महामारीमा खट्ने कर्मचारी सम्मानित

समाधान संवाददाता
पोखरा-निजामति कर्मचारी आन्दोलनका सहिदहरु मनोज जोशी र झपेन्द्र कार्कीको स्मृति दिवस २०७८को अवसरमा नेपाल निजामति कर्मचारी संगठन कास्कीले कोभिड १९रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने ४ क्षेत्रका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।
संगठनले झपेन्द्र स्मृति पार्क सरसफाइ, सहिदको सम्झनामा द्वीप प्रज्वलन तथा पोखरा २० भलाममा रहेको हरिहर गुफा आश्रमका ज्येष्ठ नागरिकलाई २६ हजार ८ सय ४० आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष अशोक खनालले जानकारी दिए ।नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले नर्सिङतर्फगण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथकी नम्रता बास्तोला, ल्याब टेक्नोलोजिस्टतर्फ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका महेश्वर तिमिल्सिना, एम्बुलेन्स चालकतर्फ नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र पोखराका ईन्द्रबहादुर थापा र कार्यालय सहयोगीतर्फगण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराका दीपकराज काफ्लेलाई दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरे ।
अध्यक्ष थापाले संगठनमा आवद्ध कर्मचारीले जनतालाई उत्कृष्ट सेवा प्रदान गर्नुका अलवा सामाजिक तथा रचनात्मक काम गरेको बताए । नेकपा एमाले जिल्ला कमिटी कास्की सचिव दामोदर बैरागीले समग्र कर्मचारीलाई संगठनमा गोलबद्ध गर्दै सेवाग्राहीप्रति जिम्मेवार भएर काम गर्न सुझाव दिए ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कास्की अध्यक्ष भरतप्रसाद भुसालले संगठनलेगण्डकी प्रदेशमा कार्यरत समग्र कर्मचारीको सेवा, सर्त र सुविधा वृत्ति विकासको व्यवस्था गर्न गण्डकी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।‘संगठनले पेशागत हकहित र कर्मचारी मैत्री कानुन निर्माण गर्न माग गरेको छ,’उनले भने, ‘संगठनमार्फत कर्मचारीको सरुवा, बढुवा, पदस्थापना लगायत कार्यलाई पारदर्शी बनाउन आवाज उठाएको छौं ।’
उनले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन लाग्ने बताए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कास्कीका अध्यक्ष अशोक खनाल, सचिव रामचन्द्र पहारीले सहिद मनोज र झपेन्द्रको निजामती कर्मचारीको आन्दोलन र राजनीतिक आन्दोलनमा योगदान रहेको उल्लेख गरे ।
बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि निरंकुश पञ्चायती व्यवस्थाका पक्षधरले तत्कालीन जिल्ला पञ्चायत कार्यालय कास्कीमा गरेको आगजनीको विरोधमा २०४७ वैशाख १७ गते भएको प्रदर्शनमा प्रहरीको गोली लागी झपेन्द्र कार्कीको निधन भएको थियो । खोटाङको दिक्तेलमा २०४८ साउन १५ गते निजामती कर्मचारीको आन्दोलनमा मनोज जोशीले सहादत प्राप्त गरेका थिए ।
तपाईको प्रतिक्रिया