मन्त्री बढे, क्वाटर पुर्याउन सकस, २ मन्त्री घरमै, २ डेरामा

समाधान संवाददाता, पोखरा
अरु मन्त्री सरकारी आवासमा बसिरहँदा मन्त्री कुमार खड्का र बिन्दुकुमार थापा घरबाट मन्त्रालय आउजाउ गरिरहेका छन् । पोखरामै घर हुनाले उनीहरुलाई सजिलो प¥यो । पोखराको पुम्दीका घर भए पनि रामजीप्रसाद बराल भने बजारमा डेरामै बस्थे, अर्थमन्त्री भएपछि मन्त्री क्वार्टर सरेका छन् । थापा र खड्काले चाहे भने पनि क्वार्टरमा बस्न पाउने अवस्था छैन । किनभने गण्डकी प्रदेश सरकारमा जति मन्त्री छन्, त्यतिका लागि पुग्ने मन्त्री क्वार्टरको व्यवस्था छैन ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई पनि सरकारी आवास छैन, उनी डेरामै बस्छन् । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पनि मन्त्री क्वार्टर पाएका छैनन् । डेरामै बसिरहेका छन् ।
यसअघि, पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारमा धेरै समय ७ र १ महिनाजति ८ जना मन्त्री थिए । मुख्यमन्त्रीसहित ७ जना मन्त्रीका लागि क्वार्टरको बन्दोबस्ती थियो । तर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ८ साउनमा मन्त्रिमण्डल विस्तार गरी ११ सदस्यीय बनाएपछि ४ जनालाई क्वार्टर नपुगेको हो ।
नयाँ संविधान कार्यान्वयन स्वरुप प्रदेश सरकार गठन भएपछि तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय प्रशासन र कास्की जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरुका लागि कार्यालय र क्वार्टरहरु व्यवस्था गरेका थिए । राष्ट्र बैंक चोकमा प्रमुख जिल्ला अधिकारीका लागि नवनिर्मित निवास मुख्यमन्त्रीका लागि छुट्टयाइएको थियो । त्यसैमा अघिल्ला र वर्तमान मुख्यमन्त्रीको सरकारी आवास छ ।
सुरुमा त प्रथम मुख्यमन्त्री गुरुङ पोखरा महानगरपालिकाको ड्यामसाइडस्थित आवासमा बसेका थिए । सिँचाइ कार्यालयले राष्ट्र बैंक चोक र ड्यामसाइड बीचका आवास गृहहरुलाई नै मन्त्री क्वार्टर बनाइएको छ । त्यहाँ, अर्थ, वन तथा वातावरण, कृषि, ऊर्जा तथा सिँचाइ लगायतका मन्त्रीको क्वार्टर छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद २ पटक गरी पूर्ण बनाएका हुन् । आफूले नियुक्ति र सपथ लिएकै दिन २९ जेठमा उनले कुमार खड्का, हरिशरण आचार्य, मधुमाया अधिकारी र राजीव गुरुङलाई मन्त्री बनाएका थिए । पछि असार ८ गते ६ जना मन्त्री थपे । सुरुमा मन्त्री भएका खड्का सुरुदेखि नै घरमै बसेका हुन् । ८ असारमा मन्त्री भएका बिन्दुकुमार थापा पनि घरमै बसिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुन बस्दै आएको स्वास्थ्य तालिम केन्द्रको आवास रानीपौवामा बसेकी छन् । मन्त्रीहरुलाई क्वार्टर र मन्त्रालय व्यवस्थापन पनि चुनौतीपूर्ण भएको छ । पहिलाको क्षेत्रीय शिक्षा कार्यालय पार्दीमा सामाजिक विकास मन्त्रालय थियो । उक्त मन्त्रालय टुक्रा पारी ३ वटा बनाइएको छ । मधुमाया अधिकारीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय टुंगो लागेपछि उनको मन्त्रालय हस्पिटचोकको प्रदेश स्वास्थ्य निर्देशनालयको भवनमा राखिएको छ ।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उपभोक्ता हित निर्देशनालयको भवन मासबारमा छ । ऊर्जा तथा सिँचाइ मन्त्रालय जो पहिलाको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतकै विधा हो, त्यसलाई ड्यामसाइड लगिएको छ । पहिलाको भौतिक पूर्वाधार विकास मन्त्रालयमा भौतिक पूर्वाधार, सहरी विकास तथ यातायात मन्त्रालय छ । पहिलाको साामजिक विकास मन्त्रालय भएको भवनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र युवा तथा खेलकुद मन्त्रालय छ ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय र अर्थ मन्त्रालय भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भएकै भवनमा छन् । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय पहिलाकै कृषि मन्त्रालयमा राखिएको छ । मन्त्री चन्द्रबहादुर बुढा सोही मन्त्रालयको क्वार्टरमा बसेका छन् । वन तथा वातावरण मन्त्रालय साबिक मन्त्रालय भवनमा छ र मन्त्री दीपक थापा सोही मन्त्रालयकै मन्त्री क्वार्टरमा छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्का ४ जना मन्त्रीलाई क्वार्टर नपुगेको देखिए पनि आफू र अर्का मन्त्री बिन्दुर थापा घरमै बस्ने बताउँछन् । संघीय सरकारका मन्त्रीहरु भने काठमाडौंमा घर भए पनि मन्त्री क्वार्टरमै बस्छन् । किनभने सरकारी आवास मन्त्रीका लागि भनेर सचिवालय, आगन्तुक प्रतीक्षा कक्ष लगायत आवश्यक प्रबन्धसहित निर्मित हुन्छ । २ मन्त्रीहरु मेखलाल श्रेष्ठ र मणिभद्र शर्मालाई अहिले डेरामै बस्न अनुरोध गरिएको मन्त्री खड्काले सुनाए । ‘केही महिनामै २ वटा मन्त्री क्वार्टर निर्माण पूरा हुँदै छ, त्यसपछि पुग्छ, हामी त घरमै बस्छौं,’ उनले भने । मन्त्री बढ्दा कार्यालय र क्वार्टरका जस्तै गाडी लगायत सुविधा व्यवस्थापन गर्न कठिन भएको भौतिक मन्त्रालयका १ अधिकारीले बताए ।
….
राष्ट्र बैंक चोक र ड्यामसाइडबीचमा निर्माणाधीन मन्त्री क्वार्टर । तस्बिर : समाधान









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया