सांसद र पदाधिकारीलाई ३० लाख बढी भुक्तानी, मन्त्रीले लिए ऐनविपरीत भत्ता

अनिष भट्टराई, पोखरा
गण्डकी प्रदेशमा यसअघिको सरकारले प्रदेश सभाका पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनलाई संशोधन गरी ३० लाख ७० हजार रकम बढी भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनका अनुसार भूतप्रभावी कानुन बनाइ ४ महिना पहिलाबाटै सेवा सुविधा लिएको पाइएको हो । २०७६ पुस ९ गतेको मन्त्रिपरिषदमा ऐन संशोधनको निर्णय भएपनि ४ महिना अघि अर्थात् साउनबाट नै सेवा सुविधा भुक्तानी गरिएको पाइएको हो ।
यस्तै प्रदेश सभाका संसदीय समितिमा उपस्थित भएबापत् ऐनविपरीतगुरुङ नेतृत्वको सरकारका ७ मन्त्रीले भत्ता लिएको पनि पाइएको छ । ती मन्त्रीहरुले ३ लाख ६ हजारमा करकट्टी गरी २ लाख ६० हजार बैठक भत्ता भुक्तानी लिएका छन् ।
महालेखाले भनेको छ, ‘प्रदेश सरकारका मन्त्रीलाई समितिको बैठकमा उपस्थित मन्त्रीलाई बैठक भत्ता उपलब्ध गराउन मिल्ने देखिँदैन, उक्त रकम असुल हुनुपर्छ ।’
आव ७६÷७७ मा गण्डकी प्रदेशले ३० करोड ७५ लाख ९७ हजारको सवारीसाधन खरिद गरेको छ । आव ७५÷७६ मा भन्दा ९५.३४ प्रतिशतले सवारी साधन खरिद खर्च बढेको छ । महालेखाले सवारी साधन खरिदको मापदण्ड तयार गरी खर्च व्यवस्थित गर्न सुझाएको छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा पुँजीगत खर्चको रुपमा विनियोजन भएको रकमलाई चालु खर्चमा रकमान्तर गर्न नपाइने उल्लेख छ । तर पुँजीगततर्फ विनियोजित भैपरि आउने पुँजीगत रकमबाट भत्ता तथा सवारी साधन मर्मतमा १२ लाख रकमान्तर गरेको पाइएको छ ।
गण्डकीले आर्थिक वर्ष २०७६÷७७ मा ४ अर्ब बढी बजेटलाई अबण्डा राखी खर्च गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र यस अन्तर्गतका निकायले ४ अर्ब ९३ करोड १० लाख रुपैयाँ बजेटलाई अबण्डा राखि विभागीय मन्त्रीले पछि आवश्यकताअनुसार बजेट बाँडफाँट गरेर पठाउने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक कार्यविधि ऐनमा कार्यक्रम बजेट स्वीकृत गर्नुपर्नेमा मन्त्रालयको आवश्यकता अनुसार बजेट स्वीकृत नगरी क्षेत्रगत रुपमा एकमुस्ट बजेट स्वीकृत गरेको देखिएको महालेखाले जनाएको छ । भौतिक मन्त्रालयले नमूना गाउँ कार्यक्रम सञ्चालन कार्यविधिअनुसारको स्थानीय निकायको २० प्रतिशत योगदानको ६७ लाख ९४ हजार रुपैयाँ बढी भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा छ ।
अनुदान वितरणका लागि तर्जुमा गरिएका कार्यविधिमा उल्लेखित प्रक्रिया पूरा नगरी गण्डकीको कृषि मन्त्रालय र मातहतबाट १ अर्ब १५ करोडबढी अनुदान वितरण गरिएको महालेखाको प्रतिवदेनमा उल्लेख छ । कार्यविधि निर्माणको आधार नखुलाई १ अर्ब १० करोड ४६ लाख रुपैयाँ मन्त्रालयले निकासा गरेको छ ।
यस्तै एउटै कृषक समुहलाई विभिन्न निकायबाट १ करोड १९ लाख अनुदान दिइएको छ भने ३ कार्यक्रम सञ्चालन गर्नुपर्नमा घटी कार्यक्रम सञ्चालन गरी पूरै १ करोड ५३ लाख रुपैयाँ अनुदान निकासा भएको छ । यस्तै सार्वजनिक खरिद ऐन २०६३ बमोजिम प्रतिस्पर्धात्मक विधि अवलम्बन गरी खरिद गर्नुपर्नेमा गण्डकीसहित ५ प्रदेशले ३६ करोड बढीको विभिन्न सडक, गेट र निर्माण कार्य सीधै गराई खर्च लेखिएको पाइएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा नेपालका सात प्रदेशमध्ये गण्डकीमा सबैभन्दा कम बेरुजु देखिएको छ । गण्डकीमा ६० करोड ४१ लाखरुपैयाँ बेरुजु निस्किएको हो । ३० अर्ब ७४ करोड बढीको लेखापरीक्षणमा १.९६ प्रतिशत बेरुजु निस्किएको हो । महालेखाले बेरुजुमध्येको ४ करोड २६ लाख रुपैयाँ असुल गर्न पनि भनेको छ ।
सबैभन्दा बढी बेरुजु रहेको मन्त्रालय प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय छ । यस मन्त्रालयमा ३८ करोड ६८ लाख बढी बेरुजु छ । त्यसमध्ये ३ करोड २९ लाख ८१ हजार रुपैयाँ असुल गर्नु पनि महालेखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया