१० मिनेटमै हातमा लाइसेन्स

सञ्जय रानाभाट २०७८ असोज १३ गते १२:२६

पोखारा- ट्रायल पास हुनुभयो ? सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाएर झन्झट व्यर्होनुपरेको छ ? अब चिन्ता नलिनुस् !
यातायात कार्यालय कास्कीले परीक्षणकालीन लाइसेन्सको व्यवस्था गरेको छ । ट्रायल पास भएको १० मिनेटमै अब कार्यालले १ वर्षको ट्रायल फेज लाइसेन्स दिने भएको हो । कार्यालयले यही असोज १५ बाट स्मार्ट लाइसेन्स वितरण गर्ने कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।


ट्रायल पास भएपछि पनि डेढ वर्षसम्म लाइसेन्स नपाएर नेपाली हैरानीमा छन् । चेकिङमा समस्या, नागरिकता लिएर हिँड्न झन्झट । पास भएको लामो समयसम्म राजस्व बुझाएको कागजलाई लाइसेन्स मानेर सवारी चलाउनुपर्ने बाध्य छ । त्यही कागज पनि भिज्ने, हराउने समस्या । नक्कली हो कि सक्कली ट्राफिक प्रहरीलाई पनि छुट्याउन हम्मे पथ्र्याे ।


कार्यालयले वितरण गर्न लागेको स्मार्ट लाइसेन्स स्थायी भने नभएको श्रेष्ठ बताउँछन् । यसको १ वर्षको म्याद हुन्छ । यसपछि भने कुनै दुर्घटना, ट्राफिक नियमको उल्लंघन नभएको खण्डमा बल्ल कार्यालयले स्थायी लाइसेन्स दिने श्रेष्ठले बताए । ५ पटक गम्भीर गल्ती गरेको खण्डमा भने त्यो लाइसेन्स स्वतः बदर हुनेछ । यो कार्ड पानीमा भिज्ने र हराउने सम्भावना पनि कम हुने श्रेष्ठले बताए ।

Advertisement


यातायात व्यवस्था विभागमा परीक्षण गर्दा सफल भएपछि पोखरा कार्यालयले यसको प्रयोग सुरु गर्न लागेको हो । स्मार्ट लाइसेन्स मालिका इन कर्पोरेट कम्पनीले परीक्षण सफल भएपछि यातायात विभागले अनुमति दिएको थियो । पोखरामा गण्डकीका ११ जिल्लाकै मानिस लाइसेन्स निकाल्न आउँछन् । १ वर्ष पहिलेमात्र नवलपुरमा कार्यालय स्थापना भए पनि प्रदेशबासीको लाइसेन्स निकाल्न पोखरामै चाप हुन्छ ।
२५ लाख जनसंख्या भएको गण्डकीमा बर्सेनी लाइसेन्स निकाल्नेको भीड बढ्दो छ । ६ लाखले लाइसेन्सको आवेदन दिएका छन् । कोरोना महामारीपछि लाइसेन्सको काम ठप्पै भएको छ । पहिले पनि निधै धिमा गति रहेको लाइसेन्स वितरणमा माहामारीपछि समस्या झनै थपियो । कार्यालयले नयाँ जुक्ति निकाल्योः परीक्षणकालीन लाइसेन्स वितरण ।


यातायात कार्यालय कास्कीले परीक्षणकालीन लाइसेन्स छाप्ने प्रिन्टर डेढ लाखमा किनेको थियो । स्मार्ट कार्ड बनाउन प्रयोग हुने कागजसहित २ लाख खर्च भएको श्रेष्ठले बताए । कार्ड बनाउँदा कार्यालयलाई ५० देखि ६० रुपैयाँसम्म पर्ने श्रेष्ठ बताउँछन् । पछि खरिद हुने कार्डको पैसा भने मन्त्रालयले दिनेछ । उनी भन्छन्, ‘पास भएका तर लाइसेन्स नपाएका १ वर्ष परीक्षणकाल ननाघेकालाई यो लाइसेन्स दसैपछि बाट वितरण गर्छाैं । परीक्षणकालीन लाइसेन्स वितरण गर्न १ हजार ५ सय जति बाँकी छन् । यो पनि छिट्टै वितरण हुन्छ ।’

Advertisement


ट्रायल पास भएर १ वर्ष पूरा भएकाले भने स्माट लाइसेन्स नै कुर्न पर्ने श्रेष्ठ बताउँछन् । ‘प्रिन्टरले प्रत्येक दिन १ हजारसम्म कार्ड प्रिन्ट गर्छ । यो भन्दा पहिला रसिदको दुरुपयोग हुँदै आएको थियो । अब कार्ड भेरिफाइ गर्न समस्या हँुदैन,’ उनले भने । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन भन्दै छलफल चलाएका थिए । त्यसै अनुरुप मन्त्रिपरिषदको बैठकबाट यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, पोखरामा अस्थयी दरबन्दी सिर्जना गरी कर्मचारी थप गर्ने निर्णय भएको थियो । कार्यरत कर्मचारीको करार अवधि थपिएको छ भने १० जना कम्प्युटर अपरेटरको दरबन्दी नै थपेर कर्मचारी पठाइएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया