विलासी ठग सरीता, अहिले पछुताउँदैछिन् जेलभित्र

समाधान संवाददाता २०७५ फागुन २९ गते ९:२१

समाधान संवाददाता

नयाँ मोडलको क्रेटा गाडी । चालक त हुने नै भए । डेराको घरमा पनि महँगा महँगा सामान । घरको काम गर्न सहयोगी । बागलुङ रणसिं किटेनीकी सरीताकुमारी राना यही रवाफका साथ लेखनाथको अर्घौंचोकमा बस्थिन् । उनको हाउभाउ देखेर छिमेकी प्रभावमा नपर्ने त कुरै भएन । कुनै व्यवसाय नगर्ने सरीताले अर्घौचोकआसपासकै व्यक्तिलाई प्रभावमा लाखौं रुपैयाँ कुम्ल्याइन् ।

माघ १ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी पर्‍यो । ७ गते उनलाई प्रहरीले काठमाडौंबाट पक्रेर पोखरा ल्यायो । ८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्‍यो । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत फागुन १० मा उच्च अदालत पोखरामा बैंकिङ कसुर मुद्दा दायर गर्‍यो । उनै सरीता अदालतको आदेशपछि अहिले कास्की कारागारमा छन् ।

Advertisement

उच्च अदालत पोखरामा रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाका अनुसार २ फरक मुद्दामा अदालतले ५ करोड धरौटी मागेकोमा बुझाउन नसकेपछि सरीतालाई जेल चलान गरिएको हो । जनकलाल लोहनीको जाहेरीमा परेको मुद्दामा १२ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । रेशमलाल कँडेलसमेतको जाहेरीमा परेको मुद्दामा २ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको मुद्दा शाखाका नायव सुब्बा रामप्रसाद न्यौपानेले बताए । उक्त मुद्दामा थुनछेक वहसपछि मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश जीवनहरि अधिकारीको इजलासले बिगोको दोब्बर रकम अर्थात ५ करोड रुपैयाँ धरौटीको आदेश गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई कास्की कारगार चलान गरिएको हो ।

विभिन्न वाहानामा सरीताले सापटी रकम माग्ने तर रकम नभएको बैंक खाताको चेक दिने गर्थिन् । जनकलाल लोहनीले एनआइसी एसियाको १२ लाखको चेक फिर्ता पाए पनि साट्न नसकेपछि प्रहरीमा उजुरी दिएका हुन् । यसैगरी, रेशमलाल कँडेल, देवी जैसी, नरमाया थापामगर, तारा फगामी पुन, चन्द्रबहादुर सुनार, जीतबहादुर पुन र धनबहादुर पुनलगायतले २ करोड ३८ लाख रुपैयाँको बिगोसहित उजुरी दिएका हुन् । उनीहरु सबैको चेक साटिएको छैन । बैंकिङ कसुरमा ३ महिनासम्म कैद, बिगो बमोजिम जरिवाना र पीडितलाई बिगो भराइदिने व्यवस्था छ । यही प्रावधान अन्तर्गत बिगोको दोब्बर धरौटी माग गरिएको अदालतले जनाएको छ ।

Advertisement

आरोपित सरीताले आफूले रकम लिएको र रकम नभएको खाताको चेक दिएको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । संगतमा आएका ४ जनाका कारण आफू फँसेको उनको जिकीर छ । कीर्तिपुरका दीपेन्द्र जोशी, पाँचथरका आरके लिम्बु नेम्बाङ, रोल्पाका राजकुमार पुन र खोटाङका नेत्र राईको उक्साहटमा लाग्दा आफू ठूलो कारोबारमा फँसको सरीताको भनाइ छ । ‘तपाईंलाई यो ठाउँमा पत्याउँछन्, रकम उठाएर धनकुटातिर गएर सुन्तला खेती गर्नुपर्छ,’ भन्दै उक्साएको सरीताले प्रहरी वयानमा भनेकी छन् ।

१ महिनादेखि सम्पर्कविहीन सरीताविरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । पहिला सापटी माग्ने अनि रकम नभको खाताको चेक दिने र कसैकसैलाई पैसा नै नदिएर सरीताले झुक्याउँदै आएको पीडितहरुले बताएका छन् ।

पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आफू सरीताबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका थिए । उनीहरुले उजुरी दर्ता गरेपछि सरीता विरुद्ध अरु पनि उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । हालसम्म ५० भन्दा बढीले आफूहरु ठगिएको भन्दै प्रहरीसँग नाम टिपाएका छन् ।

घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ । घडेरी किन्ने व्यक्ति खोजिरहेको बेला पोखरा २६ कि दिलमाया पुनको भेट सरीतासँग भयो । सामान्य चिनजानपछि सरीता दीलमायाको घरमा आउजाउ गर्न थालिन् । आउजाउ बढ्न थालेपछि सरीताले दीलमायासँग लेनदेन सुरु गरिन् । पहिला ससानो रकम लैजाँदै फिर्ता गर्दै विस्वास जितेपछि सरीताले दीलमायाबाट १ करोड ७० लाख रकम फुत्काइन् । उक्त रकम बराबरको चेक सरीताले दिइन् पनि । तर जुन बैंकको चेक दिएकी थिइन्, उक्त खातमा रकमै थिएन । पटकपटक बैंक जाँदा रकम नसाटिएको र सरीता पनि सम्पर्कविहीन भएपछि दीलमायाले प्रहरीको साथ मागेकी हुन् । लेखनाथ बुढी बजारकी नीरा सुनारले पनि सरीताले १९ लाख रुपैयाँ खाएर भागेको उजुरी दिएकी छन् । लेखनाथकै देवी जिसीले पनि आफ्नो ३ लाख रुपैयाँ फँसेको बताएकी छन् ।

३ करोड रुपैयाँ भन्दा रकम तिर्न बाँकी रहेको सरीताले प्रहरीसँग स्वीकार गरेकी छन् । व्यवहार बिग्रँदै गएपछि सापटी पनि बढेको र तिर्न नसक्ने अवस्था आएपछि भागेको उनले बताएकी छन् ।

तपाईको प्रतिक्रिया