देशमा नयाँ माओवादी जन्मिने खतरा- थापा

कृष्ण न्यौपाने
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा फेरि नयाँ माओवादी जन्मिने खतरा बढेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली स्वाभिमान यात्राको अवसरमा बुधबार दमौलीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णयले नयाँ माओवादीको जन्म हुने हो कि भन्ने खतरा बढेको बताएका हुन् ।
थापाले भने, ‘१० वर्षको हिंसात्मक आन्दोलनपछि आज मुलुक शान्ति प्रक्रियामा अगाडि बढिरहेको सन्दर्भमा फेरि नयाँ माओवादी जन्मिने त होइन भन्ने आशंका बढेको छ ।’ राजनीतिक व्यवस्था परिवर्तन गराउन चाहने विद्रोहलाई प्रतिबन्ध लगाउने निर्णयले विगतको गलती दोहोरिन सक्ने थापाको भनाइ थियो । राप्रपा हिंसाको विरोध गर्ने पार्टी भएकाले चन्दले समेत हिंसाको बाटो त्याग्नुपर्ने थापाको सुझाव छ ।
‘विगतमा माओवादीलाई दमन गर्न खोज्दा १० वर्षमा प्रचण्ड नेतृत्वको माओवादी एउटा डरलाग्दो खतराको रुपमा देखा परेको थियो,’ उनले भने, ‘फेरि त्यही गल्ती दोहोरिने त होइन ? यसतर्फ सरकार सचेत हुनुपर्ने देखिएको छ ।’ विगतको १० वर्षको मार्गचित्र त्रुटिपूर्ण र राजनीतिक अभ्यास गलत रहेको दावी गर्दै थापाले आगामी दिनमा त्रुटि सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराएर विदेशी धर्म स्थापित गर्न खोजिएको आरोप समेत लगाएका छन् । सनातन हिन्दु धर्ममाथि आक्रमण गरी संगठित रुपमा विदेशी धर्म स्थापित गर्ने षड्यन्त्र भइरहेको उनले दाबी गरे । उनले भने, ‘नेपालको सनातन धर्म हिन्दु, बौद्ध र किँरात धर्ममाथि संगठित रुपले आक्रमण भइरहेको छ ।’ थापाले नेपालमा अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको आरोप लगाउँदै प्रजातन्त्र बलियो भएर जानुको सट्टा कहिँ कतै एकदलीय सर्वसत्तावाद हावी हुने हो कि भन्ने चिन्ता बढेको बताए ।
धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्य घोषणा गर्न दबाब दिनु स्वाभिमान यात्राको मुख्य उद्देश्य रहेको उनलेब ताए । थापाले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न, गरिबी र बेरोजगारी समस्या समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले यात्राको आयोजना गरिएको हो ।’ कांग्रेस र कम्युनिस्ट मिलेर हिन्दु राज्यको पहिचान समाप्त पारिएको भन्दै थापाले विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने अहिलेको माग रहेको बताए । नेपालको इतिहासमै पहिलो पटक देशलाई टुत्र्mयाउनुपर्छ भन्ने विखण्डनकारी तत्व सतहमा देखिएको भन्दै थापाले सरकार र विखण्डनकारी एउटा समूहका बीचमा सम्झौता भए पनि उक्त सम्झौताप्रति नेपाली जनता आश्वस्त हुन नसकेको विचार राखे ।
उनले भने, ‘सिके राउतले विखण्डनको एजेन्डा परित्याग गरे भने पनि सम्झौताको दस्तावेजमा सिके राउतले विखण्डनको एजेन्डा परित्याग गरेको घोषणा गरेका छैनन्, यसलाई सरकारले प्रष्ट पार्नुपर्छ ।’ नयाँ संविधान अनुसार चुनाव सम्पन्न भएर कम्युनिष्ट पार्टीको करिब दुई तिहाई बहुमतको सरकार रहे पनि आम जनताले परिवर्तनको अनुभव गर्न नपाएको थापाले बताए । गत १२ वर्षको त्रुटिपूर्ण राजनीतिक अभ्यासको कारणले गर्दा अहिले देशमा गरिबी, बेरोजगार समस्या अत्यन्तै विकराल रुपमा रहेको भन्दै थापाले लोकतन्त्रको आवरणमा अहिले लुटतन्त्र चलिरहेको आरोप लगाए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया