विद्युत बक्यौता नबुझाउने ६१६ को बिजुली काटियो

कृष्ण न्यौपाने
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत बक्यौता नबुझाउने ६ सय १६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालु आर्थिक वर्ष २०७५÷०७६ को फागुन अन्तिम सातासम्म विद्युत महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।
६० दिनभन्दा बढी समयसम्म महशुल नतिर्ने ग्राहकको लाइन दैनिक रुपमा काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनका अनुसार लाइन कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् । वितरण केन्द्रले चालु आर्थिक वर्षमा ६ सय १६ ग्राहकको लाइन काटेकोमा ५ सय ३ ग्राहकले विद्युत महसुल बक्यौता तिरेको गोशलीले जानकारी दिए । ती ग्राहकबाट १ करोड ६३ हजार ८ सय ६१ बक्यौता असुल भएको छ । बक्यौता रकम बुझाएपछि ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ ।
विद्युत महसुल संकलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको ७ दिनभित्र महसुल बुझाउने ग्राहकलाई २ प्रतिशत छुट दिइन्छ भने ८ दिनदेखि २२ औं दिनभित्र महसुल बुझाएमा बिल अनुसार तिर्नुपर्छ । मिटर रिडिङ गरेको २३ आंै दिनदेखि ३० औं दिनसम्म विद्युत महसुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्नेछ । विनियमावलीमा उल्लेख भए अनुसार मिटर रिडिङ गरेको ३१ औं दिनदेखि ४० आंै दिनसम्म विद्युत१० प्रतिशत थप दस्तुर लाग्छ भने ४१ औं दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्छ ।
विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काट्न सक्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए ।
अस्पतालले तिर्यो बक्यौता
विद्युत उपयोग गरेबापत सबैभन्दा बढी बक्यौता रहेको दमौली अस्पतालले समेत बाँकी बक्यौता तिरेको छ । केन्द्रले पटक पटक विद्युत महशुल तिर्न अस्पताललाई ताकेता गरेपछि अस्पतालले ३४ लाख ५६ हजार ४ सय ३५ रुपैयाँ तिरेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अस्पतालले पुस महिनामा १५ लाख ७२ हजार ४ सय ३५ र फागुनमा २ किस्तामा ४ लाख ३६ हजार ९ सय ३५ र १४ लाख ५७ हजार ६५ रुपैयाँ चुक्ता गरेको छ । उक्त रकम तिरेपछि अस्पतालको नाममा कुनै बाँकी बक्यौता नरहेको केन्द्रले जनाएको छ ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया