१ डाक्टरका भरमा अस्पताल

सुन्दरकुमार थकाली
जोमसोम – हिमाली जिल्ला मुस्ताङको भूगोल विविधतापूर्ण छ । सुन्दर तर विकट मुस्ताङ सडक सञ्जालसँग जोडिएपछि धेरैको पहुँचमा त पुगेको छ नै, विकास, निर्माणका काम पनि धमाधम भइरहेका छन् ।
बाटो विस्तारसहित विकास, निर्माणका काम धमाधम भएपछि यहाँको जनजीवनमा उल्लेखनीय परिवर्तन आएको छ । अरु क्षेत्रको परिवर्तनको दाँजोमा स्वास्थ्य सेवा यहाँ अझै जनताको पहुँचमा पुग्न सकेको छैन । सदरमुकाम जोमसोममा रहेको जिल्ला अस्पताल पछिल्लो समय सेवामैत्री बन्दै गएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुस्ताङ जिल्ला अस्पतालका लागि आवश्यक स्रोत, साधन जुटाएपछि अस्पतालको सेवा प्रवाह फराकिलो बनेको हो । अस्पतालको सेवा विस्तार हुँदै गए पनि पछिल्लो समय मुस्ताङ अस्पतालमा आवश्यक चिकित्सक छैनन् । अहिले १ जना आठौं तहको निमित्त मेडिकल सुपरिटेन्डेन्टको भरमा पूरै अस्पताल चलिरहेको छ ।
अस्पतालमा नवौं तहका १ जना र आठौं तहका १ जना चिकित्सकसहित १८ जनाको दरबन्दी छ । यसअघि नेपाल सरकारले खटाएका ४ जना करारका अस्थायी चिकित्सकको कार्य अवधि सकिएको छ । अस्पतालमा २ अनमी र २ अहेबसहित अन्य स्वास्थ्यकर्मी मात्र छन् ।
मुस्ताङ अस्पतालले करारका चिकित्सकको सम्झौता सकिएकाले तत्कालै चिकित्सक खटाईदिन स्वास्थ्य सेवा विभाग तथा प्रदेश सरकारलाई पटक पटक पत्राचार गरिसकेको छ । सेवा प्रवाहका लागि संघ तथा प्रदेशले चासो नदिएको अस्पतालको भनाइ छ ।
अस्पतालका लागि चाहिने आवश्यक चिकित्सक जनशक्ति पदपूर्ति नहुँदा अस्पतालका निमित्त मेसु एक्लैले २४ सै घण्टा बिरामीलाई सेवा दिनुपर्ने वाध्यता छ ।
निमित्त मेडिकल सुपरिटेन्डेन मनोज घिमिरे सिमित स्वास्थ्य स्रोत, साधनका कारण सेवा प्रभाव साँघुरो बनेको बताउँछन् । मुस्ताङ जिल्ला अस्पतालका लागि गण्डकी प्रदेश सरकारले स्रोत साधन उपलब्ध गराउन थालेसँगै सेवा प्रभावमा क्रमशः सुधार हुन थालेको निमित्त मेसु घिमिरेको भनाइ छ । प्रदेशले ५ लाख लागतमा २ थान रगत जाँच गर्ने उपकरण अस्पताललाई पठाएको छ । अहिले शरीरको चिल्लो पदार्थ र मृगौला जाँचसमेत हुने उनले बताए ।
प्रदेशको आपूर्ति केन्द्रबाट सुगर जाँच गर्ने अर्को उपकरणसमेत आएको छ । प्रदेश सरकारले ल्याबका लािग ३ थान ाउपकरण पठाएको र अस्पताललाई अझै थाइराइड र हर्मोन जाँच गर्ने मेडिकल उपकरण खाँचो रहेको ल्याब टेक्निसियन गोबिन्दबहादुर महतोले जानकारी दिए ।
मुस्ताङ अस्पतालका लागि प्रदेश सरकारले बिरामीलाई राख्ने सुविधायुक्त १० थान बेड उपलब्ध गराएको छ । यस्तै, प्रदेशले मुटुको गति नाप्ने ९ लाख पर्ने २ मेडिकल उपकरण पनि पठाएको छ । प्रदेश सरकारकै सहयोगमा ५५ लाख लागतमा अक्सिजन प्लान्ट अस्पतालमा जडान भइसकेको छ ।
प्लान्ट जडान भए पनि अक्सिजन भर्ने बुस्टर उपलब्ध हुन सकेको छैन । अस्पतालले बुस्टर खरिद कार्यअघि बढेको जनाएको छ । प्रदेशकै सहयोगमा अस्पतालको १६ वटै बेडमा पाइपलाइनमार्फत अक्सिजन पु¥याइएको छ । अक्सिजन लाइन तथा व्यवस्थापन गर्न प्रदेशले ८ लाख ९९ हजार पठाएको थियो ।
मुस्ताङ जिल्ला अस्पताललाई २५ शड्ढयामा रुपान्तरण गर्ने गरी गण्डकी प्रदेश सरकारले १२ करोड लागतमा भवन निर्माण थालेको छ । भौगोलिक रुपले विकट मुस्ताङमा अस्पताल स्थापना कालदेखि नै शल्यक्रियाको सुविधा छैन । यो सुविधा नहँुदा जिल्लाका बिरामीलाई अन्यत्र लैजानुपर्ने बाध्यता छ । अस्पतालले स्थानीय तहसँग सम्झौता गरी शल्यक्रियाको सुविधा दिन पहल थालेको छ ।
जिल्लामै शल्यक्रियाको सुविधा दिने उद्देश्यका साथ नवौं तहका चिकित्सकका साथै आवश्यक स्रोत, साधन जुटाउन मुस्ताङका स्थानीय तह सहमत भएका छन् । यसका लागि मुस्ताङका स्थानीय तहले मासिक २० हजार अस्पताललाई दिने सहमति गरेका छन् । शल्यक्रियाका अतिरिक्त उपकरण, भौतिक संरचना, जनशक्ति लगायतको व्यवस्थापनका लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
जिल्ला अस्पताल मुस्ताङले गण्डकी प्रदेशको एकद्वार संकट व्यवस्थापन केन्द्रको समन्वयमा लैंगिक हिंसामा परेका व्यक्तिलाई निशुल्क खाने, बस्ने र उपचारको व्यवस्था गरेको छ । अहिले अस्पतालले सामान्य अप्रेसन, ल्याब परीक्षण, नसर्ने रोगको निशुल्क उपचार, जनरल भिडियो एक्सरे, आमा सुरक्षा कार्यक्रम लगायतका सेवा प्रवाह गरेको छ । अस्पतालले चालु वर्षदेखि स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बिमाबाट प्राप्त हुने सुविधा दिने तयारीसमेत गरेको छ ।
मुस्ताङ जिल्ला अस्पताल जिल्लाकै सर्वोत्कृष्ट कार्यालयको रुपमा सम्मानित भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयले मुस्ताङ अस्पताललाई उत्कृष्ट कार्यालय घोषित गर्दै नगद २० हजार पुरस्कारसहित सम्मान गरेको हो ।
तपाईको प्रतिक्रिया