यसरी हुँदैछ कांग्रेस महाधिवेशन

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै देशैभरका कांग्रेस नेता कार्यकर्तालाई चुनावी माहौलले तताएको छ । वडादेखि केन्द्रीय नेतृत्वसम्मका आकांक्षीहरुले प्रत्यक्ष निर्वाचन लड्नै पर्ने भएकाले सबै कांग्रेसीजनमा चुनावी गर्मी चढिसकेको छ ।
महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया सुरु हुन अब १ महिना पनि बाँकी छैन । आगामी साउन १२ गते देशैभरका पालिकाका वडाहरुमा एकैचोटि वडा अधिवेशन गर्ने तालिका केन्द्रीय समिति बनाई सकेको छ । यद्यपि अहिलेसम्म क्रियाशील सदस्यको टुंगो लागेको छैन ।
केन्द्रीय कार्यसमितिले असारको ३० गतेसम्म क्रियाशील सदस्यहरुको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यसूची अनुसार विवाद भएका ठाउँको सदस्यता टुंगो लगाउन कार्यदलले काम गरिरहेको छ ।
साउन १२ गतेदेखि देशैभरका वडा वडाबाट सुरु हुने नेतृत्व चयनको दौड भदौ १९ गते काठमाडौंमा केन्द्रीय नेतृत्वका लागि मतदान भएपछि सकिनेछ । योबीचमा पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्नु पर्नेछ ।
केन्द्रीय निर्बाचन समितिले तय गरेको कार्यतालिका अनुसार साउन १२ गतेको वडा अधिवेशनले वडा कार्यसमितिसहित क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्नेछ ।
कांग्रेसको विधान अनुसार १५० जना क्रियाशील सदस्य भएको वडा इकाई कमिटीबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
१५० माथि थप प्रत्येक १०० क्रियाशील सदस्यबाट १० जनाका दरले क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्ने विधानमा व्यवस्था छ, जसअनुसार २५० भन्दा धेरै क्रियाशील सदस्य भएको इकाइले २६ जना, ३५० भन्दा बढी सदस्य भएको इकाइले ३६ जना गरेर क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्नेछन् ।
वडा अधिवेशनपछि साउन १६ गते देशैभरका पालिकाको इकाई नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । पालिकामा कांग्रेस नेतृत्व चयन गर्न पालिका अन्तर्गतका सबै क्रियाशील सदस्यले उम्मेद्वार बन्न र मतदान गर्न पाउनेछन् ।
पालिका अधिवेशनबाट २ जना अपांग क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् भने पालिका इकाई समितिका सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछन् ।
साउन २० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ । यो अधिवेशनले प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्नेछ । यो अधिवेशनमा वडा र पालिकाबाट चयन भएका क्षेत्रीय अधिवेशन प्रतिनिधि मात्र सहभागी हुन पाउनेछन् ।
प्रदेश सभा क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट हुनेछन् । प्रदेश अधिवेशनमा प्रत्येक प्रदेश सभाबाट प्रदेश सभापति र १६ जना प्रतिनिधि गरी १७ जना सहभागी हुनेछन् ।
साउन २३ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि यही प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चयन हुने भएकाले यसमा धेरै नेताहरुको ध्यान तान्छ ।
क्षेत्रीय कार्यसमितिका साथै प्रत्येक निर्बाचन क्षेत्रबाट २५–२५ जना महाधिवेशन प्रतिनिधि यही अधिवेशनबाट चयन भएकाले केन्द्रीय राजनीतिमा जान खोज्ने कांग्रेस नेताहरुका लागि यो दिन विशेष हुनेछ । यिनै २५ जना केन्द्रीय महाधिवेशनका सहभागी हुनेछन् ।
जिल्ला अधिवेशनको मिति साउन २६ गतेका लागि तोकिएको छ । जिल्ला नेतृत्व चयन हुने अधिवेशनमा क्षेत्रीय अधिवेशन प्रतिनिधिहरु र महाधिवेशन प्रतिनिधिहरु सहभागी हुनेछन् । जिल्ला अधिवेशनपछि भदौ १ र २ गतेका लागि प्रदेश अधिवेशनको मिति तोकिएको छ ।
प्रदेश समितिको नेतृत्व चयन गर्नका लागि हुने यो अधिवेशनमा प्रदेश सभा अधिवेशन प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरु र जिल्ला सभापतिहरु सहभागी हुनेछन् ।
यसबाट प्रदेश कार्यसमिति चयन हुनेछ । कांग्रेसेका केन्द्रीय महाधिवेशन भदौ १६ गते काठमाडौंमा उद्घाटन हुनेछ भने १९ गते केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भएर सकिनेछ ।
इन्फोग्राफः प्रदीप कुमाल÷समाधान








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया