राष्ट्रिय सभा टोलीको सडक तथा कोरलानाका अनुगमन
राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हेर्ने उपसमिति टोलीले उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक तथा कोरलानाको स्थलगत अवलोकन


जोमसोम—राष्ट्रिय सभाको टोलीले बिहिबार कोरलानाकाको अनुगमन गरेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हेर्ने उपसमिति टोलीले उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक तथा कोरलानाकाको स्थलगत अवलोकन गरेको हो ।
राष्ट्रिय गौरवको पोखराको क्षेत्रिय विमानस्थलको अनुगमन गरी हवाई सेवा मार्फत हिमाली जिल्ला मुस्ताङ आएको टोलीले कोरलानाका र जोमसोम—कोरला सडक दुबैको जानकारी लिएको हो ।राष्ट्रिय सभा सदस्य एवं नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ ,उपसमिति सभापती अनिता देवकोटा ,राष्ट्रिय सभा सदस्य ईन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोली मुस्ताङ आईपुगेका हो । उनीहरुले सडक र नाका अवलोकन गरे । यसअघि जोमसोम स्थित कालिगण्डकी करिडोर अन्तर्गत बेनी—जोमसोम—कोरला सडकको कार्यालयमा पुगेर पछिल्लो सडकको अवस्थाका बारेमा जानकारी लिएका छन् ।राष्ट्रिय सभाको टोलीले बिहिबारनै जोमसोम —कोरला सडक र कोरलानाकाको अवलोकन गरी जोमसोम फर्किएको छ । टोली शुक्रबार बिहान प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ पुगेर फर्किएको छ ।राष्ट्रिय गौरवको आयोजना हेर्ने उपसमितिको टोलीले उपल्लो मुस्ताङका स्थानीयसंग सडक र नाकाको पछिल्लो अवस्थाको बारेमा जानकारी लिए
नाका अवलोकन गरी फर्किएको टोलीले मुस्ताङका स्थानीय पत्रकारहरुलाई भ्रमणको बारेमा जानकारी गराए । पत्रकार भेटघाटका क्रममा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रैष्ठले आफुहरुको अनुमगन भ्रमण उपलब्धिमुलक भएको जानकारी दिए ।राष्ट्रिय सभा सदस्य श्रेष्ठले जोमसोम—कोरला सडकसम्म सवारी साधन पुग्नसक्ने भएपनि सो सडकको स्तरोन्नतिलाई तिब्रता दिनुपर्नेमा जोड दिए ।उनले जोमसोम—कोरला सडकको छैटौ प्याकेजको २५ किमी सडक लामो समयदेखि ठेकेदारका कारण अलपत्र परेको रहेछ ,यस बिषयलाई के गर्न सकिन्छ भन्ने बिषयमा माथि कुरा उठाउने बताए ।उनले राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकको अवस्थामाको बारेमा संम्पूर्ण रिपोर्ट करिडोरसंग बिफ्रिङ गरेर जानकारी लिएको जनाए ।

चिन पक्षले उत्तरी नाका संञ्चालन गर्न आवश्यक तैयारी पुरा गरिसकेको र नेपाल पक्षबाट पनि आवश्यक तैयारी गर्नुपर्ने महशुस भएको श्रेष्ठ उल्लेख गरे ।‘हाम्रो पक्षबाट तयारी भएको छैन, तत्कालै तयारी गर्नुपर्ने देखिन्छ,राष्ट्रिय सभा सदस्य श्रेष्ठले भने,‘चिनले नाका छेउ सुरक्षाकर्मी परिचालन गरेको छ ,हाम्रो पक्षबाट १३ किमी यता मात्र सुरक्षाकर्मी छन् ,त्यो उपयुक्त छैन ।’ उनले यसबारे सरकारसंग आवश्यक छलफल गर्ने र सरकारले नाका संञ्चालनको प्रक्रियालाई अघि बढाउने बिश्वाश ब्यक्त गरे ।सरकारले छिट्टै नाका संञ्चालनकाका निम्ति आवश्यक पूर्वाधार निर्माण गर्न जरुरी रहेको उनले बताए । राष्ट्रिय सभा सदस्य श्रेष्ठले नेपाली सुरक्षा पोष्टलाई नाका छेउ माथि लैजान जरुरी रहेको र ब्यक्तिगत रुपमै सरकार,गृह ,परराष्ट्र मन्त्रालयमा कुरा राख्ने जानकारी दिए ।उनले विकासको सन्दर्भमा आफुहरुको सम्पूर्ण ध्यान केन्द्रित रहेको सो अवसरमा बताए ।
राष्ट्रिय सभा सदस्य एवं माओवादी नेता श्रेष्ठले नेपाली जनताले राजनितिक पार्टीबाट जे अपेक्षा गरेका थिए त्यो पुरा हुन नसकेको बताए ।संविधान सभाबाट संविधान जारी गरिसकेपछि सविधान कार्यान्वयन प्रक्रियामा जनताले दिएको जनादेश ,जन अपेक्षा र राष्ट्रको अपेक्षा थियो ,त्यो तीन वटै कोणबाट हेर्दा सन्तुष्ट हुने अवस्था नरहेको श्रेष्ठले उल्लेख गरे । पुर्व ओली सरकारले ऐतिहासिक उपलब्धिहरुलाई अपहरण गर्ने गरी प्रतिगमनको कदम चालियो ,त्यो सविधान र लोकतन्त्रको लागि दुरभाग्यपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रतिगमनलाई असफल पार्न र सविधान र लोकतन्त्रलाई ट्याकमा ल्याउने काम भएको र राष्ट्रिय हितका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले अहिले सरकारको ध्यान सबै नेपालीलाई कोभिड भ्याक्सिन दिने भन्ने रहेको र सरकारका तर्फबाट सकारात्मक कामहरु सुरु भईरहेको उल्लेख गरे ।
राष्ट्रिय सभा सदस्य श्रेष्ठ पाँच दलिय गठबन्धन चुनाबका लागि नभई प्रतिगमनको अवशेष अन्त्य नभएसम्म कायम रहने बताए ।
उनले प्रतिपक्षकै कारण संसद चल्न नसकेको र त्यो नेपाली जनता र लोकतन्त्रका लागि अत्यन्तै दुखद स्थिती रहेको टिप्पणी गरे ।यसलाई नेपालका राजनितिक पार्टीले गम्भिर भएर आत्मसमिक्षा गर्नुपर्ने बेला आएको उनको भनाई छ । हजारौ जनताको त्याग र बलिदानले अहिलेको परिवर्तन सम्भव भएको बताउदै राष्ट्रिय सभा सदस्य श्रेष्ठले त्यो परिवर्तनको माध्यमबाट जनताको जिवन स्तर माथि उठाउन, सामाजिक सन्देश र समृद्धमुलक कसरी बनाउने भन्ने दिशातर्फ आत्मसमिक्षा गर्दै नयाँ संकल्प गर्नुपर्ने बेला आएको बताए ।
‘ अहिलेको गठबन्धन चुनावको लागि भनेर गरिएको होईन,प्रतिगमनक बिरुद्ध हो,राष्ट्रिय सभा सदस्य श्रेष्ठले भने,‘सविधान र लोकतन्त्रका लागि हामी एक मत छौं,सम्भव भएमा चुनावी गठबन्धन पनि हुन सक्नेछ ।’उनले बर्तमान सरकारलेनै पूर्ण अवधि काम गरेर स्वच्छ र निश्पक्ष निर्वाचन गराउने बताए । नेपालमा प्रतिगनमको कदम असफल भएपनि अझै प्रतिगमनको अन्त्य भैईनसकेको उनले उल्लेख गरे ।उनले ओलीको कार्यशैली र प्रतिगामी कदमका कारण पार्टीमा बिभाजन आएको बताए ।उनले ओली प्रबृद्धि नसच्चिए सम्म एमालेसंग पार्टी एकता असम्भव रहेको बताए ।
राष्ट्रिय सभामा नेपाली काग्रेसकी मुख्य सचेचतक एवं उपसमिति सभापती अनिता देवकोटाले राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गत राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गर्ने शिलशिलामा मुस्ताङ आएको जानकारी दिईन् । उनले जामसोम—कोरला सडक स्तरोन्नति सन्तोषजनक भएपनि केही समस्याहरु रहेको बताईन् ।जोमसोम—कोरला सडकको २५ किमी सडक ठेकेदार कम्पनीका कारण अलपत्र परेको र त्यसलाई कडाईका साथ अघि बढाउने जनाईन् ।
उनले नेपालकै उपहारको रुपमा रहेको सुन्दर मुस्ताङ पर्यटकीय र धार्मिक स्थलको रुपमा नेपालकै धरोहर भएको उल्लेख गरिन् । यसको उन्नति र प्रगतीका लागि सबै नेपाली र संसदमा काम गर्नेहरुको दायित्व रहेको बताईन् ।उनले यसअघि कोभिडका कारण अध्ययन अलोकन भ्रमण गर्नु पर्नेमा ढिलै भएपनि अनुगमनकार्य सफल भएको बताईन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया