प्रतिपक्षको भूमिका

समाधान संवाददाता २०७८ असार ६ गते १४:३६

सम्पादकीय
साढे ३ वर्ष सत्तामा बसेको नेकपा एमाले गण्डकी प्रदेश सभाको प्रतिपक्ष भूमिकामा आएको छ । पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलबाट शुक्रबार विश्वासको मत लिँदा पहिलोपटक प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा सम्बोधन गरे । संसदीय राजनीतिमा प्रतिपक्षले सधैं भन्ने सदावहार वाक्य हो, रचनात्मक भूमिका निर्वाह गर्छौं, गुण र दोषका आधारमा सरकारलाई समर्थन र आलोचना गर्छाैं ।

Advertisement

तर व्यवहारमा नेपालका प्रतिपक्ष दलले रचनात्मक सहयोगीको भूमिका निर्वाह गरेका उदाहरण भेट्न मुस्किल पर्छ । पृथ्वीसुब्बाले पनि रचनात्मक प्रतिपक्षको भूमिकाकै कुरा गरे । उनले संघीयता बलियो बनाउनका लागि सरकारसँग साथै रहने पनि बताए । पोखरेलको प्रशंसाबाट मन्तव्य सुरु गरेका गुरुङले सैद्धान्तिक हिसाबले मात्रै विश्वासको मत उनलाई दिन नसकेको प्रष्ट पारे ।

प्रतिपक्ष दलका नेताको उक्त दिनको मन्तव्य वास्तवमै शालीन थियो । प्रष्ट पनि थियो कि सैद्धान्तिक मतभेदका कारण विश्वासको मत दिन नसकेको कुरा । अर्काे संघीयताका प्रखर पक्षधर गुरुङले त्यस मामलामा सरकारलाई सघाउने कुरा मनैदेखि गरेको हुनुपर्छ । सरकारले भोगेका अप्ठेरा र चुनौतीका धेरै फेहरिस्त गुरुङले सुनाए ।

प्रदेश सरकारले संघबाट झेलेका बाधा फुकाउन उनले एक्लैले जति दबाब सिर्जना गरेका थिए, त्यसमा ऊ बेलाको प्रतिपक्षले पनि साथ दिएको भए हुन्थ्यो भन्ने उनको भनाइ हो । सरकारमा छँदा पनि उनले त्यस्तो अपेक्षा बेलाबेला अभिव्यक्त गर्दथे । जस्तो कि अहिलेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सधैं उठाएका पोखरा दुम्कीबास त्रिवेणी सडक ।

जुन योजना ल्याएर गुरुङले आफूलाई स्वप्नद्रष्टी नेतृत्व सावित गरेका हुन् । वास्तवमै उक्त सडक प्रदेशका लागि अत्यावश्यक छ र बन्यो भने लाइफ लाइन हुन्छ पनि । त्यसमा संघबाट जुन बाधा अड्चन आए र सुरु हुन सकेन, प्रतिपक्षले पनि साथ दिएर संघ र अन्तर्राष्ट्रिय संस्था युनेस्कोलाई झक्झक्याउनुपथ्र्याे भन्ने गुरुङको अभिव्यक्ति हुन्थ्यो । आफंैले तत्कालीन मुख्यमन्त्रीसँग गरेको अपेक्षा पूरा गर्ने दायित्व पोखरेलसँग र पोखरेलले त्यो योजनाको प्रक्रिया अझै अघि बढाए भने सघाउने कर्तव्य गुरुङको ।

Advertisement

कोरानाको महामारी अझै सकिएको छैन । यस्तो बेला सत्ता र प्रतिपक्ष साथै हुनुपर्छ । तत्कालीन प्रतिपक्ष कांग्रेसले निकै जोडबल गरी संकल्प प्रस्तावै ल्यायो र सत्तापक्षले पनि स्वीकारेर पारित गरायो । अब यस्ता मुद्दामा पनि प्रतिपक्ष भूमिका एमालेले कसरी निर्वाह गर्छ भन्ने प्रश्न टडकारो छ । रचनात्मक प्रतिपक्ष भनेको सायद त्यही हुनुपर्छ जसले जनताका मुद्दा सम्बोधन गर्न सरकारलाई बाटो देखाओस्, सरकारले गरेका राम्रा काममा साथ देओस् र कमजोरी हुँदा आलोचना पनि गरोस् । एमालेसँग यही अपेक्षा गण्डकी प्रदेशले गरेको छ न कि सत्ता छाड्नुपरेको इबी साँधियोस् ।

तपाईको प्रतिक्रिया