एमाले गण्डकी अध्यक्ष विश्वकर्माले भने: शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ

समाधान संवाददाता २०७८ असार १६ गते १४:२४

समाधान संवाददाता, पोखरा

नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष जगत विश्वकर्माले जातीय छुवाछुतको घटनामा मुछिएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पूर्वमन्त्री विश्वकर्माले जातीय छुवाछुतको घटनामा शिक्षामन्त्री जोडिएको विषयमा ध्यानाकर्षण गराउँदै राजीनामाको माग गरेका हुन् ।

‘शिक्षामन्त्रीको व्यवहारले जातीय विभेदको विरुद्धमा रहेका मानवीय मन र सिंगो उत्पीडित समुदायलाई दुखी बनाएको छ। पार्टीमा पनि सिनियर नेताबाट यस्तो व्यवहार हुँदा पार्टीप्रति नै आम जनताको विश्वास धुमिल हुन जान्छ,” बुधबार बैठकमा विश्वकर्माले भने, ‘शिक्षा मन्त्री सबैको अभिभावक भएको हुँदा उच्च नैतिक प्रदर्शन गरी राजीनामा गर्न सहयोद्धा कमरेडको नाताले सुझाव दिन चाहन्छु ।” शिक्षामन्त्री सबै जनताको अभिभावक बन्न नसकेको भन्दै विश्वकर्माले अध्यक्ष ओलीको ध्यानाकर्षण गरेका थिए ।

Advertisement

विश्वकर्माले भनाइ राखेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त विषयमा ध्यानाकर्षण भएको बताएका थिए । शिक्षामन्त्रीले आफूसँग उक्त दिन भावनामा आएर अलि बढी भएको र आगामी दिनमा त्यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिबद्धता गरेको ओलीले बताएका थिए । जातीय विभेदका घटनालाई प्रश्रय दिने काम नेकपामा एमालेका कुनै पनि नेता कार्यकर्ताले गर्न नहुने तर्फ पनि अध्यक्ष ओलीले ध्यानाकर्षण गराएका थिए ।

काठमाडौंमा हालै सञ्चारकर्मी रुपा सुनारलाई जातीय आधारमै डेरा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई शिक्षा मन्त्री श्रेष्ठले प्रहरी कार्यालयबाट झन्डावाला गाडीमा लिफ्ट दिएर घर पुर्‍याएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया