?

समाधान संवाददाता २०७५ फागुन २१ गते ८:२४

साहसिक पर्यटनको हबका रुपमा पोखरा स्थापित भएको छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएअर बेलुन, बञ्जीजम्म अनि क्यानोनिङ लगायत खेलका लागि देशी विदेशी पर्यटक नेपाल आउने गरेका छन् । ट्रेकिङको लागि त पोखरा आसपासको अन्नपूर्ण फेरो विश्वमै चर्चित छ । तर नियमनकारी निकायको बेवास्ता अनि सरोकारवालाको हेलचक््रयाइँका कारण अहिले पोखरा साहसिक खेलको लागि ‘असुरक्षित’ छ भन्ने खबर बाहिरी मुलुकमा गइरहेको छ । खासगरी प्याराग्लाइडिङमा यो समस्या देखिएको छ । नजिकै हिमाल अनि काखमा फेवालालको दृश्यावलोकन गर्दै हावामा कावा खान पर्यटकले पोखरालाई रोज्दै आएका छन् । तर पछिल्ला दिनहरुमा प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाउनेहरु पनि ह्वात्तै बढेका छन् ।

नेपालमै पहिलोपटक २२ वर्ष अघि पोखरामा प्याराग्लाइडिङ सुरु भएको हो । बिना इञ्जिन आकासमा उडाइने प्याराग्लाइडिङमा आकस्मिक अवतरणको लागि रिजर्भ प्यारासुट पनि हुने गर्छ । पोखरामा हावाहुरी लाग्ने र बढी पानी पर्ने समय बाहेक सबै सिजनमा प्याराग्लाइडिङ हुने गरेको छ । उड्नेहरु बढी मात्रामा चिनिया, भारतीय, नेपाली छन् । राम्रो मौसम हुँदा दैनिक ४ सय जना सम्मले प्याराग्लाइडिङ गर्ने र वर्षमा झण्डै २ लाखले प्याराग्लाइडिङ गर्ने अनुमान व्यवसायीहरु गर्छन् । नेपालमै पहिलोपटक पोखराका बिरु बम्जनले वेलायती नागरिक (पाइलट) एडम हिलसँग मिलेर पोखरामा प्याराग्लाइडिङ भित्र्याएका हुन् । पोखरा र आसपासका जिल्लामा हालसम्म भएका दुर्घटनामा १२ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेहरु सबैजना सोलो उडानका पाइलट हुन् । पछिल्लोपटक १९ फागुन २०७५ मा रोमानियाका एड सिस्जर प्यारा ग्लाइडरबाट फेवातालमा खसेर ज्यान गुमाए । ४२ वर्षीय सिस्जर पहिले पनि साथीहरुसँग यसरी नै नेपालमा प्याराग्लाइडिङ उडाउन आइरहन्थे । दुर्भाग्य शोख नै उनको लागि काल बनेर आइदियो । पोखराको सराङकोट र तोरीपानी क्षेत्र व्यावसायिक उडानका लागि छुट्याइएको भए पनि सोलो पाइलटलाई उड्न दिँदा यस्ता दुर्घटना निम्तने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले बताउँदै आएको छ । सोलो उडानको लागि मान्द्रेढुंगा छुट्याइएको छ । तर पनि सजिलोको लागि सबैजसोले सराङकोट नै रोज्ने गरेका छन् ।

नियमनकारी निकायले प्रभावकारी अनुगमन गरेको छैन, सराङकोट र तोरीपानी कमर्सियल एरिया हो, कुन दक्षता भएकालाई उडान अनुमति दिने निश्चित माण्पदण्ड छैन । दुर्घटना भएपछि मात्र सरोकारवालाले केही चासो देखिए पनि अघि पछि चुप्प लागेर बस्ने गरेको छ । विदेशी देखेपछि माग्ने बित्तिकै अनुमति दिने क्रमले दुर्घटना बढेको छ । यस्तो कार्य तत्काल रोकिनुपर्छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले जथाभावी रुपमा प्याराग्लाइडिङ कम्पनीलाई अनुमति दिएका कारण यो अवस्था आएको व्यवसायीहरुले नै बताएका छन् । पोखरामा प्रसस्त सम्भावना देखेर कम्पनी खुले पनि सुरक्षा नीति नभएका कारण दुर्घटना बढेको र बाहिर समेत नराम्रो सन्देश जान थालेको छ । पहिलो त उडानलाई नै नियमित गराउनु सरकारको दायित्व हो भने दोस्रो, दुर्घटना भइसकेपछि उद्धारको लागि पनि संयन्त्र चुस्त बनाउनु जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया