पाेखरामा कतै भ्वाङ, कतै जलमग्न

सञ्जय रानाभाट २०७८ भदौ १८ गते १३:०४

सञ्जय रानाभाट
पोखरा- पोखरा नदीपुरका बलबहादुर पुनका बुधबार राति एक्कासी झस्किए । राति ११ बजेतिर मुसलधारे पानी परिरहेको थियो, उनी सुत्न लागेका थिए । घरबाहिर ठूलो आवाज आयो ।


उनी हठात् बाहिर निस्के । बाहिर आएर हेर्दा उनीसहित अरु २ छिमेकीको गेट लडेको देखे । वरिपरिको जमिन भासिएको थयो । उनले तत्कालै परिवारका सदस्यलाई बोलाए । एकै छिनमा छिमेकी पनि जम्मा भइहाले । ‘पानीमा भिज्दै राति ११ बजे सबै मिलेर भल पानी काट्यौ,’ उनले भने, ‘खाल्डोमा पानी पस्न दिएनौं । सबै मिलेर पानी तर्काउँदा २ बजेको थियो तर रातभरी सुत्न सकेनौं ।’


रातिको त्यही आवाजले निदाइसकेकी निमला गुरुङ पनि झस्किइन् । उनी घरबाहिर आउँदा मानिस जम्मा भइसकेका थिए । उनी पनि पानी तर्काउन लागिन् ।
बुधबार दिउँसोदेखि परेको अविरल पानीले पोखरा र आसपासका क्षेत्रमा मानवीयसहित भौतिक क्षति भएको छ । मुसालधारे पानीले ३ जनाको ज्यान गएको छ ।

Advertisement

देउबहादुर पुन, छविबहादुर पुन र बलबहादुर पुनको घरमा क्षति पुगेको छ । सडकको बीचसम्मको जमिन चर्किएको छ ।
पोखरा महानगरपालिका १६ बाटुलेचौरमा पनि जमिन भासिएको छ । खेती भइरहेको जमिन एक्कासी भासिएको हो । ठाउँ ठाउँमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । पोखराका आसपासका कमलपोखरी, काहुँखोला, माटेपानी लगायतका ठाउँ जलमग्न भएका छन् ।


ठाउँठाउँमा पहिरो गएको छ । बिहीबार पनि पोखरामा पानी परिरहेको छ । यही भदौ ६ गते पोखराको मुख्य बजार महेन्द्रपुलमा सडक भासिएको थियो । महेन्द्रपुल घटनाको १० दिन नकट्र्दै फेरि जमिन भासिएको छ । यसरी बेला बेला जमिन भासिनुले पोखराको जमिन कमजोर भएको पुष्टि हुन्छ । पोखराको जमिन चुनले बाँधेको विज्ञहरु बताउँछन् । चुनलाई पानीले पगलेपछि जमिन भासिने सम्भावना बढी हुन्छ ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया