मधेसका सबै सडक ४ लेनका : प्रधानमन्त्री ओली

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:२१

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको हरेक सडक ४ लेनका बन्ने उद्घोष गरेका छन् । उनले यही सरकारले हरेकको घरमा खानेपानीको व्यवस्था, बिजुली, सिचाईँ र गरिबी निवारणसमेत गर्ने आश्वासन दिए । मधेसको मुख्य क्षेत्र मानिने रौतहटमा नेकपाले शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्रीले मधेसको विकासको जिम्मा आफूले लिने बताए ।

मधेस विरोधीको रुपमा चित्रण भएको नेकपा स्वतन्त्र मधेस पक्षधर सिके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनसँग सहमति गरेको भोलिपल्टै मधेसलाई आश्वास्त पार्न तराइ झरेको हो । नेकपा प्रदेश नम्बर २ ले आयोजना गरेको कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहित पुगेका ओलीले आफ्नो पार्टीलाई मधेस विरोधि पार्टीका रुपमा चित्रित गर्दै विस्थापित गर्न खोज्नेहरु आफैँ यस क्षेत्रको विकास विरोधी भएको बताए ।

अबको आफ्नो पार्टीको राजनीति साम्प्रदायिक, भूगोल या जातजातको आधारमा नभई साझा नेपालीको हित र विकासका लागि भएको भन्दै मधेसी जनतालाई अश्वस्त पार्ने कोसिसमा ओलीले धेरै समय खर्चिए । उनले भने, ‘हिजो मात्र सीके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनले आफ्नो पुरानो बाटो छोडेर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्ने कुरामा हस्ताक्षर गरेको छ । उसले संविधानअनुसार चल्ने प्रतिबद्धता गरेको छ, जुन स्वागत योग्य छ ।’

Advertisement

टीकापुर राजपा नेतृत्व गैरजिम्मेवार भएको आरोप लगाए । उनले भने, ‘राजपाका नेताहरुलाई भन्न चाहन्छु, एउटा प्रदेशमा जनतालाई अल्मलाएर, झुक्याएर या फसाएर भोट पाइयो भनेर धेरै फुर्तिफार्ती नगर्नुहोस् । तपाईहरु सरकारविरुद्धको अभियान होइन बरु यस प्रदेशको विकासमा सहयोग गर्नुहोस् ।’ ओलीले मधेसको सडक, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यको विकास आफ्नो सरकारको प्राथमिकतामा रहेको र आगामी ४ वर्षमा मधेसको आमूल विकास हुने आश्वासन दिए ।

ओलीले तराई मधेसका समस्या समाधान गर्न ३ सय ५२ करोड रुपैयाँ बजेट छुट्याइएको र आवश्यक भए अरु पनि छुट्याउने प्रतिवद्धता जनाए । उनले सडकमात्रै नभई रेल मार्ग निर्माणका लागि सरकारले कदम तीव्र पारेको भन्दै अब विकासका लागि छिमेकीको भर पर्नुपर्ने अवस्थासमेत अन्त्य भएको दावी गरे ।

Advertisement

अर्का अध्यक्ष दाहालले तराई मधेसमा एउटा विखण्डनको नारा लिएर हिडेको समूह पनि शान्ति प्रक्रियाको मुल धारमा आउनु ठूलो कुरा भएको बताए । उनले नेकपाले नै राष्ट्रिय एकता मजबुत बनाउने र तराई, पहाड र हिमालका जनतालाई एक बनाउने अभियान सुरु गरिसकेको दाबी गरे । उनले भने, ‘मधेसमा हिजो राज्यद्वारा नै विभेद थियो । अब हाम्रो पार्टीले यहाँको विकासमा ध्यान दिन्छ । विशेष प्याकेज ल्याउनेछ । केही वर्षभित्र तराई–मधेस र राजधानीको दूरी फाट्नेछ र यहाँको विकासले फड्को मार्ने छ ।’

आउँदो ४ वर्षमा तराई मधेसमा दुई तिहाईमात्रै नभइ ८० प्रतिशत भोट नेकपाको पक्षमा आउने उनको दावी छ ।

तपाईको प्रतिक्रिया