‘पत्रकारले पेशागत दायित्व पूरा गरेका छन्’

समाधान संवाददाता २०७८ असार २० गते ९:२७

समाधान संवाददाता, पोखरा

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराले संयुक्त रुपमा तनहँुको दमौलीमा शनिबार कोभिड १९ले पत्रकारहरुमा परेको असर विषयमा मिडिया साझेदारी कार्यक्रम गरेका छन् ।

नेपाल पत्रकार महासंघ तनहँुको व्यवस्थापनमा भएको कार्यक्रममा आयोगका निर्देशक चन्द्रकान्त चापागाईले कोभिड १९संक्रमणको दृष्टिले जोखिम समूहमा रहेका पत्रकारको पेशागत असुरक्षा बढेको बताए ।

Advertisement

संक्रामक र सरुवा रोगको प्रकोप बढेको अवस्थामा पत्रकारले पेशागत दायित्व पूरा गरेको उल्लेख गर्दै उनले संकटको वेलामा राज्यका निकायले सञ्चारगृह र श्रमजीवी पत्रकारका सवाललाई सम्बोधन गर्नुपर्ने चर्चा गरे ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कोभिड १९ को महामारीमा मानव अधिकार रक्षकको अवस्थासम्बन्धी प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै करिब १० प्रतिशत पत्रकारले पेशा नै परिवर्तन गर्ने सोंच बनाएको उल्लेख गरे ।

Advertisement

नेपाल पत्रकार महासंघ तनहुँ अध्यक्ष उज्ज्वल पौडेलले संकटका बेलामा परम्परागत छापा भन्दा विद्युतीय सञ्चार माध्यमको महत्व बढेको बताए । ‘पत्रपत्रिकाको नियमित प्रकाशन, वितरण, सूचना र विज्ञापन प्राप्तिमा समस्या देखिएको छ,’उनले भने,‘अनलाइन, टेलिभिजन, एफएम रेडियो प्रभावकारी भए पनि सञ्चालन र व्यवस्थामा कठिनाइ भएको छ ।’

नेपाल पत्रकार महासंघ तनहँुका निवर्तमान अध्यक्ष ओमकार श्रेष्ठले मानव अधिकार क्षेत्रका संघ, संस्थाले सशस्त्र द्वन्द्व प्रभावित, बेपत्ता परिवार, जन आन्दोलनका घाइतेका सवाल उठाउँदा थप पीडा भए जस्तो पत्रकारको अहिलेको अवस्था भएको टिप्पणी गरे । उनले तेस्रो चरणको भेरियन्ट आए धेरै सञ्चारमाध्यम प्रभावित भएर पत्रकारविस्थापन हुने दर बढ्ने तर्क गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति तनहुँ अध्यक्ष बसुन्धरा घर्ती, इन्सेक पोखराका कार्यक्रम संयोजक सवनम शर्मा, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, महिला मानव अधिकार रक्षक सञ्जाल तनहँु अध्यक्ष कल्पना पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया