लकडाउनमा सेवा गरे, खोप पाएनन्

२९ अत्यावश्यक सेवामा खाद्यान्न पनि पर्छ । तर खोपको प्राथमिकतामा परेनन् खाद्यान्न व्यवसायी
सञ्जय रानाभाट
पोखरा- लकडाउनको समयमा दुईथरी व्यवसाय खुलै भए । एक, औषधी र अर्काे खाद्यान्न । जब कोरोना भाइरस विरुद्धको खोप आयो तब पहिलो प्राथमिकतामा परे स्वास्थ्यकर्मी जसले उपचार गरेर बिरामीको ज्यान जोगाए । औषधीवालाहरु पनि स्वास्थ्यकर्मी नै परे । खोप पाए ।
स्वास्थ्यकर्मीपछि पत्रकार, सुरक्षाकर्मी, बैंकर र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए । खोप आयात बढ्दै आउँदो पालो आयो—शिक्षक र यातायातकर्मीको पनि । लकडाउनका बेला न यातायात सेवा चलेको थियो न शैक्षिक संस्था । बरु जस्तै कडा लकडाउन र निषेधाज्ञामा साँझ, बिहान गरीगरी पनि खुलेका हुन् खाद्यान्न पसल । तर तिनै पसलेको भने आजसम्म खोपको पालो आएको छैन । खुल्न आजसम्म पनि रोक लगाइएका होटल र रेस्टुरेन्टवालाको पालो आउँदा आफूहरुलाई भने सरकारले वास्ता नगरेको खाद्यान्न पसलेहरु बताउँछन् ।
खोप उपलब्ध गराइदिन बारम्बार जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर सिडिओलाई पत्र बुझएको खुद्रा व्यापार संघ कास्कीका अध्यक्ष लीलाधर चपाईंले बताए । भन्छन्, ‘३ चोटि भेटियो, एकचोटि भने पत्र नै बुझाइयो । सिडिओले हामीलाई खोप उपलब्ध गराउने बाचा गरे पनि अझैसम्म खोप पाइएको छैन ।’
पोखरा १२ चापापानीमा सोनु एन्ड सनम स्टोर्स चलाइरहेका श्रीकृष्ण लामिछाने कोरोनाको पर्वाह नगरी सेवा गर्नेहरुलाई सरकारले भुलेको बताउँछन् । भन्छन्, ‘स्वास्थ्यकर्मीले उपचार गरे, हामीले खाद्यान्न उपलब्ध गराएर प्राण धान्यौं । हाम्रो सेवा कुन हिसाबे कम्ती भयो ?’ रोगको पर्वाह नगरी खाद्यान्न पसल लकडाउनमा पनि खुलाउनुपरेको उनी सुनाउँछन् । भन्छन्, ‘पसलमा यो आइज त्यो आइज भन्न नमिल्ने । प्रत्येक दिन अन्जान व्यक्तिसँग सम्पर्क हुन्छ । कोभिडको जोखिममा हामी छौं ।’
सरकारले तोकेका २९ अत्यावश्यक सेवामा खाद्यान्न पनि पर्छ । पोखरामा १७ सय खाद्यान्न व्यवसाय दर्ता रहेको चपाईंले बताए ।
१ खाद्यान्न पसल बराबर १ खोप अनिवार्य गर्नुपर्ने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् । उनले भने, ‘खुद्रा व्यावसाय जस्ले दैनिक सेवा प्रवाह गर्छन् । जसले विहान बेलुका दाल भात र तरकारी खान सेवा प्रवाह गर्छन् । जसरी हुन्छ पहिलो प्रथामिकतामा राखेर खोप उपलब्ध गराउनुपर्छ ।’
व्यवसायीको माग अनुसार पोखरा उद्योग वाणिज्य संघलाई १५ सय डोज खोप उपलब्ध हुने भएको छ । तर व्यवसायीका लागि भनिएको त्यो खोपको प्राथमिकतामा पनि खाद्यान्न व्यवसायी पर्छन्, पर्दैनन् थाहा छैनन् ।
संघका अध्यक्ष नारायण कोइराला व्यवसायको नाममा अहिलेसम्म कसैले खोप नपाएको बताउँछन् । भन्छन्, ‘सम्पूर्ण व्यवसायीलाई खोप लगाएर सुरक्षित भएर व्यवसाय सञ्चालन गर्ने अधिकार छ ।
सम्पूर्ण व्यवसायले खोप पाउनुपर्ने हाम्रो माग हो ।’ संघमा ३२ सयजना सदस्य छन् । तर पोखरा महानगरले १५ सयमात्र खोप दिँदा कसलाई दिने कसलाई नदिने भन्ने अन्योल भएको पोउवा संघ अध्यक्ष कोइराला बताउँछन् ।
लेखनाथ उद्योग वाणिज्य संघलाई ९ सय र पर्यटनकर्मीलाई २५ सय खोप महानगरपालिकामार्फत लगाइने भएको छ । त्यसरी आएको खोप पनि आफूहरुलाई प्राथमिकताका साथ दिनुपर्ने खाद्यान्न व्यवसायीको माग छ ।
तपाईको प्रतिक्रिया