नवलपुरमा प्रदेशले सुरु गर्‍यो जिल्ला अस्पताल

समाधान संवाददाता २०७५ चैत १ गते १४:५९

समाधान संवाददाता, कावासोती

गण्डकी प्रदेश सरकारले नवलपुरमा जिल्ला अस्पताल सुरु गरेको छ । नवलपरासीबाट टुक्रिएर बनेको मुलुककै कान्छो जिल्लामा जिल्लास्तरका कार्यालयहरु खोलिने क्रममा प्रदेशले अस्पताल सुरु गरेको हो ।

१२ वर्षअघिदेखि समुदायले चलाउँदै आएको मध्यबिन्दु सामुदायिक स्मृति अस्पतालको जिम्मेवारी सम्हाल्दै प्रदेश सरकारले त्यसैलाई जिल्ला अस्पताल बनाएको हो । अस्पतालको सञ्चालक समितिले जिम्मेवारी लिइदिन प्रदेशलाई ६ महिनाअघि नै आग्रह गरेको थियो । गण्डकी मन्त्रिपरिषदले मध्यबिन्दु सामुदायिक अस्पताललाई जिल्ला स्तरको बनाउने निर्णय गरी संघ सरकारसँग दरबन्दी मागेको थियो । संघबाट स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीसहित ३१ जनाको दरबन्दी स्वीकृत भएपछि प्रदेशले अस्पतालको जिम्मेवारी लिएको हो ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कावासोती नगरपालिका १६ डन्डा पुगेर उक्त अस्पताललाई जिल्ला अस्पताल घोषणा गरे । उनले भने, ‘अब यो अस्पतालको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको ।’ उनले अस्प्तालमा कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

‘अस्पताल आउँदा आज त डक्टर हुनुहुन्न, भोलि आउनोस् भन्ने स्थिति हुनेछैन,’ उनले भने, ‘अस्पतालमा जनशक्ति अभाव हुन दिने छैनौं । आज मेसिन बिग्रेको छ, भोलि आउनोस् भन्ने अवस्था आउन दिने छैनौं ।’ त्यसैगरी उनले अस्पतालमा औषधी अभाव हुन नदिने पनि जनाए । जिल्ला स्तरका अस्प्तालको जिम्मेवारी प्रदेशलाई दिने भनेर संघले निर्णय गर्न अबेर गर्दा नवलपुरमा प्रदेशले अस्प्तालको जिम्मेवारी लिन केही ढिला भएको पनि उनले सुनाए ।

Advertisement

मुख्यमन्त्री गुरुङले अस्पताल व्यवस्थापन समितिबारे प्रदेशले बनाएको मापदण्ड अनुसारै समिति बनाउने जानकारी पनि दिए । २०६३ सालमा धनधान्याञ्चल महायज्ञ आयोजना गरी स्थानीयले उक्त अस्पताल निर्माण गरेका थिए । अस्पताल निर्माण गर्दाका दाताहरुको सम्मान हुने गरी अघि बढ्ने मुख्यमन्त्रीले सुनाए ।

मुख्यमन्त्री गुरुङले नवलपुरबाट भारत प्रवेश गर्ने नाका त्रिवेणी छोटी भन्सारको स्तरोन्नतिमा गण्डकी प्रदेश सरकारको ध्यान रहेको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय सीमा नाका संघ सरकारको भएको हुँदा संघलाई भनिरहेका छौं,’ उनले भने, ‘संघबाट स्तरोन्नतिको छनक मिलेको छ ।’
पोखराबाट त्रिवेणीसम्म पुग्ने द्रुतमार्ग निर्माणको सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्न लागेको पनि मुख्यमन्त्री गुरुङले सुनाए । उनले भने, ‘त्यसपछि नवलपुरबासी आफ्नो प्रदेशको राजधानी पोखरा जाने आफ्नै बाटो हुनेछ ।’

मुख्यमन्त्री गुरुङले ५ नम्बर प्रदेशमा नगई गण्डकीमा बसेकोमा नवलपुरबासीलाई पछुतो मान्ने फुर्सद आफूले नदिने विश्वास दिलाए । ‘नवलपुरको प्रत्येक घरमा धारा हुन्छ, प्रत्येक घरमा बिजुली पुग्छ,’ उनले भने, ‘गण्डकी प्रदेशमा बसेर तपाईंलाई पछुतो हुँदै हुँदैन, नवलपुरलाई गण्डकीका ११ जिल्लामध्ये नमुना बनाउँछौं ।’

सामाजिक विकास मन्त्री नरदेवी पुनले अस्पतालको भौतिक संरचना, उपकरण र जनशक्ति व्यवस्थापनमा गण्डकी सरकारले ध्यान दिने बताइन् । उनले अप्रेसन गर्न बिरामीलाई बेहोस् बनाउने छुट्टै डक्टर छिटै व्यवस्था मिलाउने बचन दिइन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन नै गण्डकी प्रदेशको विकासको आधार भएको बताए । नवलपुरमा पनि पर्यटन विकासमा सरकारले ध्यान दिने सुनाउँदै उनले प्रदेशभरि ३ सय वटा होमस्टे निर्माण गरिने काम भइरहेको जानकारी दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ पोखरेलले अस्पताल स्थापनायताका गतिविधिबारे सुनाए । पोखरेलकै अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सांसद तिलक महत, गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र पोखरेल, प्रदेश सांसद ओमकला गौतम, विष्णुप्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया