मातृभूमिका पहिरोपीडितलाई विदेशबाट राहत

समाधान संवाददाता
पोखरा -घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले घान्द्रुकका पहिरो पीडितलाई राहत दिएका छन् । १५ लाख १ हजार ७ सय ७० रूपैयाँ घान्द्रुकका समाज हङकङका पूर्वअध्यक्ष चन्द्र गुरूङ, सचिव दीपक गुरूङ र घान्द्रुक समाजबेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरूङले शुक्रबारप्रदान गरेका हुन् ।
घान्द्रुक समाज हङकङ अध्यक्ष दुर्गा गुरूङको नेतृत्वमा १२ लाख ९१ हजार ७ सय ७० र घान्द्रुक समाज बेलायतमा २ लाख १० हजार संकलनभएको थियो । गत असार १ गते गाउँपालिका वडा नं १० र ११ का विभिन्न ठाउँमा पहिरोले २ घर बगाएर पूर्ण क्षति, २ घर उच्च जोखिम, ७ घर, परिवारमा क्षति पुगेको थियो ।
रोजगारीका शिलशिलामा हङकङ र बेलायत रहेका घान्द्रुक समाजमा आवद्ध सदस्यबाट रकम संकलन गरी रकम सहयोग गरिएको घान्द्रुक समाज हङकङका सचिव एवं कार्यक्रम संयोजक दीपकगुरूङले बताए । राहत पाउनेमा घर पूर्ण क्षति भएका चिजकुमारी र मैतसिं गुरूङको परिवार छन् । यी परिवारलाई हङकङको तर्फबाट ४ लाख १६ हजार ७ सय ७० रबेलायतको तर्फबाट १ लाख २० हजार प्रदान गरियो ।
हरिकला गुरूङलाई १ लाख र छवि राना मगरलाई हङकङको तर्फबाट १ लाख र बेलायतकोतर्फबाट ४० हजार नगद सहयोग प्रदान गरिएको छ । पहिरोका कारण विस्थापित भएका बुद्धिबहादुर परियार र मनभुजा परियारलाई हङकङको तर्फबाट जनही १ लाख र बेलायतको तर्फबाट २० हजार उपलब्ध गराइएको छ ।घरमा क्षति भएका रामप्रसाद गुरूङ र दीपक गुरूङको परिवारलाई जनही ५० हजार, कमला जैसी, रोजन विक, टेकबहादुर पौडेल, राजमानगुरूङ र खड्कबहादुर जैसीलाई जनही ३५ हजार प्रदान गरिएको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए ।
अन्नपूर्ण १० घान्द्रुकको जनप्रेमी आधारभूत विद्यालय पुनर्निर्माणका लागि घान्द्रुक समाज हङकङले २ लाख र बेलायतले ५० हजार दिएका छन् । अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, घान्द्रुक समाज हङकङका पूर्व अध्यक्ष चन्द्र गुरूङ, सचिव दीपककुमार गुरूङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरूङले विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर विक, भवन निर्माण समिति अध्यक्ष सोमप्रसाद गुरूङ र प्रधानाध्यापक बाबुराम सापकोटालाई संयुक्त रूपमा रकम हस्तान्तरण गरे ।
घान्द्रुक समाज बेलायतले अन्नपूर्ण क्लब किम्चेको भवन निर्माणका लागि ५० हजार दिएको छ । कार्यक्रममा पहिरोबाट प्रभावित ११ घर, परिवारलाई ११ बन्डल रंगिन कर्कटपाता गाउँपालिकाको तर्फबाट अध्यक्ष कुँवरले प्रदान गरे । कुँवरले रोजगारीको सिलसिलामा देश विदेशमा रहेर पनि आफ्नो गाँउठाँउमा बिपत पर्दा गरेको सहयोग प्रशंसनीय भएको बताए । कार्यक्रम रोधी क्लब घान्द्रुक अध्यक्ष पूर्ण गुरूङको अध्यक्षतामा भएकोथियो ।
तपाईको प्रतिक्रिया