स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री

समाधान संवाददाता २०७८ असार २१ गते ७:२८

समाधान संवाददाता, पोखरा

मादमे खोला जलविद्युत आयोजना प्रालिले कास्कीको मादी गाउँपालिका वडा नम्बर १को सिक्लेस स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । मादीको वडा नम्बर १मा निर्माणाधीन अवस्थामा रहेको २४ मेघावाटको आयोजनाले स्वास्थ्य चौकीलाई ४० लिटरका १० थान र १० लिटरका ३ थान अक्सिजन सिलिन्डर, पिपिई ४ थान र ४ थान पल्स अक्सिमिटर उपलब्ध गराएको हो ।

आयोजनाले पालिकाको अन्य क्षेत्रले आवश्यकता आधारमा प्रयोग गर्ने गरी ४० लिटरको १० थान अक्सिजन सिलिन्डर प्रदान गरेको स्वास्थ चौकीका प्रमुख किरणबाबु भुजेलले जानकारी दिए । आयोजनाका परियोजना म्यानेजर रोशन शाहले वडाध्यक्ष सुरजकुमार गुरुङ र स्वास्थ्यचौकी प्रमुख भुजेललाई एक समारोहबीच ती सामग्री हस्तान्तरण गरे ।

Advertisement

वडाध्यक्ष गुरुङले मनसुनी वर्षातका कारण गत १ असारदेखि विद्युत अवरुद्ध भएकोमा मादमेखोला जल विद्युत आयोजनाको जेनेटरको सहयोगमा वैकल्पिक बत्ती बालिएको बताए । उनले विद्युतको व्यवस्थापनमा सहयोग गरेकोमा गण्डकी प्रदेशसभाका सदस्य मनबहादुर गुरुङ र जल विद्युत आयोजनाका अध्यक्ष सुशन कर्माचार्यप्रति आभार प्रकट गरे ।

स्वास्थ्य चौकी प्रमुख भुजेलले वडा क्षेत्रमा कोरोना संक्रमण देखिएपछि रोकथाम तथा नियन्त्रणका लागि विभिन्न संघ संस्था, समाज र व्यक्तिमार्फत सहयोग भएको बताए । ‘अहिले वडा क्षेत्रका सबै संक्रमितकोरोनाबाट मुक्त भइसकेका छन्,’उनले भने, ‘फेरि अर्को चरणको भेरियन्ट आउन सक्ने भएकाले उच्च सतर्कताका साथ स्वास्थ्य सामग्री जुटाउनेदेखि पूर्वाधार व्यवस्थापनमा ध्यान दिएका छौं ।’

Advertisement

उनले मनसुनी वर्षातका कारण आएको बाढी, पहिरोका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले स्वास्थ्य शिक्षा, सचेतना र सन्देशमूलक कार्यक्रमअघि बढाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया