बादल हटाएर फेरि सूर्य उदानेछ: ओली

समाधान संवाददाता २०७८ असार २९ गते १५:४२

समाधान संवाददाता, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबाट एमाले फेरि शक्तिशाली हुने संकेत गर्दै सूर्य बादल हटाएर उदाउने दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारबाट देशवासीका नाममा बिदाइ सम्बोधन गर्दै ओलीले भने, ’कहिलेकाहीँ बादल लागेर सूर्यलाई छेक्न सक्छ । तर, बादल हटाएर सूर्य फेरि उदाउनेछ ।’

Advertisement

सर्वोच्चको फैसला पार्टीलाई असर पुग्ने किसिमको भए पनि त्यसलाई स्वीकार गर्दै अघि बढ्ने बताए । कार्यकर्ताहरूलाई उनले संयमता अपनाउन आग्रह गरेका छन् ।
सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए ।

उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’

Advertisement

ओलीले २०५२ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारका पालामा भएको घटना सम्झँदै उनले राजनीतिलाई ट्रयाकबाहिर लगेको र त्यसले दुष्परिणाम ल्याउँछ भनेर टिप्पणी गरेको पनि सम्झिएका थिए।

उनले राज्यका महत्वपूर्ण अंगहरूबीचको सन्तुलन खलबलिएर लोकतन्त्रको संरचना नै क्षति होला कि भन्ने चिन्ता रहेको बताए।

पार्टी स्वतन्त्रता र बहुदलीय व्यवस्था नै पहिलेदेखिको माग भएको उनले बताएका छन्। उनले सर्वोच्चले ह्वीप लगाउन पाइँदैन भनेर गरेको व्याख्याबारे पनि प्रश्न उठाएका छन्।

‘एउटै दलका सदस्यहरू सत्ता र प्रतिपक्ष बन्ने यस्तो परिकल्पना कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दै गर्दैन,’ ओलीले भने।

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दा संविधानको धारा ७६ को ५ मा प्रतिनिधि सभाका सदस्यलाई ह्वीप नलाग्ने व्याख्या थियो।

उनले निश्चित व्यक्तिका लागि संविधानको अपव्याख्या भएको पनि आरोप लगाएका छन्।

‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको संशोधन गर्ने काम गरेको छ, पछि फर्कने गरी। हाम्रो लोकतान्त्रिक प्रणालीले भविष्यमा यसले सिर्जना गर्ने मूल्य चुकाउनु पर्नेछ।’

उनले आसन्न राजनीतिक विकृति र जोखिमप्रति चिन्ता आफूहरूको भएको पनि बताए।

राजनीतिक प्रश्नहरूको मुख्य फैसला गर्ने जिम्मेवारी दलहरूको भएको उनले दाबी गरेका छन्।

‘राजनीतिक प्रश्नको मुख्य फैसला गर्ने जिम्मेवारी दलहरूको हो। सार्वभौम जनताको हो,’ उनले भने, ‘त्यसैले राजनीतिक प्रश्न जोडिएका मुद्दामा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ। अदालतले राजनीतिक सम्बन्धमा गरेका मुद्दामा प्रवेश नगर्ने नजिर पहिलेकै थियो।’

अदालतले प्रत्येक विषयमा हात हालेको र कहिलेकाहीँ माग नै नगरेका विषयहरूमा समेत अदालत अगाडि बढेको आरोप उनको थियो। अदालतले ठूलो भारी बोक्न नसक्ने पनि उनले बताए। खेलाडीले खेल खेल्ने भए पनि रेफ्री नै खेल खेल्ने वा एकतर्फी मिल्ने गरेको बताए।

ओलीले विश्वको इतिहासमा पहिलो पटक अदालतले प्रधानमन्त्री नियुक्ति गरेको बताए।

‘विश्वको इतिहासमा पहिलो पटक अदालतले प्रधानमन्त्री बनाउने र प्रधानमन्त्री हटाउने काम गरेको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया