मुस्ताङको घाँसामा बन्ने भयो आधारभूत स्वास्थ्यकेन्द्र भवन

समाधान संवाददाता २०७८ असार १६ गते १२:५९

एसके थकाली \ जोमसोम

हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसामा बुधबार आधारभूत स्वास्थ्यकेन्द्र भवनको शिलन्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले एक समारोहकाबीच उक्त आधारभूत स्वास्थ्यकेन्द्र भवनको शिलन्यास गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवाकेन्द्र भवन निर्माण तथा सेवा संञ्चालन कार्यविधि २०७५ अनुसार टाईप “ बि’ अन्तर्गत सो आधारभूत स्वास्थ्यकेन्द्र भवन शिलन्यास गरिएको हो ।

Advertisement

स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत र स्थानीय तहको ६० प्रतिशत साझेदारीमा निर्माण गरिने भनिएपनि सो पालिकाको प्राविधिक समस्याका कारण गतवर्ष स्वास्थ्यकेन्द्र भवन शिलन्यास हुन सकेको थिएन ।

गत वर्ष सो भवन निर्माणका लागि बिनियोजन भएको पहिलो किस्ता बजेट १८ लाख फ्रिज हुन पुगेको थियो । यसपटक मन्त्रालयले दोश्रो किस्ता २० लाख पठाएको र सो बजेटमा पालिकाको ६० प्रतिशत साझेदारी रहने गरी भवन निर्माण प्रक्रिया अघि बढाईएको थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खत्रीले जानकारी दिए ।

Advertisement

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले देशभरका स्थानीय तहका वडाहरुमा स्वास्थ्य सेवाको पहुँच नपुगेकाले पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरेको थियो ।

मन्त्रालय र पालिकाको साझेदारी लागत १ करोड ५३ लाख रहेपनि निर्माण कम्पनीसंग भ्याटसहित ९७ लाखमा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए । मन्त्रालयको प्राप्त बजेट २० लाख र पालिकाको ८० लाखले आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माण हुने उनले जनाए ।
थासाङ गापा—४ मा बन्ने स्वास्थ्य केन्द्र भवन निर्माणको जिम्मा महादेव निर्माण सेवाले लिएको छ । सम्झौता अवधि १२ महिना तोकिएको स्वास्थ्य केन्द्रको भवनको संरचना एकतले ६ कोठाको हुनेछ ।
म्याग्दी र मुस्ताङको सीमानामा पर्ने वडा—४ घाँसामा हालसम्म स्वास्थ्यको पहुँच नहुदा स्थानीय तथा मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई स्वास्थ्य सेवा प्राप्त गर्न समस्या पर्दै आईरहेको थियो ।थासाङको ५ वडाहरु मध्ये ४ वडामा स्वास्थ्य केन्द्र संञ्चालन भएपनि घासामा स्वास्थ्य केन्द्र स्थापना भएको छैन ।

थासाङले कोभिड माहामारीको अवस्थामा करारका २ जना स्वास्थ्यकर्मी खटाएर अस्थायी स्वास्थ्य सेवा प्रदान गर्दैआईरहेको छ ।
आधारभूत स्वास्थ्य केन्द्र भवनको शिलन्यासमा अध्यक्ष बुद्धिप्रसाद शेरचनले भवन निर्माणपछि थासाङका सबै वडाहरुमा स्वास्थ्यको पहुँच स्थापना हुँने बताए ।

तपाईको प्रतिक्रिया