व्यवसायीले भने : खोप नलगाएसम्म पर्यटन क्षेत्र खोल्दैनौं

कोरोना भाइरस रोग कोभिड १९ विरुद्धको खोप लगाउन नपाएसम्म होटल र रेस्टुरेन्ट नखोल्ने पोखराका पर्यटन व्यवसायीले बताएका छन् । आफू र मजदुर कर्मचारी सुरक्षित भएपछि मात्रै पाहुनालाई ढुक्कले सेवा दिन सकिने उनीहरुको भनाइ छ ।
पर्यटन क्षेत्रको छाता संस्था पोखरा पर्यटन परिषदले बिहीबार पत्रकार सम्मेलन गरी खोप लगाएपछि मात्रै व्यवसाय खोल्ने घोषणा गरेको हो । ‘आजसम्म त सरकारले नै बन्द गर्नाेस् भनेर बन्द गरेका छौं,’ परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘अब खोप नलगाएसम्म हामी पर्यटन खोल्दैनौं । सुरक्षित नभएसम्म व्यवसाय चलाउनुको कुनै अर्थ हुँदैन ।’
भट्टराईले खोप नलाएकै कारण थुप्रै बुकिङ रद्द भइरहेको जानकारी पनि दिए । परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटक जहाँ सुरक्षित हुन्छ, त्यहीं जाने गरेको सुनाए । उनले भने, ‘तिमीहरुको स्टाफले खोप लगाएको छ कि छैन भनेर सोध्छन्, छैन भन्नेबित्तिकै धन्यवाद अर्काे वर्ष आउँला भन्छन् ।’
अर्का पूर्वअध्यक्ष वासुदेव त्रिपाठीले अग्रमोर्चाको भनी काठमाडौंको ठमेलका पर्यटन व्यवसायीलाई खोप दिँदा पोखरालाई छुटाएको गुनासो गरे । उनकै भनाइमा पूर्वका पर्यटकीय गन्तव्यका व्यवसायी र कर्मचारीले पनि खोप पाइसकेका छन् ।
अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको पर्यटन क्षेत्रका मानिसले खोप लगाएका छैनन् भन्ने आधारमा थुप्रै बुकिङ रद्द भइरहनु दुखद भएको सुनाए । ‘खोप हामीलाई मात्रै चाहियो भन्ने पनि होइन, सबै नेपालीको मौलिक हक हो,’ उनले भने, ‘अग्रपंक्तिका अरुले लगाइरहँदा हामीले पनि पाउनुपथ्र्याे भन्ने हो ।’ व्यवसाय चलेमात्रै राज्यले पनि राजस्व आम्दानी पाउने उनको भनाइ थियो ।
अध्यक्ष भट्टराईले लकडाउन अवधिको बैंक ब्याज सरकारले तिरिदिनुपर्ने माग पनि गरे । ‘बैंक ब्याज, पर्यटन शुल्क, जरिवाना जे जति छन् र संघ, प्रदेश, स्थानीय सरकार सबैले आआफ्नो क्षेत्रमा छुट दिनुपर्छ,’ उनले भने ।
कोभिडका बेला भनेर सरकारले ल्याएको ५० अर्बको व्यवसाय कर्जा पर्यटन क्षेत्रका व्यवसायीले लिन नसकेको दुखेसो भट्टराईले पोखे । ‘सरकारले मौद्रिक नीति राम्रो ल्यायो भनेर स्वागत ग¥यौं,’ उनले भने, ‘तर त्यो ५० अर्बको १ प्रतिशत पनि वितरण भएको छैन ।’ सरकारले गरेका प्रतिबद्धता अनुसार उक्त सुविधा लिन निकै झन्झटिला प्रक्रियाहरु बनाइएको र मातहतका निकायले कार्यान्वयनमा चासो नदेखाएको अनुभव उनले सुनाए । सरकारले खोप उपलब्ध नगराए तालचाबी सरकारलाई बुझाउने परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
पहिलो लहरको कोभिडकै कारण पोखराका २५ प्रतिशत पर्यटन व्यवसायी विस्थापित भइसकेको अध्यक्ष भट्टराईले बताए । ‘अबको मौद्रिक नीतिले सम्बोधन गरेर भने दोस्रो लहरको कोभिडका कारण ५० प्रतिशत व्यवसायी विस्थापित हुन्छौं,’ उनले भने ।
परिषदले कोभिड १९ को प्रभावसँगै व्यवसायको जिम्मेवारीमा पर्ने व्यवसाय नवीकरण, अद्यावधिक शुल्क, घरभाडा कर, यातायात कर साथै सम्पूर्ण पर्यटन व्यवसाय शीर्षकका शुल्क तथा दस्तुरहरु पूर्ण रुपमा मिनाहा हुनुपर्ने माग पनि गरेको छ । उसले बैंक किस्ता र ब्याज तत्काल तिर्न सक्ने अवस्था नभएको हुँदा सरकारले बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरिदिनुपर्ने माग गरेको छ ।
तपाईको प्रतिक्रिया