चिसो र आहार अभावले चौपाया मर्न थालेपछि चौरीखर्कमा रुवावासी

समाधान संवाददाता २०७५ फागुन २७ गते ८:२३

सुन्दरकुमार थकाली

लगातारको हिमपातका कारण उपल्लो मुस्ताङमा दिनहुँ चौपाया मरिरहेका छन् । यहाँका स्थानीयबासीको मुख्य आम्दानीको स्रोत पशुपालन हो । चिसो र आहार अभावले चौपाया मरेपछि किसान मर्माहत भएका छन् । गोठालाहरु रोइरहेका छन् ।

उपल्लो मुस्ताङका किसानले खर्कमै चौपाया हुर्काउँछन् । खर्कमै छाडिएका चौपाया हिउँद याममा पनि गोठालाकै भरमा हुन्छन् । यस वर्ष सिमावर्ती क्षेत्र लगायत उपल्लो मुस्ताङमाका सयौं पशु हिमपातले मरेका छन् । यो क्रम जारी छ । पुसदेखि फागुन दोस्रो हप्तासम्म पटक पटक परेको हिमपातले कोरला आसपासका खर्क र घाँसे मैदान हिउँले ढाकिएको थियो ।

Advertisement

उपल्लो मुस्ताङको धेरैजसो भूभाग सुख्खा मरुभूमि जस्तो छ । त्यहाँ खेतीपाती उस्तो हुँदैन र पर्यटक पनि हम्मेसी पुग्दैनन् । यहाँका स्थानीयको जीवन धान्ने बाटो नै पशुपालन हो । उनीहरु हिउँद याममा गाउँ नै रित्तो बनाएर बेशी झर्छन् । चौपायाको रेखदेख गोठालालाई सुम्पिएर वैकल्पिक व्यवसायका लागि वेशी ओर्लने उपल्लो मुस्ताङी चलन छ ।

उपल्लो मुस्ताङमा अझै २ फिट भन्दा बाक्लो हिउँ छ । भौगोलिक हिसाबले विकट गाउँ चुम्जुङमा चौपाया उद्धार गर्न कठिन भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वश्वर रेग्मीले जानकारी दिए । ‘उपल्लो मुस्ताङमा सयौं चौपाया हिमपातका कारण मरे भन्ने जानकारी पाइयो,’ उनले भने, ‘संकटमा परेका चौपाया उद्धार गर्न अझै कठिनाइ छ । के कति क्षति भयो भन्ने तथ्यांक संकलनका लागि सीमा प्रहरी टोली घटनास्थल प्रस्थान गरेको छ ।’

Advertisement

रेग्मीका अनुसार लोमान्थाङ ४ चुम्जुङको खर्कमा करिब २ सय याक र चौरी मरेका छन् । उपल्लो मुस्ताङबासीले दलाई लामाको नाममा पूजा(छत्तर) छाडेका १ हजार २ सय भेडाबाख्रामध्ये करिब ४ सय मरेको रग्मीले सुलाए । अरु नोक्सानको विवरण आइनसकेको उनको भनाइ छ ।

चुम्जुङ गाउँकी स्थानीय पेमा गुरुङका अनुसार उपल्लो मुस्ताङमा यस वर्षको हिमपातको असरले पशुपालन व्यवसाय नै धरासायी भएको छ । चिसो र चरनक्षेत्र अभावले चौपाया बाच्न मुस्किल भएको उनले बताइन् । चुम्जुङ गाउँका नुडादु गुरुङका करिब ४ सय ५० भेडाबाख्रा, कुङ्गा गुरुङका २० वटा, वाङ्दी गुरुङका ३२ वटा र सोनाम गुरुङका २२ वटा पशु चिसो र घाँस खान नपाएर मरेका छन् ।

चुम्जुङका चौरी याक गोठाला कुङ्गा गुरुङले चौरीयाक हिमपातले धमाधम मर्दा आफूहरु आहत बनेको बताए । यस्तो ठूलो क्षति कहिल्यै नव्यवहोरेको उल्लेख गर्दै उनले सरकारसँग राहत माग गरे । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमी र ढाक्मरको लेकमा बस्ने घ्याचुङ सोनाम, ढोमा छिरिङ पछिरिङ र ठिने गुरुङ लगायतका गोठालाका चौरीयाक गोठबाट करिब ५० जति पशु मरेको र चरन अभावले चौपाया धमाधम मर्ने क्रम जारी रहेको पेमाले जानकारी दिइन् । अहिलेसम्म यो लेकका करिब २५ जति चौरी घाँस खान नपाएर उनको भनाइ छ ।

लोमान्थाङको लेकमा बस्ने गोठालाका चौरीयाक गोठबाट करिब २० पशु मरेका छन् । धमाधम चौरी मर्न थालेपछि लेकका चौरीयाक गोठ सुरक्षितका चरनका लागि मासिक २५ हजार तिर्नेगरी ढि र सुर्खाङ लेक ल्याइएको छ ।

प्रतिनिधि सभाका सदस्य प्रेम तुलाचनले प्रतिनिधि सभाको आइतबारको बैठकमा याक र चौरीको क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।

तपाईको प्रतिक्रिया