पोखरामा घन्टाघर र पर्यटन विश्वविद्यालय बनाइने

समाधान संवाददाता २०७८ असार १० गते १०:१५

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाले पोखरा पर्यटन विश्वविद्यालय बनाउने नीति लिएको छ । यसका लागि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथुम)सँग सहकार्य गरिने महानगरका मेयर मानबहादुर जिसीले बताए । आर्थिक वर्ष २०७८÷७९ का लागि महानगरको नीति कार्यक्रम प्रस्तुत गर्दै मेयर जिसीले पोखरामा पर्यटन विश्वविद्यालय स्थपानका लागि नाथुमसँग सहकार्य गरिने बताएका हुन् ।

यस्तै महानगरले पर्यटन प्रवद्र्धनका लागि पोखरा कोसेली घर सञ्चालन गरिने र पोखरा घन्टाघर निर्माणलाई अघि बढाउने मेयर जिसीले बताए ।

Advertisement

पोखरा महानगरपालिकाले मुख्य सहरी सडकमा गरिएको अस्फाल्ट पिचलाई विस्तार गर्न लागेको छ । अस्फाट पिचको कारणले आम जनतामा सकारात्मक सन्देश प्रवाह गरेकाले सो कार्यलाई सहरको अन्य क्षेत्रमा पनि विस्तार गर्ने नीति महानगरको छ । महानगरको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा अस्फाट विस्तारको लागि महानगरले सडक निर्माणमा संलग्न राज्यका निकायहरुसँग सहकार्य गर्ने उल्लेख छ ।

अस्फाल्ट पिच गरेको सडक कुनै पनि प्रयोजनका लागि कम्तीमा २ वर्ष खन्न नपाउने नीति बनाइएको छ ।

Advertisement

अस्फाट पिच गर्नुपूर्व स्थानीयलाई आफ्नो आवश्यकताका कार्य सम्पन्न गर्न प्रेरित गर्ने नीति महानगरले लिएको छ । महानगरले चालु आर्थिक वर्षमा विजयपुर कालिका हुँदै बेगनास सडकलाई ३२ करोड लागतमा अस्फाल्ट गर्ने काम अगाडि बढाएको छ । बैदाम, पामे, घाँटछिना हुँदै दमदमे, सिदाने र मणिपाल, मौजा सडक बहुवर्षीय ठेक्का सम्झौता गरेर काम थालिएको छ ।

‘मुख्य सहरी सडकहरुको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा ४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कंक्रिट गर्ने कामलाई निरन्तरता दिइएको छ,’ मेयर जिसीले भने, ‘विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट पिच भइरहेको छ ।’

मेयर जिसीका अनुसार महानगरपालिकाको कार्यालयबाट सबै वडाका केन्द्रसम्म जोड्ने पहुँच मार्ग (कनेक्टिङ सडक)कार्यक्रमलाई निरन्तरता दिइएको छ । विकटलाई निकट ल्याउने अठोटका साथ सुरुवात गरेको कनेक्टिङ सडक कार्यक्रमलाई निरन्तरता दिएको हो । महानगरपालिका २७ पहुँच मार्ग (कनेक्टिङ) निर्माण धमाधम भइरहेको नीति तथा कार्यक्रममा उल्लेख छ । पहँुच मार्गको प्राथमिकताका आधारमा पहिलो चरणको काम पूरा भइसकेको छ ।

४ वर्षको अवधिमा वडा तथा महानगरपालिका स्तरका २ सय ६८ सडक ढलान योजना, ८ सय २१ सडक कालोपत्रे एवं मर्मतका योजना, २ सय ९१ सडक ग्राभेल तथा स्तर उन्नतिका योजना र ४१ वटा नयाँ ट्र्याकका योजना सकेको छ । मेयर जिसीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन गरिने बताए ।

४३ वर्षदेखि बाटो चक्लाबन्दी गर्न नसकिएको पृथ्वी राजमार्गदेखि विजयपुर ब्यारेक सिमानासम्मको सडकलाई फराकिलो बनाई १० मिटर कायम गरेको महानगरले अहिलेसम्म २ सय ३१ किमी सडक ग्राभेल, १ सय ३७ किमी सडक कालोपत्रे, ८३ किमी साना तथा मझौला सडक ढलान, ३७ किमी सडक मर्मत एवं स्तर उन्नति कार्य सम्पन्न भएको छ ।

उनले प्राविधिक कारणले रोकिएको मेयर नमुना सडक निर्माण अन्तर्गत पोखरा वडा नम्बर १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक निर्माण कार्यलाई निरन्तरता दिएको बताए ।

महानगरको नीति तथा कार्यक्रममा सडक निर्माण तर्फको बजेट विनियोजनलाई भौगोलिक हिसाबले सन्तुलित बनाइने उल्लेख छ । पोखरा उपत्यकासँग जोडिएका ग्रामीण बस्ती र वडाहरुलाई सहरी क्षेत्रसँग जोड्ने, विपद्मा उद्दार गर्दा वा स्वास्थ्य आपतकाल परी एम्बुलेन्स मगाउँदा बीचैमा अलपत्र पर्नु नपर्ने अवस्थाको सुनिश्चितता गर्दै सडक तर्फका पूर्वाधारहरुको प्राथमिकता निर्धारण गरिएको छ ।
महानगरले निर्माण सामग्रीको गुणस्तर मापन गर्न स्थापना गरेको प्रयोगशाला स्तारोन्नति गरिने भएको छ । प्रयोगशालामा आयोजना कार्यान्वयन र अनुगमनका लागि छुट्टाछुट्टै एकाइ बनाइने भएको छ । निर्माण सामग्री गुणस्तर तथा नियन्त्रण प्रयोगशाला गण्डकी बहुप्राविधिक शिक्षालयको मातहत रहनेछ ।

मेयर जिसीले सहरी क्षेत्रमा सडक बोर्डमार्फत् मर्मतसंभार गर्ने तथा बस्ती स्तरका छोटा बाटोहरु उपभोक्ता तथा महानगरपालिकाले आधा आधा योगदान गर्ने गरी कार्यान्वयन गर्ने नीति लिइएको छ । पूर्वाधार संरचनाहरुको प्राथमिकीकरण गर्दा आगामी आर्थिक वर्षमा सम्पन्न हुने योजनालाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै मेयर जिसीले वडा समितिको सिफारिस साथ प्राप्त सडक आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताए ।

बढ्दो कोभिड १९ संक्रमण र महामारीबाट नागरिकको सुरक्षाका लागि महानगरले छुट्टै कोभिड उपचार युनिट स्थापना गरी काम थालेको छ । मेयर जिसीले महानगरले साबिकको लेखनाथ नगरपालिका भवनमा हाल निर्मित कोभिड वार्डलाई क्रमशः शिशुवा अस्पतालको मुख्य संरचनाको रुपमा विकास गरिएको बताए ।

‘हालको १५ शड्ढयाको शिशुवा अस्पताल अहिले ५० शड्ढया पु¥याइएको छ,’ मेयर जिसीले भने, ‘५० शड्ढयाको उक्त अस्पतालमा ५० शड्ढया थप गरी आत्मनिर्भर रुपमा सञ्चालन हुनेतर्फ अग्रसर गराइनेछ ।’
उनले सो अस्पताललाई कोभिड अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको जनाए । महानगरको कोभिड नियन्त्रणसम्बन्धी नीतिमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन र आइसोलेसन सञ्चालन, स्वाब संकलन लगायतका कामलाई निरन्तरता दिइएको उल्लेख छ । महानगरले विगतबाट सञ्चालित आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डको सञ्चालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ लगायतका कार्यलाई पनि निरन्तरता दिने भएको छ ।

महानगरले अग्र पंक्तिमा खटिने स्वास्थ्यकर्मीको जोखिम भक्तालाई निरन्तरता दिएको छ । कोभिड १९ का कारणले विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यवसायीलाई समय सिमा दिई विभिन्न प्रकारका कर छुट तथा राहत दिने नीति महानगरले लिएको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई लक्षित गरिएका कार्यक्रमलाई यसपालि पनि निरन्तरता दिएको छ ।
कोभिड १९ नियन्त्रणका लागि गत आर्थिक वर्षमा विनियोजित बजेटका आधारमा तथा दोस्रो लहरबाट सिकाइका आधारमा तेस्रो लहरसमेत आउन सक्ने आकलनका साथ आवश्यक रकम कोभिड नियन्त्रणसम्बन्धी कोषमा विनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मेयर जिसीले कोभिड १९ ले महानगरका सबै आर्थिक गविविधि ठप्प हँुदा आन्तरिक राजस्व संकलन, विकासका कार्यक्रम र नियमित सेवा प्रवाहमा प्रतिकूल असर परेको बताए । महानगरले स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पु¥याउन एम्बुलेन्सहरुको एकीकृत सेवाको अवधारणा विकास गर्दै ३ अंकको कल सेवा तथा रेडियोयुक्त एम्बुलेन्सका लागि साझेदार खोजी गरेको छ ।
महामारीले पिल्सिएका पोखरावासीलाई करको भार नपार्न आगामी आर्थिक वर्ष करको दर नबढाउन प्रस्ताव गरिएको छ । महानगरले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पोखराको पर्यटकीय ब्रान्डिङ र बजारीकरण गर्ने भएको छ । महानगरको लक्ष्य पर्यटकको सेवा, सुविधा र सुरक्षा प्रत्याभूति गराउनका साथै स्वदेशी तथ विदेशी पर्यटकको आगमनमा वृद्धि गर्न आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले पोखरास्थित प्राकृतिक सम्पदा ताल, नदी नाला, गुफा, धार्मिक स्थल, कोटहरु संरक्षण गर्दै पर्यटकीय गन्तव्य सूचना केन्द्र स्थापना गर्नुका साथै निजी क्षेत्रको साझेदारीमा पोखरा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन गर्ने भएको छ ।

महानगरले पर्यटन पूर्वाधारहरु निर्माण, पर्यटन प्रवद्र्धन, पर्यटन क्षेत्रमा क्रियाशील जनशक्तिको क्षमता विकास तथा होम स्टेहरुको क्षमता विकास एवं प्रचारप्रसार गरी पर्यटन क्षेत्रलाई पुनर्उत्थानको नीति लिएको छ । आन्तरिक पर्यटनमा टेवा पु¥याउन जनप्रतिनिधिलाई पनि ५ दिनको पर्यटन बिदा उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरा सभागृह जीर्णोद्वार थाल्ने भएको छ । पोखरा उपत्यका नगर विकास समिति एवं गण्डकी प्रदेश सरकारका सम्बन्धित कार्यालयको सहकार्यमा पोखराको सिटी बस टर्मिनल निर्माण तथा लामेआहालमा प्रस्तावित बसपार्कको निर्माणअघि बढाउने भएको छ ।

नगर यातायात गुरुयोजनालाई अन्तिम रुप दिएर महानगरले पोखराका महत्वपूर्ण सडकको सडक अधिकार क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । कोरिया सरकारको सहयोगमा तयार भएको ग्रीन ट्रान्स्पोर्टेसन मेनेजमेन्ट मास्टर प्लान कार्यान्वयन गर्दै पोखराको बाहिरी चक्रपथ निर्माणको पूर्व सम्भाव्यता अध्ययन समेतका आधारमा विस्तृत सम्भाव्यता अध्ययन थालिने भएको छ ।

महानगरले नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरीत कार्य गर्नेहरुलाई निरूत्साहित गर्ने गरी कानुनी बनाउने भएको छ । महानगरले मुख्य सहरी सडकमा नक्सा पास गरी भवन बनाउँदा अन्डर ग्राउन्ड पार्किङ अनिवार्य गर्नुका साथै कोरोनाको समयले अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई उकास्नका लागि व्यावसायिक तथा व्यापारिक भवन निर्माणमा नक्सा पास दस्तुर छुट गर्ने नीति लिइएको छ । घर नक्सा पास गर्दा अनिवार्य रुपमा गुगल प्लस कोड अंकित गर्नुपर्ने भएको छ ।

महानगरपालिकाको मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापनको जटिलता न्यूनीकरण गर्न सडकका चोकहरुको आधुनिक डिजाइन गर्न प्रस्ताव गरिएको छ । महानगरले नगर प्रहरी सेवालाई ब्यारेक प्रणालीमा रुपान्तरण गरी २४ घण्टा नै ड्युटीमा खटाउने गरी व्यवस्थापन गर्ने तयारी गरेको छ ।

कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन गर्न नसक्दा विद्यार्थीमा परेको असरलाई मध्यनजर गर्दै आगामी दिनमा विद्यालयमा वेबसाइट निर्माण, इन्टरनेट, इन्ट्रानेट सुविधा विस्तार गरी कक्षाकोठा प्रविधि मैत्री बनाउँदै १ विद्यालय १ प्राविधिक कक्ष निर्माण कार्य अनिवार्य गर्दै लैजाने भएको छ ।

‘स्वास्थ्यका लागि व्यायाम’ कार्यक्रमलाई निरन्तरता दिँदै १ टोल, १ खुला क्षेत्र, १ खुला क्षेत्र, १ व्यायामशाला कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । महानगरले महानगर वर्ष खेलाडी छनोट गरी सम्मान गर्न लागेको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने भएको छ । महानगर रत्न चयन गरी सम्मान गर्ने योजना पनि अघि सारिएको छ ।

आगामी आर्थिक वर्षमा ल्यान्डफिल साइट व्यवस्थापनको लागि जमिन खरिद गरी, निर्माण कार्य आरम्भ गरिनेछ । स्थायी स्यानिटरी ल्यान्डफिल व्यवस्थापन नभएसम्म अस्थायी ल्यान्डफिल व्यवस्थापन गरी विमानस्थल सञ्चालनमा सहजीकरण गरिनेछ ।

निर्यात हुने वस्तु पहिचान गरी उत्पादन वृद्धि गर्दै महानगरले ती सामग्रीको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि पहल गर्ने भएको छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विस्तार विकास र आधुनिकीकरण गर्दै महानगरले जडिबुटीजन्य उत्पादनलाई प्रशोधन तथा बजारीकरणमा जोड दिने भएको छ ।

महानगरले आन्तरिक आम्दानीको ठूलो हिस्साका रुपमा रहेको नदीजन्य सामग्रीको उत्खनन् गर्ने क्रममा नदी क्षेत्रसम्म जाने बाटोको मर्मत संभार, प्रारम्भिक वातावरणीय मूल्यांकन प्रतिवेदनले आंैल्याएका प्रभाव न्यूनीकरणका उपाय कार्यान्वयन जस्ता कार्यमा बजेट व्यवस्था गरी कार्यान्वयन गर्ने भएको छ ।

नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले नीति तथा कार्यक्रमले बजेट तथा कार्यक्रमलाई सही ढंगले नीति तथा विधिमा लैजाने बताइन् । सभामा नेकपा एमालेका सचेतक तथा विधायन समितिका संयोजक शोभामोहन पौडेलले पोखरा महानगरपालिका कर्मचारी सेवा विधेयक २०७८ टेबुल गरे ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सञ्चालन गरेको सभामा नेपाली कांग्रेसका सचेतक रामराज लामिछानेले स्थानीय तहका कर्मचारीले निजामति कर्मचारी सरहको सेवा, सुविधा पाउनुपर्ने माग गरे । उनले वडा कार्यालयलाई सरसफाईको जिम्मा दिएको खण्डमा प्रभावकारी काम हुने दाबी गरे ।

तपाईको प्रतिक्रिया