बाढीले पक्की पुल एकातीर ,खोला अर्कोतीर
एसके थकाली \ जोमसोम
मुस्ताङको जोमसोम—कोरला सडक जोड्ने लुप्रा—पान्डा खोलामा अवस्थित पक्की मोटरेबल पुलमा पटक÷पटक बाढीले धार परिवर्तन गर्दा उपल्लो मुस्ताङ जाने सवारी साधन तथा पैदलयात्रीले सास्ती व्यवहोर्न बाध्य भएका छन् ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना सुरु हुनुपूर्वनै निर्माण सुरु भएको लुप्रा—पान्डा खोला पक्की पुलको जिम्मा पाल्पा करिडोरले लिएको थियो । पाल्पा करिडोरका प्राविधिक टोलीले सो स्थानको बैज्ञानिक ढंगले भौगोलिक प्राविधिक अध्ययन नगरी पुल निर्माण गर्र्दा बर्सेनि लुप्रा खोलाको बाढीले सास्ती दिने गरेको छ ।बाढीले धार परिवर्तन गर्दा लुप्रा—पान्डा खोलाको मोटरेबल पुल अर्थहिन जस्तै बनेको हो ।
लुप्रा—पान्डा खोलामा बुधबार र बिहिबारको बाढीले धार परिवर्तन गर्दा मोटरेबल पुल मुनिबाट खोला बग्न छाडेपछि सवारी साधन तथा पैदलयात्रीले सास्ती भोग्न बाध्य भएका हुन् । तत्कालिन समयमा पुल निर्माणका लागि सर्बे तथा प्राविधिक अध्ययन गर्ने प्राविधिकको त्रुटीले गम्भिर लापारवाही गरेको वारागुङ मुक्तिक्षेत्र गाउपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए । बर्खायामको लुप्रा खोलाको बाढीले पटक—पटक धार परिवर्तन गर्ने गरेको र खोलालाई ट््याकमा ल्याउन पटक÷पटक पालिकाले डोजर परिचालन गर्नु परेको उनको भनाई छ । ।
“ आज खोला फर्काएर पुलमा हाल्यो ,भोली बाहिर आउछ ,अध्यक्ष गुरुङले भने,“गाउपालिका आफैले दिनुहुजसो डोजर लगाएर सडक सूचारु गरेका छौं ।’
मुस्ताङ सदरमुकाम जोमसोमदेखि ३ किलोमिटर उत्तरतर्फ अवस्थित पक्की मोटरेबल पुलमा पटक÷पटकको ठाडो खोलाको बाढीले धार परिवर्तन गर्ने गर्दा जोमसोम—कोरला सडक जोड्ने पक्की पुलमा पानी बग्न छोडेको हो ।पुल भन्दा बाहिर बाढी पसेपछि सवारी साधन तथा पैदलयात्री लगायतलाई गन्तब्यमा पुग्न समस्या भएको छ ।
जोमसोमदेखि मुक्तिनाथ र उपल्लो मुस्ताङ जोड्ने महत्वपूर्ण स्थानमा रहेको पक्की मोटरेबलमा भौगोलिक अवस्था अनुकुल नभएको स्थानीय राम गुरुङले उल्लेख गरे । सो स्थानमा लामो पक्की पुल आवश्यक पर्नेमा छोटो पुल निर्माण गरिएको र सो त्रुटीपूर्ण भएको उनको भनाई छ । हालको पक्की पुलले बर्सेनि सास्ती दिने गरेको र यसका लागि दीर्घकालिन पुल आवश्यक पर्ने सवारी चालक माने गुरुङले बताए ।
२०६९ सालमा निर्माण सुरु गरिएको उक्त लुप्रा—पान्डा खोला मोटरेबल पुलको काम २०७६ सालमा निर्माण सम्पन्न भएको थियो ।m कालिगण्डकी करिडोर अन्तर्गत बेनी—जोमसोम—कोरला सडक आयोजनाले जिम्मा लिएको उक्त लुप्रा—पान्डा पक्की पुल निर्माणको जिम्मा लोकप्रिय शंकरमाली जेभीले ३ करोड ९० लाखमा पुल बनाउने जिम्मा लिएको थियो ।
भिरालो सहत ,भौगोलिक दृष्ट्रिकोणले फराकिलो स्थान भएकाले सो स्थानमा करिव ३ सय मिटरको पुल आवश्यक पर्नेमा तत्कालिन समयका प्राविधिकले सो स्थानमा जम्मा ५० मिटरको पक्की मोटरेबल पुल निर्माण गरिदा लुप्रा—पान्डा खोलाको बाढीले बर्खायामको मौसममा समस्या र चुनौती थपिएको हो ।
लुप्रा—पान्डा खोलामा जम्मा ५० मिटरको पुलसहित १ सय मिटर एप्रोज र २ वटा कल्बट निर्माण गरिएको छ ।
तपाईको प्रतिक्रिया