वीरगञ्ज नाकाबाट भारतीय निजी सवारीसाधन आउन थाले, पर्यटनमा आशा

समाधान संवाददाता २०७८ असोज १५ गते १९:१५


वीरगन्ज

१८ महिनापछि वीरगञ्ज भन्सार नाकाबाट भारतीय निजी सवारीसाधन आउन सुरु भएको छ। कोभिड १९ महामारीका कारण विगत डेढ वर्षदेखि नाकाहरु बन्द गरिएको अवस्थामा शुक्रबारदेखि भने निजी सवारीसाधन आउन सुरु भएको हो।

सरकारले २०७६ साल चैत १० गतेदेखि भारतीय निजी सवारीसाधनको प्रवेशमा रोक लगाएका थियो। तर, पछिल्लो समय काभिड महामारीको प्रकोप कम हुँदै गएपछि मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबारदेखि भन्सार नाकाबाट भारतीय निजी सवारीसाधन भित्रिन थालेका हुन्।

Advertisement

सोही क्रममा वीरगञ्ज भन्सार नाकामा भारतीय सवारीसाधनलाई स्वागत गरिएको थियो। बिहान वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी तथा होटेल पर्यटन व्यवसायी संघ वीरगञ्जका पदाधिकारीहरुले नाकाबाट भित्रिएका भारतीय निजी सवारीसाधनसहित भारतीय पर्यटकहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए।


वीरगञ्ज नाका भएर भारतीय निजी सवारीसाधनको आवत–जावत खुल्ला गराउने निर्णयपछि होटेल तथा पर्यटन व्यवसायीले खुसी व्यक्त गरेका छन्। यसबाट होटेल व्यवसायलाई सहयोग पुग्ने संघका वीरगञ्ज अध्यक्ष हरि पन्तले बताए।

Advertisement

लागातारको कोभिड महामारीका कारण आफूहरुको व्यवसाय चौपट भएको भन्दै वीरगञ्जका होटेल तथा पर्यटन व्यवसायीहरुले नाका खोल्न माग गर्दै आएका थिए।

वीरगञ्ज भन्सार नाका भएर भारतीय निजी सवारीको आवागन सुचारु भएपछि भारतबाट नेपालमा घुम्न आउने पर्यटकहरु पनि खुसी भएका छन्। उनीहरुले लामो समयपछि नाकाबाट भारतीय निजी सवारीसाधनको आवत–जावत खुल्ला भएपछि पहिलो दिन नै राजधानी काठमाडौँ घुम्न जान लागेको भारतको दिल्लीबाट निजी कार लिएर आएका शाहाब आलमले बताए।

तपाईको प्रतिक्रिया