१० टेम्पु भाडामा लिएर ‘युनिक स्वयंसेवक’को धन्दा चन्दा

—दैनिक १२ सयका दरले १० वटा टेम्पु भाडामा लिएर पोखराका टोलटोल र चोकचोकबाट चन्दा संकलन
—यसअघि दर्जन जनाका नाममा चन्दा संकलन गरिसकेका, यसपालि १२ जिल्ला घुमेर पोखरामा साता दिन बसेर बागलुङ जाने तयारी
पोखरा, ४ भदौ
टेम्पुमा माइकिङ गर्दै मिर्गाैला पीडितलाई सहयोग माग्दै गरेको केही दिनयता कतिपय पोखरेलीले ख्याल गरेको हुनुपर्छ । कहिले बैदाम, कहिले लेखनाथतिर त कहिले पोखराका गल्लीगल्लीमा त्यस्तो माइकिङ भइरहेको थियो । कति ठाउँका चोकहरुमा चाहिँ केही समय टेम्पु बिसाएरै घन्टौं वा दिनभरजसो आर्थिक सहयोगको अपिल पनि भइरहेको थियो । यस्तो दृश्यमा जब प्रहरी नजर प¥यो, शंका लाग्यो ।
बुझ्दै जाँदा त्यसरी सहयोगको अनुरोध गर्नमात्रै पोखरा महानगरपालिकाभित्र १० वटा टेम्पु खटिएका रहेछन् भन्ने पत्ता लाग्यो । जे भनेर चन्दा संकलन गरिएको थियो, त्यसका लागि कतैबाट अनुमति लिएको प्रमाण पनि भेटिएन ।
इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी महेन्द्र मरासिनी नेतृत्वको टोलीले तिनैलाई पछ्याउँदै जाँदा प्रहरीले टेम्पुवाला पोखरा २६ विजयपुरस्थित न्यु हाईवे स्टाफ होटल एन्ड लजमा बस्ने गरेको भेटेको थियो । त्यहाँ त एक वा दुई होइन १० वटा टेम्पु भेटिए ।
मिर्गाैला पीडितका लागि भन्दै ठाउँठाउँमा चन्दा संकलन गर्ने उनीहरुको धन्दा नै रहेको प्रहरीले पत्तो पायो । त्यसपछि कास्की प्रहरीले अवैध रुपमा चन्दा संकलन गरिरहेको आरोपमा २ जनालाई पक्रेको छ ।
झापा विर्तामोड नगरपालिका ९ की ३४ वर्षीया एलिजा बस्नेत, वडा नम्बर १ का ३२ का टेकबहादुर बस्नेत, झापाकै हल्दीबारी गाउँपालिका १ का ४४ वर्षे धनबहादुर सेन्चुरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएपी सुवास हमालका अनुसार उनीहरुले युनिक स्वयम् सेवक नेपाल नामको संस्थाको नाममा चन्दा संकलन गरिरहेका थिए । बिहीबार पक्राउ परेका उनीहरुबाट प्रहरीले ४ लाख ६ हजार रुपैयाँ पनि बरामद गरेको छ । उनीहरु बसिरहेको होटलबाटै त्यतिका पैसा र थुप्रै रसिद प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाका बासिन्दा उनीहरुले चन्दा संकलनका लागि भनेको संस्था भने सुनसरीको धरानमा दर्ता रहेको जानकारी पनि डिएसपी मरासिनीले दिए । उनीहरुले चन्दा भने पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ५ झडेवाका चूडाबहादुर रुचालका लागि भनेर संकलन गरेका हुन् ।
मिर्गाैला रोग पीडित रुचालको आर्थिक अवस्था कमजोर रहेको र उपचारका लागि भनेर उनीहरु चन्दा मागेका हुन् । चन्दा मागिरहेका एकजनाले डिएसपी मरासिनीलाई रुचालको उपचार बुटवलको अस्पतालमा भइरहेको बताएका थिए । तर प्रहरीले भने रुचाल आफ्नै घरमा रहेको पत्ता लगाएको छ ।
‘चन्दा संकलनकै टेम्पु दिनको १२ सय रुपैयाँ दिने गरी भाडामा लिएका रहेछन्,’ डिएसपी मरासिनीले भने, ‘टेम्पु चलाउनेलाई त्यो भाडाबाहेक बस्नेखाने व्यवस्था पनि रहेछ ।’ युनिक स्वयम् सेवक नेपाल भने दर्ता भएकै संस्था हो । तर संस्थाको उद्देश्यमा पनि कसैलाई सरसहयोगका लागि अर्थ संकलन गर्ने भन्ने छैन । त्यसो त अनुमति नलिई कसैले पनि आर्थिक सहयोग संकलन गर्न वा चन्दा उठाउन पाउँदैन ।
‘नेपाल सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन बाहेक कुनै व्यक्ति वा सरकारी वा गैरसरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन,’ चन्दा ऐन २०३० को दफा ३ मा भनिएको छ ।
चन्दा संकलनमा पछिल्लो समय देखा परेको विकृति खोज्ने क्रममा नै बस्नेतद्वय र सेन्चुरीको गिरोह फेला पारिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापा बताउँछन् । उनकै भनाइमा तिनीहरुलाई चन्दा ऐनअनुसारकै कारबाहीका लागि मुद्दा चलाउने तयारी छ ।
चन्दा ऐन २०३० ले ‘चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी उठाइएको चन्दाको रकम समेत निजबाट सरकारी बाँकी सरह असूल उपर गरिने’ व्यवस्था गरेको छ ।
न्दा संकलनकै लागि १०÷१० वटा टेम्पु प्रयोग गरेका बस्नेत र सेन्चुरीले कास्कीमा मात्रै अरु जिल्लामा पनि आर्थिक संकलन गरेको डिएसपी मरासिनीले सुनाए । पाल्पाको रुचालका नाममा मात्रै नभई उनीहरुले अरु १२ जना बिरामीको नाममा चन्दा संकलन गरिसकेका थिए ।
‘रुचाललाई ४० लाख पठाइसक्यौं, अरु पनि पठाउने हो,’ पक्राउ परेकाहरुले प्रहरीलाई भनेका थिए । उनीहरुबाट प्रहरीले ४० लाख बरामद गरेपनि करोडबढी संकलन गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
तर तिनीहरुले भनेजसरी नै पीडितहरुलाई पैसा पठाएको विश्वसनीय प्रमाण प्रहरीले फेला पारेको छैन । बस्नेत र सेन्चुरीहरुले कास्कीका अलावा चितवन, तनहुँ, दैलेख, सुनसरी, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङजा जिल्लाबाट बिना अनुमति चन्दा संकलन गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी हमालले जनाएका छन् । कास्कीमा ८÷१० दिनमा ८÷१० लाख रुपैयाँ संकलन गरी बागलुङ जाने तयारी गर्दा गर्दै उनीहरु पक्राउ परेका हुन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया