पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रधानको निधन

समाधान संवाददाता २०७८ असार १३ गते १५:०७

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेमबहादुर प्रधानको निधन भएको छ । उनी ८४ वर्षका थिए । संघका मानार्थ सदस्य तथा सल्लाहकार प्रधानको आइतबार बिहान १०ः३० बजे काठमाडौंको भैंसेपाटीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी दम रोगले पीडित थिए ।

Advertisement

१९९४ साल भदौ १७ गते पर्वतको पाङमा जन्मिएका प्रधान संघको साधारण सदस्य हुँदै २०२३ सालमा कार्यसमिति सदस्य भएका थिए । २०२५–२०२७ मा सचिव, २०२९–२०३४ मा उपाध्यक्ष हुँदै २०३५ देखि २०४१ सालसम्म प्रधान पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष भएका थिए ।

संघका विभिन्न पद तथा अध्यक्ष रहँदा उनले संघको गरिमा उकास्न तथा निजी क्षेत्रको हकहितको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘उहाँले निधनले हामी स्तब्ध, मर्माहत एवं शोकाकुल भएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन पोखरा व्यापार संघलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गर्न तथा क्षेत्रीय उद्योग वाणिज्य संघको स्थापनामा उहाँको विशेष योगदान छ ।’

पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै प्रधानले नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य तथा २०४४ सालमा उपाध्यक्ष रहेको संघले जनाएको छ । २०१९ सालमा पर्वतबाट पोखरा आएका भएका प्रधानले सुरुमा कपडा व्यवसाय गरेका थिए । २०३३ सालमा पोखरा औद्योगिक क्षेत्रमा शिवशंकर बिस्कुट उद्योग, विन्दुवासिनी चलचित्र मन्दिर प्रालिसमेत सञ्चालन गरेका थिए ।

सफल उद्योगीको परिचय बनाएका प्रधान जीवनको उत्तराद्र्धमा भने धार्मिक र सामजिक क्षेत्रमा क्रियाशील थिए । नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष, २१ वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अध्यक्षसहित विभिन्न संघ÷संस्थामा आवद्ध प्रधानले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्ने गरी हेमदेवी धर्म संस्कृति तथा समाज सेवा कोष एवं विभिन्न संघ÷संस्थाका लागि पनि अक्षण कोष स्थापनामा सघाएका छन् ।

Advertisement

‘सफल उद्योगी÷समाजसेवी तथा आध्यात्मिक व्यक्तित्वको रुपमा स्वर्गीय प्रधान पोखराका लागि सदा स्मरणीय रहने छ भन्ने हाम्रो विश्वास छ,’ संघका महासचिव बिजुक्छेले भनेका छन्, ‘अभिभावक तथा संघका पारिवारिक सदस्य गुमाउँदाको पीडा हामी शब्दमा वर्णन गर्न असमर्थ छौँ । दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघ सचिवालयमा रहेको झण्डा आधा झुकाएर ससम्मान श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको देहमुक्त आत्माको चीरशान्तिको कामनाका साथै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’ स्वर्गीय प्रधानका ५ छोरी र एक छोरा छन् ।

तपाईको प्रतिक्रिया