संकटमा शाक्य सरकार

पाउलिन् त पहिलाे महिला मुख्यमन्त्रीले विश्वासकाे मत !

समाधान संवाददाता २०७८ कार्तिक ४ गते ८:१७

पाेखरा ।

Advertisement

अष्टलक्ष्मी शाक्य, अब नेपालकाे इतिहासमा सधै लेखिने नाममा दर्ज भएकी छन् । इतिहास पढ्नेहरुले देशकाे पहिलाे महिला मुख्यमन्त्रीका रुपमा उनलाई पढ्नेछन् । इतिहास बन्ने शाैभाग्य पाएकी शाक्यले आज विश्वासकाे मत लिदैछिन् ।

शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी हुन्। नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएको हो।

सत्ता लम्ब्याउन प्रदेशसभाको अधिवेशन हतारोमा स्थगित गरे पनि दल विभाजन भएको मितिले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाले शाक्यलाई बाध्य बनाएको हो।

बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । एमालेका तर्फबाट एकल बहुमतका आधारमा शाक्य मुख्यमन्त्री बनेकी थिइन्। उनी मुख्यमन्त्री भएसँगै एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा १३ जना सांसद छन्।

Advertisement

प्रदेशसभामा अहिले एमालेका ४३ सांसद छन्। शाक्यलाई सरकार टिकाउन ५५ मत आवश्यक पर्छ। तर त्यो सम्भावना कम छ। विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३ र जनता समाजवादीसँग १ गरी ५९ सांसद छन्। उनीहरुले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार बनाउने घोषणा गरिसकेका छन्। तीन मत रहेको विवेकशील साझा पार्टीले पनि शाक्यलाई विश्वासको मत नदिने यसअघि नै घोषणा गरेको थियो।

यस्ताे अवस्थामा शाक्य सरकार ढल्ने प्राय निश्चित छ । आज उनले विश्वासकाे मत पाइनन् भने अर्काे इतिहास पनि बन्नेछ, अहिलेसम्मकाे नेपालकाे सबै भन्दा छाेटाे कार्यकालकाे मुख्यमन्त्री काे हाे भन्दा पनि अष्टलक्ष्मी शाक्यकै नाम आउनेछ ।

तपाईको प्रतिक्रिया