मुस्ताङमा ६ हजार बोट गाँजा नष्ट

समाधान संवाददाता २०७८ साउन २१ गते १७:५१


सुन्दरकुमार थकाली \ जोमसोम

Advertisement

हिमाली जिल्ला मुस्ताङमा प्रहरीले अव्यवस्थित रुपमा पलाएका गाँजाको बोट नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङ र प्रहरी चौकी कोवाङको सक्रियतामा गाँजाको बोट नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेल र प्रहरी चौकी कोवाङका सहायक प्रहरी निरीक्षक नेत्र जिटीको संयुक्त प्रहरी टोलीले बिहिबार थासाङ गाउँपालिका—२ कोवाङ र खन्ती लगायतका क्षेत्रको खेतबारी र खाली जग्गामा पलाएका ६ हजार बोट गाँजा नष्ट गरिएको हो ।
कानुनले गाँजा खेतीलाई लागु पदार्थको रुपमा सूचिकृत गरी निषेध गरेको छ । गाँजा र चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुनसक्ने भएकाले प्रहरीले गाँजाको बोट नष्ट गरेको जिप्रका मुस्ताङले जनाएको छ । प्रहरीले शुक्रबार थासाङ—३ लेतेमा प्राकृतिक रुपले पलाएका गाँजाको बोट नष्ट गरेको जनाएको छ ।
मुस्ताङमा गाँजा खेती नभएपनि प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोट नष्ट गर्ने अभियान चलाएको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया