गण्डकी विश्वविद्यालयको १० वर्षे रणनीतिक कार्ययोजना

समाधान संवाददाता २०७८ असार १५ गते २०:३४

समाधान संवाददाता, पोखरा


गण्डकी विश्वविद्यालयले १० वर्षे रणनीतिक कार्ययोजना तयार पारेको छ । विज्ञमार्फत विश्वविद्यालयले आउँदो सन् २०३० सम्मका लागि कार्ययोजना तयार पारेको हो । कार्ययोजना तयार गर्ने समितिका संयोजक डा सूर्यबहादुर जिसीले मंगलबार विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई प्रतिवेदन हस्तान्तरण गरेका छन् ।


पोखरा विश्वविद्यालयका जिसीको संयोजकत्वमा डा उमेशसिंह यादव, डा डमरुप्रसाद पनेरु, इन्जिनियर निर्मल बराल, डा विकास केसी र रेशमलाल पौडेल सदस्य रहेको समितिले कार्ययोजना तयार पारेको हो । सरोवालाहरु, विज्ञहरु लगायतसँग गहन छलफल र परामर्श गरी ४ महिना लगाएर कार्ययोजना तयार पारेको जिसीले सुनाए ।

Advertisement


संयोजक जिसीका अनुसार रणनीतिक कार्ययोजनामा १० वटा रणनीतिक आवश्यकता औंल्याइएको छ । प्राज्ञिक उत्कृष्टता, शिक्षामा परिवर्तनता, नवप्रवर्तन तथा आवश्यकताका आधारमा प्राज्ञिक कार्यक्रम, उद्यमशीलता र अनुसन्धानलाई प्रवद्र्धन गर्ने संस्कृति, दिगो वित्तीय उपलब्धि, सामाजिक मूल्यका लागि समुदायको संलग्नता, विश्वविद्यालयको छुट्टै पहिचानको विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्य र संगठनको दिगोपनाको विकास लगायत आवश्यकतामा रणनीतिक कार्ययोजनामा जोड दिइएको छ ।


‘यो विश्वविद्यालयमा पढेका विद्यार्थी जिम्मेवार, सिर्जनशील र उद्यमशील नागरिक भएर निस्कनुपर्छ,’ जिसीले भने, ‘उच्च शिक्षाका लागि विदेशकै मुख ताक्ने प्रवृत्तिलाई रोक्न सक्नुपर्छ ।’ उनले विश्वविद्यालय भइसकेपछि अनुसन्धानमा केन्द्रित हुनुपर्ने र अनुसन्धान समाज र राष्ट्रको आवश्यकतामा आधारित हुनुपर्ने बताए ।

Advertisement


‘सही योजनाका साथ अघि बढ्यौं भने स्रोतको अभाव हुँदैन, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट जुटाउन सकिन्छ,’ उनले भने, ‘नयाँनयाँ अनुसन्धान गरेर पाटेन्टराइटको रोयल्टीबाट पनि स्रोत जुटाउन सकिन्छ, अन्ततिर त्यस्तो अभ्यास छ ।’ स्रोत जुटाउन सकिने आधारहरु पनि रणनीतिक कार्ययोजनामा समेटिएको जानकारी उनले दिए । समाज र राष्ट्रको आवश्यकतासँग जोडिने गरी योजना बनाएको उनको भनाइ थियो ।


कार्ययोजना कार्यान्वनको पहिलो समीक्षा ४ वर्ष र त्यसपछि ३÷३ वर्ष गर्नुपर्ने उक्त समितिको सुझाव छ । त्यसपछि २०३० बाट अर्काे रणनीतिक कार्ययोजना बनाउन पनि सुझाइएको छ ।


गण्डकी प्रदेश सरकारले स्थापना गरेको यो विश्वविद्यालयको कुलपति अरु विश्वविद्यालयमा जस्तो सरकार प्रमुख रहने व्यवस्था छैन । न्यासिक परिषदले नै कुलपति, उपकुलपति लगायत पदाधिकारी छनोट गर्छ । प्रदेश मुख्यमन्त्री संरक्षक मात्रै हुन्छ । बोर्ड अफ ट्रस्टीबाट सञ्चालन हुने भएको हुँदा पनि यो विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त र साँच्चीकै स्वायत्त रहेको जिसीले बताए ।


विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले समितिले दिएको कार्ययोजनालाई प्राथमिक दस्तावेज मानेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले त्यसमाथि आन्तरिक छलफल गरी अझै उत्कृष्ट बनाउने पनि सुनाए । पोखरा ३२ लेखनाथको ज्ञानकुञ्जमा विश्वविद्यालयको प्रशासनिक लगायत भवन निर्माण सुरु भइसकेको विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाले सुनाए । विश्वविद्यालयले छिटै पढाइ सुरु गर्ने गरी ब्याचलर्स इन स्पोर्टस् मेनेजमेन्ट (BSM) र ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (BIT) भर्ना खुलिसकेको विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत डोलराज सुवेदीले बताए ।
…………….
विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई मंगलबार रणनीतिक कार्ययोजना हस्तान्तरण गर्दै समिति संयोजक डा सूर्यबहादुर जिसी । तस्बिर

तपाईको प्रतिक्रिया