स्मार्ट सहरका लागि स्मार्ट पार्किङ

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:५०
sdr

समाधान संवाददाता

मुलुककै ठूलो महानगर पोखराको अव्यवस्थित पार्किङ समस्यालाई निदान गर्न कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान)कास्कीले पहल थालेको छ । बुधबार यहाँ आयोजित कार्यक्रममा क्यान कास्कीका पूर्वअध्यक्ष चण्डीप्रसाद अर्यालले सूचना प्रविधि (आइसिटी)को माध्यमबाट बजारको अस्तव्यस्त पार्किङलाई ‘एप’का माध्यमबाट व्यवस्थित गर्न सकिने धारणा सार्वजनिक गरे ।

‘सवारी संख्या वर्षेनी १२ प्रतिशतको अनुपातमा बढ्दै गइरहेको छ । सडक पूर्वाधार पुरानै स्वरुपमा छन्,’ उनले भने, ‘समयमै सहज किसिमबाट प्रविधिको प्रयोग गर्दै मुख्य सडक र चोकहरुमा पार्किङ समस्याको समाधान नभए भोलिका दिन अझ बढी असहज हुनेछ ।’ युरोप, जापान र अमेरिकाकै प्रविधि जस्तो तत्काल यहाँ प्रयोगमा ल्याउन नसकिएपनि उपलब्ध प्रविधि उपकरणमार्फत पार्किङ व्यवस्थापन गर्न सकिने सम्भाव्य रहेको उनले सुनाए ।

Advertisement

महानगर भित्र सवारी पार्किङका लागि क्यानले एपमा ३ किसिमका पार्किङ जोनको पहिचान गर्ने भएको छ । हरियो, नीलो र पहेँलो अकिंत पार्किङ जोनका लागि उपभोक्ताले अनलाइन मार्फत स्पेस हेरी सुविधा लिन सक्नेछन् ।

कम व्यस्त सडक र क्षेत्रलाई हरियो रङ, केही व्यस्त सडक र क्षेत्रलाई निलो र धेरै व्यस्त क्षेत्रलाई पहेँलो रङ अंकित जोनमा परिभाषित गरिएको छ । पार्किङका लागि क्षेत्र हेरेर शुल्क निर्धारण गरिने छ । प्रारम्भिक अध्ययनका लागि क्यानले पोखरा उद्योग वाणिज्य संघ, महानगरपालिका र सम्बद्ध यातायात कार्यालयसहितका निकायसँग सहकार्य गर्ने भएको हो ।

Advertisement

प्रविधिको प्रयोगमा जबसम्म नागरिकले दख्खल राख्दैनन् तबसम्म परिवर्तन ठोस रुपमा देखा नपर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । प्रविधि प्रयोगमा नागरिकहरु आजपनि अन्य मुलुकको तुलनामा पछाडि नै रहेकोले यसको प्रयोगबारे जानकारी नै पहिलो चरणको महत्वपूर्ण चुनौती रहेको सुनाए । पार्किङ महानगरलाई पनि टाउको दुखाइ भएकाले क्यानले तयार गर्ने अनलाइन पार्किङ सिस्टम आवश्यक भइसकेको जनाए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले सडकमा पार्किङकै कारण हुने सम्भावित घटना न्यूनीकरणका लागि स्मार्ट पार्किङको व्यवस्था प्रभावकारी हुने बताए ।

प्रविधिको प्रयोग र सुरक्षा चुनौती
प्रविधिको प्रयोगले विश्वलाई साँघुरो क्षेत्रमा सिमित त गरेको छ तर त्यससँगै जोडिएका चुनौतीसँग जानकार नहुँदा दिनप्रतिदिन समाजमा घटना भइरहेका छन् । प्रविधिको सही सदुपयोगमार्फत दैनिकी सहज बनाउन र सम्भाव्य घटनाहरुलाई न्यूनीकरण गर्न यहाँ अन्तत्र्रिmया गरिएको छ । प्रयोगमा आएका प्रविधि र भविष्यमा विकास हुने सम्भावित प्रविधि उपकरणबारे सोचवेरकी प्रमुख कार्यकारी निर्देशक इडा रिजालले जानकारी गराइन् ।

कार्यक्रममा नेपाल सरकारका आइटी विभाग एक्सपर्ट चिरञ्जीवी अधिकारीले प्रयोगमा आएका प्रविधिले ल्याएका चुनौतीबारे चर्चा गरे । इमेल, सामाजिक सञ्जाल र अन्य इन्टरनेटसँग सम्बन्धित डाटाहरु कसरी ह्याक हुन्छन् भन्नेबारे जानकारी दिए । साइबर क्राइमको सुरक्षा सर्तकता अपनाउनुपर्ने विधिबारे उनले सुझाएका थिए ।

तस्बिरः कार्यक्रममा प्रविधिको प्रयोग र सुरक्षा चुनौतीबारे चर्चा गर्दै चिरञ्जीवी अधिकारी ।

तपाईको प्रतिक्रिया