चैतमा शुभकामना सांगीतिक साँझ

समाधान संवाददाता २०७५ फागुन २७ गते ९:३६

सांकेतिक तस्विर

समाधान संवाददाता

परियार सेवा समाजले चैत २३ गते शुभकामना सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले स्टेज तताउने समाजले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

Advertisement

नौमति बाजाको संरक्षणार्थ कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष किसान परियारले जानकारी दिए । उनले भने, ‘नौमति बाजा अहिले बिस्तारै लोप हुँदै गइराको अवस्था छ । पञ्चेबाजा र नौमति बाजामा फरक नछुट्याउँदा समस्या आएको हो ।’ उनले कार्यक्रमबाट बचेको रकम बाजा संरक्षण मै खर्च गरिने जानकारी दिए ।

समाजका सचिव दुर्गा परियारले परियार समाजभित्रका संस्कृति एवं परम्परालाई जगेर्ना गर्न प्रतिष्ठान बनाएर अघि बढ्ने समाजको ध्येय रहेको जानकारी दिए । उनले भने, ‘कतिपय बाजागाजा र नाचगान हाम्रा मौलिक हुन्, तिनलाई बचाउन पनि प्रतिष्ठान बनाउन जरुरी देखिएको छ ।’ उनले विभिन्न क्षेत्रमा बाँडिएर रहेका परियारलाई एकरुपतामा ल्याउन कोशिस गरिरहेको सुनाए ।

Advertisement

पोखरा सभागृहमा हुने उक्त सांगीतिक कार्यक्रमको विशेष सहयोगी कला संगत केन्द्रीय समिति छ । कार्यक्रममा राजु परियार, शिव परियार, प्रताप दास, जयकुमार परियार, पूर्णकला परियार (बिसी) लागयत दर्जन बढी कलाकारको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रमका लागि १ हजार, ५ सय र ३ सय रुपैयाँको टिकट व्यवस्था गरिएको समाजका उपाध्यक्ष बुद्धिराम परियारले जनाए ।

तपाईको प्रतिक्रिया