स्थानीय भन्छन् पस्मराङमा ल्यान्डफिल साइट बन्दैन

सञ्जय रानाभाट २०७८ कार्तिक ११ गते १२:२१

पोखरा ।
पोखरा वडा नं. १६ र २० का बासिन्दाले बुधबार महानगरपालिका घेराउ गरेका छन् । पोखरा २० का वडाध्यक्ष सिम गुरुङको संयोजकमा संघष समिति बनाएर स्थानीय विरोधमा उत्रिएका हुन् । संघष समितिले महानगरकी कार्यवाहक मेयर मञ्जुदेवी गुरुङलाई पस्मराङमा ल्यान्डफिल साइट बनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।


असोज ५ गतेको महानगरको ५२ औंं कार्यपालिका बैठकले २० र १६ मा पर्र्नेे पस्मराङमा ल्यान्डफिल साइट बनाउने निर्णय गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । समितिले ल्यान्डफिल साइट सार्ने विषयमा स्थानीय र जनप्रतिनिधिलाई सल्लाह नै नगरी कार्यपालिका बैठकमा प्रतिवेदन प्रस्तुत गरेको वडाध्यक्ष गुरुङले बताए । ‘स्थानीसँग सल्लाह नै नगरी ल्यान्डफिल साइट तोकेपछि स्थानीयहरु आक्रोशित बनेकाहुन्,’ उनले भने ।

जग्गा खोज्ने समितिले कुन कुन ठाउँमा जग्गा खोज्यो र कुन जग्गा उपयुक्त भनी सिफारिस ग¥यो, त्यसबारे जानकारी नभएको गुरुङले जनाए । वडाध्यक्ष गुरुङ आफैं कार्यपालिका सदस्य हुन् ।

Advertisement


‘समितिले स्थलगत परिस्थिति, त्यहाँको खानेपानी मुहान र ल्याडफिल साइटले पार्न सक्ने वातावरणीय र सामाजिक प्रभाव आकलन नै नगरी हचुवाको भरमा सिफरिस गरेकोमा स्थानीयले विरोध गरेका हुन्,’ उनले भने । कार्यपालिका बैठकमा स्थानीयलाई चित्त बुझाएर मात्र ल्यान्डफिल साइट बनाउने भनिए पनि अहिलेसम्म कुनै छलफल नभएको गुरुङ सुनाउँछन् ।


पस्मराङमा ल्यान्डफिल साइट बनाउन सम्भव नभएकाले यो निर्णय फिर्ता लिन संघर्ष समितिले कार्यवाहक मेयर गुरुङसँग माग गरेको छ । ल्यान्डफिल साइट सर्न गतिविधि अघि बढाए चरणबद्ध रुपमा संघर्षका गर्ने चेतावनी वडाध्यक्ष गुरुङले दिए । उनले भने, ‘यसबाट हुने सक्ने परिस्थितिको जिम्मेवार स्वंय पोखरा महानगरपालिका नै हुन्छ ।’

Advertisement


अहिले पोखरा महानगरपालिका वडा नम्बर १४ को बाच्छेबुडुवामा फोहोर व्यवस्थापन हुन्छ । सोही वडामा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल सञ्चालन आउने समय भएपछि ल्यान्डफिल साइट सर्नैपर्ने बाध्यता महानगरलाई छ । विमानस्थलबाट आन्तरिक उडान सुरु हुन अब २ महिनामात्रै बाँकी छ । उडान गर्न विमानस्थल बाहिर गर्नुपर्ने काममध्ये ल्यान्डफिल साइट स्थानान्तरण मुख्य हो ।

ल्यान्डफिलका लागि उपयुक्त ठाउँ खोज्न महानगरपालिकाले गत असार २२ गते वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको थियो । समितिले शुक्रबार पेश गरेको प्रतिवेदनका आधारमा पोखरा १६ र २० मा पर्ने पस्माराङ छानिएका हो ।
महानगरले समितिलाई १ हप्ताभित्र स्थानीयसँग समन्वय गरी आयोजना कार्यान्वयनको खाका तयार पर्न भनेको छ । त्यहाँ हुन सक्ने वातावरण तथा सामाजिक प्रभाव न्यूनीकरण गरी स्थानीयको चासो सम्बोधनका विकल्पबारे जानकारी गराउन भनिए पनि स्थानीयसँग छलफल नै नभएकाले उनीहरु विरोधमा उत्रिएका हुन् ।


ल्यान्डफिल साइट स्थानन्तरण गर्न सार्वजनिक तथा सरकारी जमिन, वन क्षेत्रसमेत सोही प्रयोजनका लागि भोगाधिकार, निशुल्क वा लिजमा उपलब्ध गराउन कानुन बमोजिमका प्रक्रिया थाल्ने कार्यपालिका बैठकले निर्णय गरेको थियो । पस्मराङ क्षेत्रमा खानेपानीका ३ मुहान छन् । तीनै मुहानबाट भलाम आसपासका ५ सय घरमा खानेपानी पुगेको छ ।


पस्मराङमा घना जंगल छ । यसका स्थानीयले खेतीपातीसहित केहीले कृषि फर्म पनि चलाएका छन् । यहाँवरपर पहाड, ३ खोलाका मुहान भएका छन् भने खोचनजिकै पातलो बस्ती छ । पस्मराङ काहुँखोलाको मुहान हो । पस्मराङबाट आएको पानीले बर्सेनी काहुँखोला र आसपासका क्षेत्रमा डुबानसमेत हुने गरेको छ । आसपासका बस्तीलाई पिउने पानी पनि पस्मराङको मुहानबाटै जान्छ । ल्यान्डफिल साइड बनेपछि खोलाले फोहोर बगाएर ल्याउने स्थानीयमा डर छ ।

यहाँ फोहोर व्यवस्थापन गर्दा वडा नम्बर १६ र २० का बासिन्दालाई प्रत्यक्ष असर गर्ने स्थानीय शिवप्रकाश अधिकारी बताउँछन् । उनले जस्तोसुकै अवस्थामा पनि ल्यान्डफिल साइट बन्न नदिने चेतावनी दिए । उनले भने, ‘अहिले वडा नम्बर १४ को बस्तीमा पनि असर परेको छ । त्यस्तै असर यहाँका जनतालाई असर पर्छ ।’ यो योजना सफल भए विकासभन्दा पनि विनास हुने उनी सुनाउँछन् ।


‘विकास पनि हाम्रालागि हो । विकासभन्दा पनि बढी बिनास हुने देखेपछि विरोध गर्न बाध्य छौं । खानेपानी खोज्न हामी कहाँ जाने ?,’ उनले प्रश्न गरे । पहिला पोखरा महानगरले छाडा चौपाया ल्याएर पस्मराङमा छाड्ने गरेको थियो । त्यो बेला धेरै जनावर मरेर दुगन्ध फैलिएको र त्यसको व्यवस्थापन महानगरले नगरेको स्थानीय सुनाउँछन् । त्यही बेला जस्तै अहिले ल्यान्डफिल साइट बनेमा महानगरले व्यवस्थापन गर्न नसक्ने त्रास पनि स्थानीयमा छ ।


ल्यान्डफिल साइट बनेपछि दुर्गन्ध बढ्ने र गिद्ध, चिल लगायतका चराचुरुङी आउने हुन्छ । अधिकारी भन्छन्, ‘नेपालको परिवेशमा यहाँ फोहोर ल्याएर रिफाइन अवस्था मैले देखेको छैन । यो योजनाबाट मेरो पुस्ताले फाइदा देखेको छैन ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया