कतारसँग नयाँ श्रम सम्झौता तयारी

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:१६

समाधान

नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने भएको छ । ऊसँगको १४ वर्ष पुरानो श्रम सम्झौता पुनरावलोकनसहित नयाँ सम्झौता गरिन लागेको हो । २४ घन्टे बिमा, काठमाडौंमा सञ्चालन गर्न लागिएको भिसा सेन्टरको कार्य सञ्चालन प्रक्रिया लगायत विषय नयाँ श्रम सम्झौतामा नेपालले समेट्न चाहेको छ । कतारसँग पनि शून्य लागतमा श्रमिक पठाउने गरी श्रम सम्झौता गर्ने सरकारको तयारी छ ।

अहिले कार्यस्थल दुर्घटनाको मात्रै अथवा ८ घन्टाको बिमा हुने व्यवस्था छ । नेपालले २४ घन्टे बिमा सुविधाको माग उठाएको छ । नेपाली अधिकारीका अनुसार कतार यस विषयमा सकारात्मक छ । न्यूनतम तलब बढाउने विषयमा पनि नेपालले जोड दिनेछ ।

Advertisement

कतारमा श्रमिकको न्यूनतम तलव ७५० र खाना वापत २ सय रियाल गरी ९ सय ५० रियाल अथवा २९ हजार १ सय ५० रुपैयाँ तोकिएको छ । नयाँ सम्झौताका लागि बिहीबार दोहामा २ देशका प्रतिनिधिबीच छलफल हुँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखाका प्रमुख डा. रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली बुधबार कतार जाँदैछ ।

कतारसँग सन् २००५ मा श्रम सम्झौता भएको थियो । सन् २००८ मा ‘एडिस्नल ड्राफ्ट’ मा हस्ताक्षर भएको थियो । पहिले भएको श्रम सम्झौतामा विषयहरुलाई संक्षिप्त रुपमा समावेश गरिएकाले अब सम्झौतामा विस्तृत रुपमा उल्लेख गरिने मन्त्रालयले जनाएको छ ।

Advertisement

जाँदा लाग्ने सेवा शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने, नेपालमा खोल्न लागिएको भिसा सेन्टरको काम प्रष्ट पार्नुपर्ने, कामदारलाई भोलि कुनै समस्या परे को जिम्मेवार हुने भन्नेदेखि सुधारिएको श्रम बजारअनुसार नेपाली श्रमिकले सेवा सुविधा पाउने गरी श्रम सम्झौता गर्ने नेपालको प्रस्ताव छ । कतारले सन् २००५ को समझदारीमा उल्लेख भएभन्दा बढी सेवा सुविधा नेपाली श्रमिकलाई दिइरहेको छ ।

कतारले काठमाडौँमा भिसा सेन्टर सञ्चालनको तयारी गरे पनि प्रक्रियाबारे प्रष्ट नभई सञ्चालनमा जान दिन नेपाल तयार छैन । कतार सरकारसँग यस विषयमा विस्तृत छलफल पछि मात्रै नेपालले सञ्चालन गर्न दिनेछ । मलेसियामा खडा भएका विभिन्न संस्था जस्तै हुने होकि भन्ने शंका नेपाललाई छ ।

छिट्टै नयाँ श्रम समझदारी हुने श्रम मन्त्रालयको दाबी छ । आगामी विश्वकप फुटबलको आयोजना गर्ने तयारीमा रहेको कतारमा धेरै निर्माणको काम चलिरहेका बेला आफ्नो प्रमुख स्रोत मुलुक नेपालसँग श्रम समझदारी गर्न कतारको समेत जोड रहँदै आएको छ ।

कतार नेपालसँग श्रम समझदारी गरेर विश्वलाई आफू श्रमिकको पक्षमा रहेको सन्देश दिन चाहन्छ । पछिल्ले समय कतारले श्रम क्षेत्रमा सुधारिएको कानुन निर्माण गरेको छ । खाडीका देशमा पहिलोपटक कतारमा आइएलओले काम गरिरहेको छ भने मानव अधिकार समिति, विभाग जस्ता संयन्त्रले पनि त्यहाँ श्रमिकको पक्षमा लबिङ गरिरहेका छन् । सहमति जुटेमा टोलिले श्रम सम्झौताको मिति पनि तय गर्नेछ ।

तपाईको प्रतिक्रिया