२५ शय्याकाे अस्पताल बनाउँदै रुपा

समाधान संवाददाता २०७८ साउन ३ गते ११:५०

सञ्जय रानाभाट, पोखरा

कास्कीको रुपा गाउँपालिकामा २५ शय्याको अस्पताल बन्ने भएको छ । गाउँपालिकाले आधारभूत अस्पताल निर्माणका लागि २९ असारमा टेन्डर आह्वान गरेको छ । संघीय सरकारको कार्यक्रम अनुरुप अस्पताल निर्माण हुन लागेको हो ।
अस्पताल भवन पालिकाको फालभन्ज्याङमा बन्न लागेको हो । अहिले गाउँपालिकामा स्वास्थ्य चौकीहरु मात्र छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था अनुसार गाउँपालिकामा अस्पताल निर्माण हुन लागेको हो । केपी शर्मा ओली सरकारले एक गाउँ एक अस्पताल नारा दिएको थियो ।

तत्कालीन प्र्रधानमन्त्री ओलीले मंसिर १५ गते नै देशभर ३ सय ९ पालिकामा आधारभूत अस्पताल शिलान्यास गरेका थिए । त्यसमा रुपाको अस्पताल पनि थियो । यो अस्पताल २५ रोपनीमा बन्नेछ ।

Advertisement

संघीय सरकारबाट १८ करोड र गाउँपालकाले ४ करोड लगानीमा २५ शय्याको अस्पताल बन्न लागेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
गाउँपालिकामा स्वास्थ सेवा लिन लामो दुरीको यात्रा गरेर पोखरा नै आउनुपर्ने बाध्यता छ । अहिले नै रुपाले गाउँको स्वास्थ चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पतालका रुपमा सञ्चालन गरिरहेको छ । ‘कोभिड लागेका बिरामीलाई पनि गाउँपालिकाबाट ९० प्रतिशत निको गर्‍यो । कोभिड बिरामीलाई अक्सिजन प्लान्ट सहितका अहिले ३ डक्टर ७ जना कर्मचारीले सेवा दिइरहका छन् ।’

अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका ७ वटै वडा र लमजुङ र तनहुँका केही व्यक्तिले प्रत्यक्ष सेवा पाउने उनले बताए । ‘१३ वटा बहिरंग, प्रसूति, हाडजोर्नी, जनरल ल्याब, एक्सरे, भिडियो एक्सरे सहित ३२ किसिमका सम्पूर्ण आधारभूत सेवा हुनेछ,’ उनले भने । अस्पतालबाट ५० हजार मानिसले सेवा पाउने अध्यक्ष ओझाले बताए ।

Advertisement

‘आधारभूत अस्पताल यो भन्दा स्तरीय बनाउने उद्देश्यले निर्माण हुन लागेको हो,’ उनले भने, ‘बिरामीको चाप बढेपछि सबै सुविधा दिन अस्पताल निर्माण हुन लागेको हो । अन्यत्रभन्दा सर्वसुलभ मूल्यमा स्थानीयले सेवा पाउने छन् ।’

तपाईको प्रतिक्रिया