मुख्यमन्त्रीलाई एमालेको १० बुँदे ध्यानाकर्षणः महत्वपूर्ण कार्यक्रमलाई बजेट किन दिइएन ?

समाधान संवाददाता २०७८ असार ३० गते १०:१८

समाधान संवाददाता, पोखरा

नेकपा एमाले संसदीय दल गण्डकीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले सांसदहरुले आज मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

वार्षिक विकास कार्यक्रमका सम्बन्धमा एमालेले ध्यानाकर्षण गराएको हो । एमालेले ध्यानाकर्षण पत्र बुझाउँदै व्यक्तिको फेरबदलले सरकारले लिएका आधारभूत नीति परिवर्तन नहुने र विगतको सरकारको नीतिमा फेरबदल गरेर ल्याइएका लक्ष्य पूरा नहुने जनाएको छ ।

Advertisement

कांग्रेस नेतृत्व सरकारले सार्वजनिक गरेको श्वेतपत्रलाई एमालेले सफेद झुठ भनेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निर्वाचनपछि शून्य अवस्थाबाट काम गरेकाले न्यूनतम वस्तुनिष्ठता नदेखाइएको एमालेको धारणा छ । ‘सत्ताका लागि जे पनि ठिक भन्ने निष्कर्षमा सत्तारुढ दलको मनोविज्ञान प्रकट भएको छ । यसमा सरकारले आफूलाई सच्याउनु पर्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।

सरकारले वार्षिक विकास कार्यक्रममा प्रथम पञ्चवर्षीय योजनाm अल्पकालीन लक्ष्य, दीगो विकासको लक्ष्यलाई अनुशरण नगरेको एमालेको आरोप छ । स्रोत सुनिश्चित भइ ठेक्कामा गएका बहुवर्षीय योजना काटिएको भन्दै एमालेले ध्यानाकर्षण गराएको हो । ‘वार्षिक विकास कार्यक्रममा स्रोत सुनिश्चित भइ अघि बढेका योजना किन हटाइयो ? सरकारले जवाफ दिनुपर्छ,’ प्रमुख सचेतक मायानाथ अधिकारीले भने । यस्तै सालबासी आयोजान पनि अलपत्र पारेर बजेट व्यवस्थापन नगरिएको एमालेले जनाएको छ ।

Advertisement

सरकारले सत्तारुढ सांसदको क्षेत्रका सडकलाई मात्र बजेट विनियोजन गरेको एमालेको आरोप छ । ‘निर्माणाधीन सडकलाई अनुुसुचिमा राखेर सत्तापक्षीय माननीयका निर्वाचन क्षेत्रमा मात्र बजेट विनियोजन भएको छ,’ पत्रमा उल्लेख छ ।

उज्यालो गण्डकी प्रदेश कार्यक्रम, स्थानीय पालिका जोड्ने सडक, निर्वाचन क्षेत्रीय सडकको दोस्रो खण्ड, एक पालिका एक खेल मैदान, एक घर एक धारा जस्ता योजनामा बजेट नपर्नु र निरन्तरता नदिनुले प्रदेशको लक्ष्य पूरा नहुने एमालेको राय छ । एमालेले दुर्गम क्षेत्रमा बजेट थप्न आग्रह पनि गरेको छ । ‘अघिल्लो सरकारले अति दुर्गम क्षेत्र भनी बजेट छुट्ट्याउने गरेपनि अहिलेको सरकारले दुर्गम र पिछडिएको क्षेत्रमा बजेट कट्टा गरेको छ जुन थप गरियोस्,’ पत्रमा छ ।

योजनागत रुपमा बजेट विनियोजन गरी वार्षिक विकास कार्यक्रम सच्याउन एमालेको माग छ । नीति कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका योजनामै बजेट व्यवस्था नभएकाले ती योजनामा बजेट व्यवस्था गर्न पनि माग गरिएको दलका प्रमुख सचेतक अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया