मेयर जिसी चिकित्सकको प्रत्यक्ष निगरानीमा, अप्रेसनकाे टुंगो छैन

समाधान संवाददाता २०७८ साउन १ गते २०:४०

समाधान संवाददाता, पोखरा


स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका मेयर मानबहाुदर जिसी चिकित्सकीय निगरानीमा राखिएका छन् ।
शुक्रबार बिहान ४ बजे अचानक अप्ठेरो महसुस गरेका उनलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँका चिकित्सकले मस्तिष्कघात पुष्टि गरेको मेयरका प्रेस संयोजक माधव बरालले बताए । चिकित्सकीय सल्लाहमै मेयरलाई शुक्रबार बिहान ११ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।
काठमाडौंको न्युरो अस्पतालमा मेयर जिसीलाई विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराइराखिएको उनका ज्वाइँ राम भण्डारीले जानकारी दिए । ‘अहिले स्वास्थ्य स्थिर छ, सुधारोन्मुख छ,’ भण्डारीले शुक्रबार साँझ भने । केही औषधी चलाइरहेको र त्यसबाट सुधार भए शल्यक्रिया गर्नुनपर्ने चिकित्सकको भनाइ रहेको भण्डारीले बताए ।
मेयर जिसीलाई अस्पतालमा दिउसो गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकी अध्यक्ष जगत विश्वकर्मा, उपमेयर मञ्जुदेवी गुरुङ, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतले भेटेका थिए । ‘बोलचाल गर्न सक्नुभएको थियो,’ पूर्वमुख्यमन्त्री गुरुङले भने । चिकित्सकहरुले मेयर जिसीको शरीर सुन्निँदै गएमात्रै शल्यक्रिया गर्नुपर्ने नत्र औषधीकै आधारमा सञ्चो हुँदै जाने बताएको जानकारी वडाध्यक्ष लामाले दिए ।
मणिपालका चिकित्सकहरुका अनुसार मेयर जिसीको मस्तिष्कको एउटा नसामा सामान्य अवरोध देखिएको छ । उनको देब्रेहरमा त्यसले असर गरेको छ । पोखराका विभिन्न व्यक्ति तथा संघसंस्थाले मेयर जिसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर मेयर जिसीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘काठमाडौंको न्युरो अस्पतालमा उपचाररत महानगर प्रमुख जिसीको पोखरा महानगरपालिका परिवार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’, नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारमा सम्लग्न चिकित्सक, प्रत्यक्ष तथा परोक्ष स्वास्थ्य अवस्था बारे सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’
शुक्रबार बिहान करिब ४ बजे उनलाई असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा पु¥याइएको प्रवक्ता नेपालीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मणिपाल शिक्षण अस्पपालमा उनको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या भएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया