भ्रमण

पोखराबाट ११ राजदूतको सन्देशः नेपाल सुरक्षित छ, घुम्नुस्

समाधान संवाददाता २०७८ असोज १२ गते १२:१२
तस्बिर : राधिका कडेल

पोखारा-सोमबार पोखराको मौसम खुलेको थियो । हिमालहरु छर्लङ्ग देखिए । सूर्योदय पनि मनमोहक देखिन्थ्यो । नीलो आकाशमा केही बादल लुकामारी खेलेको जस्तो लाग्थ्यो ।


पोखरा घुम्न आएका ११ देशका राजदूत तथा विदेशी नियोगका अधिकारीहरु पोखराको प्राकृतिक सुन्दताले चकित परे । बिहानै राजदूतहरुको टोली ९ बजे हाइकिङमा निस्केको थियो । नौडाँडासम्म गाडीमा गएर त्यसपछि भने कास्कीकोटसम्म पैदल यात्रा (हाइकिङ) गरे । कास्कीकोट हुँदै उनीहरु सराङकोटमा आएर खाजा खाए ।


सराङकोटबाट पोखराको दृश्य पुरै नियालेका थिए । डाँडामा उनीहरु फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाएर नेपाल घुम्न आउन अनुरोध समेत गरेका छन् । पोखराको सुन्दरतामा रमाउँदै उनीहरुले सामाजिक सञ्जालमा नेपालको सुन्दरताको खुलेर बयान गरे ।
पछाडि अन्नपूर्ण, माछापुच्छ«े हिमाल छन् । सूर्योदयको मनमोहक दृश्य टिकटककै भिडियोमा हेर्दा पनि निकै लोभलाग्दो देखिएको छ । त्यसको अगाडि उभिएकी छिन्, संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोयन्ति । उनी गदगद देखिन्छिन् । उनले नेपालका हिमाल, सूर्योदय, सराङकोटको बखान गर्दै भिडियो बनाएकी छन् ।

Advertisement


५९ सेकेन्डको भिडियोमा सलोयन्तिले नेपाल पर्यटनका लागि खुल्ला रहेको सन्देश दिएकी छन् । उनले नेपालको संस्कृति, प्रकृति महसुस गर्नुपर्ने भन्दै नेपाल घुम्न आउन आग्रह गरेकी छन् ।


उनले भनेकी छन्, ‘म यहाँ गण्डकी प्रदेशमा छु, कूटनीतिक मिसनका लागि । कोभिड महामारी पछिको पर्यटनलाई उठाउने उद्देश्यले आयोजित कार्यक्रममा भाग लिन आएकी छु । नेपाल पर्यटनमा निर्भर छ । दिगो पर्यटन, पहुँचयोग्य पर्यटन, समावेशी पर्यटनले नेपालको विकास र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग गर्छ । म यहाँ कूटनितिक सम्बन्धका लागि नेपाल आएकाले यहाँ (पोखरा) आउन पाएको थिइनँ । तर म आज यहाँ आएकी छु । मेरो पछाडि सुन्दर हिमाल छन् । यहाँबाट सूर्योदय पनि देख्न पाइने रहेछ र अहिले सराङकोटबाट निकै राम्रो सूर्योदय देखिएको छ । म यहाँ आएर गर्वका साथ भन्न सक्छु नेपाल पर्यटनका लागि खुल्ला छ । यदि तपाईं प्रकृतिलाई महसुस गर्न चाहनुहुन्छ भने नेपाल आउनुहोस् । यदि यहाँको संस्कृति जान्न मन छ भने नेपालका गाउँ आउनुहोस् । विश्व पर्यटन दिवसको शुभकामना ।’

Advertisement


कतार, साउदी अरेबिया, दुबई, दक्षिण कोरिया, थाइल्यान्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी २८ सदस्यीय टोली पोखरा आइपुगेको थियो ।


राजदूतहरुले आफ्नो देशका नागरिकलाई नेपाल घुम्न जान प्रेरित गर्ने समेत हाइकिङको समयमा पर्यटन व्यवसायीहरुसँग बताउँदै थिए । उनीहरुले दिउँसो पाताले छाँगोको अवलोकन समेत गरेका छन् । त्यसलगत्तै उनीहरु फेवातालको बाराही मन्दिरमा घुमेर आरतीमा सहभागी भए ।


राजदूतहरु बेलुका ७ बजे लेकसाइडमा रेन्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराले आयोजना गरिएको मिनी सडक महोत्सव सहभागी भए । नेवार समुदायको लाखे नाच, पञ्चेबाजा, थारु समुदायको प्रचलित स्टिक डान्स, गन्धर्व समुदायको सारंगीवादन जस्ता संस्कृतिक कार्यक्रम महोत्सवमा देखाइएको थियो । पोखराको पर्यटन क्षेत्र सुरक्षित भएको सन्देश महोत्सवमा सहभागी भए ।


कोरोना महामारीले थलिएको पर्यटन व्यवसायलाई राजदूतहरुको भ्रमणले पर्यटन व्यवसायीमा आशा पलाएको छ । राजदूतहरुको भ्रमणले नेपाल सुरक्षित छ भन्ने सन्देश गएको परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘पोखराको पर्यटन अहिले शिथिल छ । राजदूतहरुको भ्रमणले नयाँ आशा पलाएको छ,’ भट्टराई भन्छन् ।

तपाईको प्रतिक्रिया