चार्टर्ड एकाउण्टेण्ट्स संघ कास्की र मेडिप्लसबीच सम्झौता

समाधान संवाददाता २०७८ साउन १८ गते १२:१६


समाधान संवादादता, पोखरा

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) कास्की र मेडिप्लस् हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार संस्थामा आवद्ध सदस्यहरु र सदस्यका आश्रित परिवारहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा उल्लेख भए अनुसार हस्पिटलबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरुमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका सदस्यहरुले २०प्रतिशत र सदस्यका आश्रित परिवारहरुले १५प्रतिशतसम्म छुट पाउने छन् ।

Advertisement

सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कास्कीका तर्फबाट संयोजक सागर लामिछाने र मेडिप्लस हस्पिटल तर्फबाट अध्यक्ष रमेशकुमार थापाले हस्ताक्षर गरेका थिए । अध्यक्ष थापाले मेडिप्लस हस्पिटल गण्डकी प्रदेशकै पहिलो ट्रमा सेन्टर रहेको र अहिलेको महामारीमा पनि स्वास्थ्य सेवामा अग्रणी भूमिकामा रहेर काम गरिरहेको र संघसगँ आबद्धता पश्चात चार्टर्ड एकाउण्टेण्ट्स व्यवसायीसँगको सहकार्यमा स्वास्थ्य सेवा अझ विस्तारित रुपमा दिने सकिने आशा व्यक्त गरे । संयोजक लामिछानेले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ केन्द्रीय समितिले पनि काठमाडांैमा दुईवटा हस्पिटल मार्फत स्वास्थ्य सेवामा सहकार्य गरेको र कास्की जिल्लामा पनि यो सम्झौता पश्चात संघका सदस्यलाई त्यस्तै सेवा दिन सकिने जानकारी दिए । यसले समग्र चार्टर्ड एकाउण्टेण्ट्स सदस्य तथा हस्पिटलको पारस्परिक हित हुने धारणा उनले व्यक्त गरे । उक्त समारोह संघका सचिव दीपक भूर्तेलले सञ्चालन गरेका थिए ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ विसं २०३४ सालमा स्थापना भएको गैर–नाफामूलक, गैर–राजनीतिक तथा चार्टर्ड एकाउण्टेण्ट्स हरुको एकमात्र पेसागत संघ हो । यसको मुख्य उद्देश्य देशमा लेखा व्यवसायको संरक्षण एवम् सम्बर्दन गरी सुव्यवस्थित एवम् सुचारु रुपले लेखा व्यवसाय सञ्चालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । मेडिप्लस हस्पिटल विभिन्न विशेषज्ञ सेवा सहित छोटो समयमै पोखरामा स्थापित हस्पिटल हो ।

Advertisement

तपाईको प्रतिक्रिया