संकटमा शाक्य सरकार

राजेन्द्र पाण्डे वागमती प्रदेशकाे मुख्यमन्त्री बन्ने, शाक्यकाे विश्वासकाे मत उपर १० गते मतदान

समाधान संवाददाता २०७८ कार्तिक ४ गते १८:१४

पाेखरा ।

Advertisement

नेकपा एमाले छाेडर नेकपा एस गठनमा सकृयता पूर्वक लागेका वागमती प्रदेश सभाका सदस्य राजेन्द्र पाण्डे साे प्रदेशकाे मुख्यमन्त्री बन्ने भएका छन् ।

वागमती प्रदेश सभाकाे बैठकमा विपक्षी गठबन्धनकाे तर्फबाट पाण्डेलाई मुख्यमन्त्री प्रस्तावित गरिएकाे छ । हालकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत नपाउने निश्चित भैसकेकाे छ ।

मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासकाे मत लिँदैछिन् । तर नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसले उनलाई विश्वासकाे मत नदिने बताइसकेका छन् । मुख्यमन्त्रीकाे दल नेकपा एमालेसँग ४३ सांसद छन् । विश्वासकाे मत पाउन ५५ सांसद आवश्यक पर्छ ।

३ दलकाे गठबन्धनसँग आवश्यक बहुमत छ । त्यसैले शाक्य सरकार ढल्ने निश्चित भएकाे हाे ।

Advertisement

आज प्रदेश सभामा बाेल्दै नेकपा माओवादी केन्द्रका सांसद शालिकराम जमरकट्टेल गठबन्धनकाे तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव गरे । त्यसपछि बाेल्दै पाण्डेले मुख्यमन्त्री प्रस्ताव गरेकाेमा गठबन्धनका नेतालाई धन्यवाद समेत दिएका छन् ।

मुख्यमन्त्री शाक्यले मागेकाे विश्वासकाे मतकाे प्रस्ताव उपर भने १० गते मात्र मतदान हुने भएकाे छ । आजकाे बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासकाे मत मागिन ।

एमालेलेकाे वडा र पालिका अधिवेशनका कारण एमाले सांसदहरु गाँउ गाँउ गएकाले एमालेले आज मतदान नगर्न माग गरेकाे थियाे । सभामुख सानुकुमार श्रेष्ठले साे माग स्वीकार गर्दै प्रदेश सभाकाे अर्काे बैठक कार्तिक १० गते राखेका छन् । ९ गतेकाे पालिका अधिवेशन सकिएपछि सांसदहरु फर्कने भन्दै एमालेले ९ गते पछि मतदानकाे कार्यक्रम राख्न आग्रह गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया