४ वर्ष नपुग्दै गण्डकीमा ४ प्रदेश प्रमुख

समाधान संवाददाता २०७८ साउन १३ गते १२:०४


नयाँ प्रदेश प्रमुख गुरुङ कास्कीमा जन्मिएका, पिएन क्याम्पसको प्राध्यापन छोडेर राजनीतिमा लागेका
समाधान संवादादता
, पोखरा

गण्डकी प्रदेशमा ४ वर्ष नपुग्दै ४ जना प्रदेश प्रमुख भएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ मा पहिलोचोटि उनले नै ७ वटै प्रदेशमा प्रमुखहरु सिफारिस गरेका थिए । उनकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । मंगलबार फेरि देउवा मन्त्रिपरिषदले गण्डकीमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।
कांग्रेसका पुराना नेता पृथ्वीमान गुरुङलाई सरकारले गण्डकी प्रदेश प्रमुखका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले चितवनका गुरुङलाई गण्डकी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस निर्णय गरेको थियो । चितवनकै अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

Advertisement

नयाँ सिफारिससँगै प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई राष्ट्रपति भण्डारीले मंगलबार नै पदमुक्त गरेकी छन् । साथै पौडेलको ठाउँमा गुरुङ र यादवको ठाउँमा शेरचनको नियुक्ति गरेकी छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर–२६ स्थित दिव्यनगरका अमिक शेरचन लुम्बिनी र पृथ्वीमान गुरूङ गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।
संयोग कस्तो भने गण्डकीकी निवर्तमान प्रदेश प्रमुख पौडेल पनि चितवनकी हुन् ।

उनका पूर्वाधिकारी अमिक शेरचन पनि चितवनकै थिए र अहिलेका पृथ्वीमान गुरुङ पनि सोही जिल्लाका परेका छन् । पौडेल र गुरुङको पुख्र्याैली थलो पनि कास्की हो । गुरुङ २००६ सालमा घलेल गाउँमा जन्मिएका हुन् । पौडेलको पुख्र्यौली थलो पुरन्चौर हो । हाल चितवनको स्थायी बासिन्दा भए पनि शेरचनसमेत गण्डकी प्रदेश नै पुख्र्याैली थलो भएका नेता हुन् । उनी म्याग्दीमा जन्मिएका थिए ।

शेरचन र गुरुङको घर भरतपुरबाट करिब २० किलोमिटर पश्चिम दिव्यनगरमा पर्छ । भरतपुर–मेघौली सडकसँगै उनीहरूको घर करिब ३०० मिटरको दूरीमा छ । मेघौलीतर्फ जाँदा दायाँतर्फ थकाली चोकमा शेरचनको र बायाँतर्फ धर्मभकारी चोकमा गुरूङको घर छ ।

२०४८ सालमै चितवनमा कांग्रेसबाट संसदीय चुनावको उम्मेदवार बनेका गुरुङ राष्ट्रिय राजनीतिमा खासै चर्चामा नरहेका कारण अहिलेसम्म कुनै पनि पदमा पुगेका छैनन् । कांग्रेस वृत्तमा पूराना नेता भए पनि खासै चर्चामा नरहेका कारण सरकारले प्रदेश प्रमुखमा उनको नाम सिफारिस गरेपछि गुरुङप्रति धेरैको चासो बढेको छ । गुरुङ र शेरचन ४८ सालको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार थिए । जनमोर्चाका उम्मेदवार शेरचनले कांग्रेस उम्मेदवार गुरुङलाई पराजित गरेका थिए । जनमोर्चालाई तत्कालीन एमालेले समर्थन गरेको थियो ।

Advertisement

२०७४ सालको आमनिर्वाचनको नतिजा आइसकेपछि र नयाँ सरकार बन्ने पक्का भइसकेपछि तत्कालीन प्रधानमन्त्री देउवाले साविक प्रदेश ४ मा अर्घाखाँचीका बाबुराम कुँवरलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए । केपी ओली प्रधानमन्त्री २०७४ फागुन ३ गते भएका थिए । तर उनले तत्काल प्रदेश प्रमुखहरु हटाएनन् । २ वर्षपछि भने सत्तासाझेदार दल माओवादीसँग भागबन्डामा ७ वटै प्रदेशमा प्रमुखहरु नयाँ नियुक्त गरेका थिए । एमाले माओवादी विभाजनपछि र गण्डकी प्रदेशमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकार धर्मराएपछि ओलीले प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीताकुमारी पौडेल नियुक्त गरेका थिए । ओली सरकारले नै नियुक्त गरेका प्रदेश १ का सोमनाथ अधिकारी प्यासी, २ का राजेश झा अहिराज लगायतलाई भने देउवा सरकारले मंगलबार हटाएन ।

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङ प्रधानमन्त्री देउवाका विश्वासिला सहकर्मी पनि हुन् । उनी देउवाले कांग्रेस फुटाएर बनाएको नेपाली कांग्रेस प्रजातान्त्रिकको चितवन सभापति पनि भएका थिए । २०२४ सालमा काठमाडौंमा गण्डकी छात्र संघको सदस्य भएर राजनीति सुरु गरेका गुरुङले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । बिपी कोइरालासँग समेत संगत गरेका गुरुङले स्नातकोत्तरपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन पनि गरेका थिए । २०३४÷३५ सालमा प्राध्यापनसँगसँगै भूमिगत रुपमा नेपाली राजनीतिमा लागेका उनी कांग्रेस भएकै कारण पञ्चायतबाट पृनाको जागिर खोसुवामा परेका थिए । त्यसपछि उनले २०३६ सालको जनमत संग्रहमा कास्कीमै बसेर बहुदलको पक्षमा लागेका थिए । पछि चितवनबाट उनले २०४८ सालको आमनिर्वाचनमा उम्मेदवार बन्ने मौका पाए । २०७४ सालको निर्वाचनमा कांग्रेसबाट समानुपातिक उम्मेदवार बनेका गुरुङ सुकुम्बासी समस्या समाधान आयोगको पूर्व सदस्य पनि हुन् ।

मंगलबारकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले यही साउन २६ गतेदेखि लागु हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदैछन् ।

तपाईको प्रतिक्रिया